अध्यादेश अड्काउने काम नगरौं – नेपाल सरकार

government logoकाठमाडौं, पुस ४ गते । जनमतको कदर गर्दै संविधानको पूर्ण कार्यान्वयन गर्न राष्ट्रपतिसमक्ष पेश गरिएको राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश नअड्काउन नेपाल सरकारले आग्रह गरेको छ ।

उक्त आग्रह नेपाल सरकारका प्रबत्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनका अवसरमा गर्नुभएको हो ।

आम जनमतको कदर गर्दै वर्तमान सरकार लोकतान्त्रिक पद्धति र मूल्यमान्यता अनुरुप सत्ता हस्तान्तरण गर्न आतुर रहेको भन्दै मन्त्री बस्नेतले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी बन्ने संसदलाई पूर्णता दिन उक्त अध्यादेश अतिआवश्यक भएकाले सम्बद्ध सबै राजनीतिक दलहरुले त्यसका लागि उचित पहल गर्न समेत आग्रह गर्नुभयो ।

देशको शासन व्यवस्था सञ्चालनका तीन अंगहरू व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकापछि चौथो अंगको रूपमा स्थापित पत्रकारिता क्षेत्र हो र यस क्षेत्रको भूमिकाले पनि शासन ब्यवस्थालाई स्वच्छ र मर्यादित बनाउन सदैव अतुलनीय भूमिका खेलेको छ भन्दै मन्त्री बस्नेतले हाम्रो देशको वर्तमान राजनीतिक अवस्थाको यथार्थ र वस्तुनिष्ठ विवेचना गरी आमसञ्चारमाध्यमबाट सत्य र तथ्य सूचना सम्प्रेषण होस् भन्ने नेपाल सरकारको धारणा रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले जेठ २३ गते मुख्यतः दुईवटा कार्यभारसहित कार्यपालिकाको जिम्मेवारी लिएको थियो, नेपालको संविधान ०७२ जारी भइसकेपछि बाँकी रहेको स्थानीय तहको दोस्रो र तेस्रो चरणको निर्वाचन सम्पन्न गराउनेसँगै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउने थियो, जुन पूरा भएको छ ।’

लोकतन्त्रको आत्माको रूपमा रहेको यस्ता आवधिक निर्वाचन सम्पन्न गराउनुलाई नेपाल र नेपालीका उपलब्धिको रूपमा यहाँ उल्लेख गर्न चाहन्छु भन्दै मन्त्री बस्नेतले अगाडि भन्नुभयो, ‘खासगरी प्रतिनिधि र प्रदेशसभाको दुई चरणका निर्वाचनलाई लिएर केही राजनीतिक दलका नेताहरूले निर्वाचन हुने अघिल्लो दिनसम्म पनि चुनावप्रति संशय र षड्यन्त्रसहितका अभिव्यक्ति दिनुभएको प्रसंग आमसञ्चारमाध्यममा सम्प्रेषित भएको हामी सबैलाई विदितै छ ।’

‘विविधखाले आरोह र अवरोह, सीमित समयावधि र साधन स्रोत, भौगोलिक कठिनाइ, मौसमी प्रतिकुलता, अनेकन आशंका र संशयका बीच समग्रमा सफलताका साथ सम्पन्न चुनावको नतिजा सार्वजनिक हुने क्रम सँगसँगै सतह र आमसञ्चारमाध्यममा देखिएका केही राजनीतिक कोणबाट असान्दर्भिक अभिव्यक्ति, अनर्गल र मनोगत दुष्प्रचारको थालनी सरकारको विरुद्धमा भएकोप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’ मन्त्री बस्नेतले उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले जोड दिएर भन्नुभयो, ‘लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना गर्ने मूल उद्देश्यका साथ स्थापित र संघर्षशील राजनीतिक पार्टी नेपाली कांगे्रसको नेतृत्वमा वर्तमान सरकार छ । मुलुकमा पञ्चायती बर्बरताविरुद्ध लडेर संसदीय परम्पराको लोकतान्त्रिक शासन ब्यवस्थाको सूत्राधार कांग्रेसले नै गरेको हो । राणा शासन, पञ्चायती शासन र शाही शासनविरुद्ध संघर्ष गर्दै नागरिकको अधिकार र लोकतन्त्र स्थापना गरेको सो पार्टीको इतिहासको यथार्थ विवेचना पनि यहाँहरूबाट हुने छ भन्ने मैले विश्वास राखेको छु ।’

‘बहुदलीय शासन प्रणाली र विभिन्न ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गर्दै आइरहनुभएका तथा लोकतन्त्रको बाटो हुँदै देशलाई लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपु¥याउन अहम भूमिका गर्दै रहनु भएका नेपाली कांग्रेसका सभापति तथा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूबाट संसदीय पद्धति र परम्परा एवं न्यायिक निरूपणको परिधिभन्दा पृथक कार्यसम्पादन हुन्छ भन्ने भ्रम पाल्नु र त्यसको अतिरञ्जनापूर्ण व्याख्या र मनोगत विश्लेषण राजनीतिक नेतृत्व तहबाट हुनुलाई विडम्बना भएको मन्त्री बस्नेतले बताउनुभयो ।

‘नेपालको सविधान २०७२ जारी भएपश्चात देशको कार्यकारी प्रमुखले विधिको शासन र संवैधानिक ब्यवस्थाभन्दा बाहिर गएर कुनै कार्यसम्पादन गर्नै सक्दैन । संघ र प्रदेशको निर्वाचनको नतिजापश्चात सम्माननीय प्रधानमन्त्रीले विधिसम्मत् ढंगले सत्ता हस्तान्तरणमा पटक पटक देखाउनुभएको आतुरताका अभिव्यक्तिहरू आमसञ्चारमाध्यममा आइनै सकेका छन् ’ उहाँले भन्नुभयो ।

यस्तो अवस्था बीच पनि अनेकन दुराशय र आशंकित अभिव्यक्ति आउनु सबैका लागि दुःखलाग्दो विषय हो भन्दै उहाँले अगाडि भन्नुभयो ‘नवीन अवस्थाको संघ र प्रदेशको संवैधानिक संरचनामा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाले पूर्णाकार लिएपछि मात्र मुलुकले कल्पेका समावेशी चरित्रका तीन तह (स्थानीय, प्रादेशिक र संघीय) सरकारहरू निर्माण हुने प्रावधान रहेको स्पष्ट छ ।’

प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएर दलहरूले प्राप्त गरेको मतसंख्या र सीट सार्वजनिक भए पनि संविधानको धारा ८४ र ८६ अनुसार निर्वाचन आयोगबाट निर्वाचनसम्बन्धी ऐन र कानुनअनुसार समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको सीट बाँडफाँट गरी ब्यक्तिसमेत एकिन भएपछि संसदीय परम्पराअनुरूप सरकार गठनको प्रक्रिया थालनी हुने उहाँले त्यस अवसरमा स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘नयाँ सरकार संघीय कानुनले निर्धारण गरेको ढाँचामा बनाउनुपर्ने हुन्छ । अहिले सो कानुन जारी भइनसकेको अवस्था एकातिर छ भने अर्कोतिर प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन ऐन पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन ।’

संविधानतः हाम्रो देशको निर्वाचन मिश्रित निर्वाचन प्रणाली हो भन्दै प्रत्यक्षतर्फको नतिजालाई मात्र हेरेर अवधारणा बनाउनु एकांकी हुने र दलहरूले प्राप्त गर्ने सीट संख्यासमेत एकिन नभइसकेको वर्तमान अवस्थामा कस्तो सरकार र कसको सरकार बन्दै छ ? भन्ने अनुमानमा कुनै पनि किसिमको अतिरञ्जित टिप्पणी गर्नु सान्दर्भिक नहुने उहाँले बताउनुभयो ।

‘लोकतान्त्रिक पद्धतिमा सत्ता हस्तान्तरण शालिन र सभ्य–सुकर्म हो । हामीलाई थाहा छ, सत्ता र सरकार कहिल्यै कसैको पनि चिरस्थायी हुँदैन । वर्तमान सरकार कानुनी जटिलता निम्तियाएर सत्ता लम्ब्याउन चाहँदैन । सरकार सहज सत्ता हस्तान्तरणका लागि वैधानिक उपायको खोजी गरिरहेको छ’ उहाँले भन्नुभयो ।

लोकतन्त्रमा बहुमतले शासन पद्धतिलाई सञ्चालन गर्दछ र शासन पद्धतिमा महत्वपूर्ण अंगको रूपमा रहेको ब्यवस्थापिका संसदको उपल्लो सदन राष्ट्रिय सभाको निर्वाचन किन हुन सकेको छैन ? भन्ने सन्दर्भमा हामी सबैले आत्ममन्थन गर्नुपर्ने गम्भीर अवस्था आएको पनि उहाँले बताउनुभयो ।

सरकारले राष्ट्रिय सभा निर्वाचनको ऐन मस्यौदा गरी विधेयकका रूपमा ब्यवस्थापिका संसद्समक्ष पेस ग¥यो, तर राजनीतिक दलहरू सहमत हुन नसक्दा पारित हुन सकेन भन्दै यसलाई अत्यावश्यक ऐन मानी सरकारले अध्यादेशबाट जारी गराएर भए पनि निर्धारित समयमै निर्वाचन सम्पन्न गराउने विकल्प रोजेको उहाँले स्मरण गर्नुभयो ।

सरकारद्वारा प्रस्तुत अध्यादेश राष्ट्रपतिसमक्ष सरकारले दुई महिनाअघि पेस गरेकोमा राष्ट्रपति जस्तो सम्मानित संस्थालाई दलीय अनुकूलतामा प्रयोग गर्ने दुस्प्रयासको आभाष हुन थालेको भन्दै मन्त्री बस्नेतले उक्त अध्यादेश अहिलेसम्म राष्ट्रपति कार्यालयमा रोकिएकोले यो स्थिति हामी सबैका लागि अत्यन्तै चिन्ताको विषय भएको समेत बताउनुभयो ।

राष्ट्रपतिबाट सो अध्यादेश स्वीकृत गरी छिटोछरितो कार्यसम्पादनसहित सत्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण हुनेछ भन्ने विश्वास नेपाल सरकारले लिएको त्यस अवसरमा उहाँले स्पष्ट पार्नुभयो ।

अर्काे प्रसङ्गमा मन्त्री बस्नेतले भन्नुभयो, ‘प्रत्यक्षतर्फको नतिजाले केही राजनीतिक दलमा अहंकाररुपी संस्कार विकसित भएको आभास हुन थालेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूबाट कानुनी प्रक्रियाअनुरुपको निर्वाचनसम्बन्धी अभिव्यक्ति आउँदासमेत केही राजनीतिक दलका नेताहरुको आयोगप्रति लान्छनापूर्ण अभिव्यक्ति आउनु अशोभनीय काम हो ।’

जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुबाट प्रत्यक्षतर्फको परिणाम घोषणा भएर विजयी भएको प्रमाणपत्र लिना साथ सिधै कार्यपालिका कब्जा गर्ने, प्रधानमन्त्री र मन्त्री पद सम्हालिहाल्ने त पक्कै होइन होला नि ? भन्दै सरकारी प्रवत्ताले भन्नुभयो, ‘निर्वाचन आयोगले कानुनअनुसारका सबै निर्वाचन सम्पन्न गरेको जानकारी दिन बाँकी नै छ । राजनीतिक दलहरू आफैंले संसदीय दलको नेता चयनदेखि अन्य कार्यभार पूरा गरिसकेको छैन ।’

अर्काे एक प्रसङ्गमा उहाँले भन्नुभयो, ‘हाम्रो देशमा संविधानअनुसार विगतमा संसद्मा तेस्रो स्थानमा रहेको दलको नेतृत्वमा पटक पटक सरकार गठन भएको इतिहास पनि सबैको मानसपटलमा ताजै छ । विगतमा कानूनी प्रक्रियाहरु पुरा नगरिएका कारण प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि ६÷६ महिनासम्म नयाँ सरकार गठन हुन नसकेको नमिठो अनुभव हामीले बेहोरेका छौं ।’

पत्रकारहरुले सोधेको थप प्रश्नको उत्तर दिनुहुँदै नेपाल सरकारका प्रवत्ता समेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री बस्नेतले नियुक्ति, सरुवा, बढुवालगायतका सरकारी काम कारवाहीहरु पनि नियमित रुपमा अगाडि बढ्ने बताउनुभयो ।

नयाँ संविधानअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा तीनै तहका (स्थानीय, प्रदेश र प्रतिनिधिसभा) निर्वाचन सुसम्पन्न गराउन सहयोग पु¥याएकोमा निर्वाचन आयोग, सुरक्षा निकायहरू, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदाय, राष्ट्रिय÷अन्तर्राष्ट्रिय पर्यवेक्षक, पत्रकारहरू, सम्बद्ध कर्मचारीहरु र आममतदाताहरुलाई नेपाल सरकारको तर्फबाट उहाँले धन्यवाद समेत मन्त्री बस्नेतले उक्त अवसरमा दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter