• Wednesday, April 30, 2025

एक बोरा मलका लागि दिनभर लाममा

Fertilizerधीरेन्द्रप्रसाद साह / राजविराज, मङ्सिर २५ गते । एक बोरा रासायनिक मलका लागि दिनभर लाइनमा बसेका किसानलाई दिनभर लाइनमा बसेर पनि मल पाउने निश्चित छैन । घरको सारा काम छोडेर भोकभोकै लाइनमा बस्ने गरेको उनीहरूलाई मल पाउन निकै सास्ती भोग्नु परेको छ ।

सप्तरीका किसान यतिबेला गहुँ, दलहन, तेलहन बालीमा राख्न रासायनिक मल डीएपी र युरीयाका लागि एका बिहानैदेखि लाइनमा बस्दा बेलुकासम्ममा मल पाउने निश्चित हुँदैन । बिहान १० बजेदेखि मात्र मल वितरण गरिने डिलरकहाँ चार घण्टा अगाडि बिहान ६ बजेदेखि नै चिसोमा लाइनमा आएर बस्नुभएका भारदहका किसान रामसेवक यादवले जानकारी दिनुभयो । जिल्ला सहकारी सङ्घ डिलरमा लाइनमा बसेको उहाँले भन्नुभयो, तीन दिनदेखि मल लिन आउँछौँ, गेटसम्म नपुग्दै मल सकिन्छ वा बन्द नै हुन्छ । खाली हात फर्किन्छु । वितरणको चार घण्टा अगावै सयौं किसान मलका लागि लाइनमा बसिसकेका थिए भने आउने क्रम रोकिएको थिएन ।

कृषि सामग्री कम्पनी लिमिटेड राजविराजले समयमा रासायनिक मल आयात गर्न पहल नगरेको कारण डीएपी मलको अभावले यसरी किसान मारमा परेका छन् । खेतमा गहुँ, तेलहन, दलहनबाली छर्ने चटारोमा रहेका सप्तरीका किसानका लागि खेत तयार गर्दा रासायनिक डीएपी मल अति नै आवश्यक हुने गरेको छ । कात्तिक महिनादेखि धान काटिएपछि खेतमा गहुँ, तेलहन, दलहन र तरकारी लगाउँदै आएका किसानले समयमा मल नपाउँदा बिचौलियामार्फत महँगो दरमा मल खरिद गर्न बाध्य छन् । प्रति ५० किलो बोराको मूल्य रु. दुई हजार १८८ पर्ने डीएपी मल बजारमा रु. तीन हजारमा किन्नपर्ने बाध्यता भएको छ ।

कात्तिकमा आवश्यक पर्ने मलको लागि एक महिना अगाडि नै मल आयात गर्न पहल गर्नुपर्ने हुँदा हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडले पहल गरेको छैन । तेस्रो मुलुक चीनबाट भारतको कोलकत्ता बन्दरगाह भएर रेल मार्गमा वीरगञ्जको सुख्खा बन्दरगाहसम्म आयात भएर आपूर्ति भइरहेको रासायनिक डीएपी मल लागि जिल्लास्थित आपूर्ति समितिको बैठकले निर्णय गरी माग गर्नुपर्ने हुन्छ । आपूर्ति समितिका सदस्य सचिव जिल्ला कृषि विकास कार्यालयले समयमा बैठक पनि नबोलाएको कारण समयमा मल आयात नभएको हो ।

रासायनिक मल हाहाकार भएपछि दुई साताअघि मात्र जिल्ला आपूर्ति समितिको बैठक बसेको छ । बैठकले मल बीउ सहज, सरल र उचित मूल्यमा वितरण गर्ने निर्णय गरेको भए पनि जिल्लामा मलको भण्डारण नै छैन । समितिका संयोजक प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आपूर्ति समितिको बैठक बोलाउने काम सदस्य सचिवको भएको हुँदा उहाँले बोलाउनुपर्ने भन्दै उहाँले भन्नुभयो, आफू जति बेला बैठकमा बस्न सक्छु तर समयमा बैठक बोलाइँदै बोलाइएन ।

गहुँबालीका लागि मात्र दुई हजार मेट्रिक टन रासायनिक डीएपी मल आवश्यक हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेड राजविराजका निमित्त प्रमुख सोनेलाल मुरमुरले जानकारी दिनुभयो । आवश्यकको एक चौथाई पनि आयात नहुँदा वितरणमा निकै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

जिल्लामा १५० वटा डिलरमार्फत मल बिक्री हुने गरेको छ तर कृषि सामग्रीले डिलरहरूलाई आवश्यक मागअनुसार मल नदिँदा किसान डिलरकहाँ धाउँदाधाउँदै हैरान हुने गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter