• Sunday, May 25, 2025

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?; निर्वाचन आचारसंहिता मंसिर २७ गतेदेखि हट्योः आयोग

Vote-counting-Kathmanduकाठमाडौं, पुस २। समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ ।

दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले कांग्रेस भन्दा ४५ हजार १०५ मत बढी पाएको छ । माओवादीले १३ लाख ३ हजार ७२१ मत पाएको छ ।

राजपाले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन् ।

विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ र राप्रपाले १ लाख ९६ हजार ७८२ मत पाएका छन् । राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन् ।

यो जिल्ला निर्वाचन कार्यालयहरुले इन्ट्री गरेको मतमा आयोग केन्द्रीय कार्यालयको टिमले भेरिफाइ गरिरहेको छ । जिल्लाबाट अंक र अक्षरमा मत परीणाम मगाएर इन्ट्री गर्ने काम भइरहेको र यसको एक दुई दिनमा सकिने एक कर्मचारीले बताए ।

यो सकिएपछि मात्र आयोगले औपचारिक रुपमा कुन दलले कति मत पायो भनेर जानकारी गराउनेछ । एक अधिकारीले भने, ‘भेरिफाइ गर्दा यो मत कायम रहन पनि सक्छ । केही तलमाथि हुनपनि सक्छ । तर, धेरै फरक नपर्ला ।’

कुन दललाई कति सिट ?

प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ । कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् ।

यदि यही मतलाई अन्तिम अन्तिम रुप दिइयो भने समानुपातिकमा पाँच दलले मात्र सिट पाउनेछन् । एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट पाउनेछ ।

माओवादी केन्द्रले १७ सिट पाउने देखिन्छ भने राजपा र फोरमले समान ६/६ सिट पाउनेछन् ।

नयाँ दल विवेकशील साझा समानुपातिकतर्फ छैटौं स्थानमा रहे पनि थ्रेस होल्ड पार गर्न सकेन । दोस्रो संविधानसभामा समानुपातिकतर्फ २४ सिट पाएको राप्रपा (तत्कालीन राप्रपा नेपाल) पनि थ्रेस होल्ड पार गर्न असफल रहृयो ।

पशुपति शम्शेर राणाको राप्रपा प्रजातान्त्रिक, डा. बाबुराम भट्टराईको नयाँ शक्ति र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा र नारायणमान विजुक्छे नेतृत्वको नेमकिपा पनि थ्रेस होल्डका कारण समानुपातिकमा सिट पाउन असफल रहे ।

प्रतिनिधिसभामा ठूला ५ दल, एक सिटे पाँच सांसद

१६५ सदस्यीय प्रतिनिधिसभामा पाँच दल मात्र राष्ट्रिय दल बन्न सफल भएका छन् ।

एमाले सबैभन्दा ठूलो दल बनेको छ । प्रत्यक्षतर्फ ८० (दुई स्वतन्त्रसहित) सिट जितेको एमालेले समानुपातिकमा ४१ सिट पाउँदा कुल १२१ सिटसहित पहिलो दल बन्नेछ ।

प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेस ६३ सिटसहित दोस्रो र प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी ५३ सिटसहित तेस्रो दल बन्नेछ । तर, दुबै पहिलो दल एमाले भन्दा निकै सानो छन् । कांग्रेस र माओवादी मिल्दा पनि एमाले बराबर हुँदैन ।

पहिलो संविधानसभामा ठीक विपरित थियो । एमाले र कांग्रेस मिल्दा पनि माओवादी ठूलो दल थियो ।

प्रतिनिधिसभामा दुई क्षेत्रीय दल आएका छन् । राजपा चौथो दल बनेको छ भने फोरम पाँचौं दल ।

प्रत्यक्षतर्फ ११ सिट जितेको राजपा र १० सिट जितेको फोरमले समानुपातिकमा समान ६/६ सिट पाएका छन् । समग्रमा मधेस केन्द्रीत दुई दलको ३३ सिट हुनेछ ।

अन्य दल भने एक सिटे भएका छन् । राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र नेमकिपाले प्रत्यक्षतर्फ एक एक सिट जितेका छन् । एक स्वतन्त्र सांसद पनि छन् ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेका चार दल प्रतिनिधिसभामा दलकै रुपमा रहनेछन् । तर, राष्ट्रिय दलको मान्यता नपाएका कारण उनीहरुले संसदीय दलको कार्यालय लगायतका सेवा सुविधा भने पाउने छैनन् ।

निर्वाचन आचारसंहिता मंसिर २७ गतेदेखि हट्योः आयोग

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता मंसिर २७ गतेदेखि नै हटाएको जानकारी गराएको छ ।

आयोगको मंसिर २६ गतेको बैठकले निर्वाचन आचारसंहिता लागू नरहने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन आचारसंहिताअनुसार आयोगले तोकेका निकायका लागि तोकिएको अवधिभर संहिता लागू हुनेछ ।

नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय तह, स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा तत्तत् निकायमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि आयोगले मंसिर १० र २१ गते हुने निर्वाचनका लागि भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो । उम्मेदवारको हकमा भने मनोनयन दर्ता गराएको मितिदेखि निर्वाचन आचारसंहिता लागू भएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter