• Friday, May 02, 2025

शीतलहर पीडितलाई सहयोग गर्न सरकारलाई आग्रह; चिसोले जनजीवन प्रभावित, भरतपुर–काठमाडौँ र पोखरा उडान रद्ध

cold-weatherकाठमाडौँ, पुस २३ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले तराईका शीतलहर पीडितलाई सहयोग गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘पूर्ण खोप सुनिश्चित हाम्रो महानगरपालिका’ घोषणासभामा उपराष्ट्रपति पुनले शीतलहरका कारण तराईका नागरिकले कष्टपूर्ण जीवन भोग्नुपरेकाले तत्काल स्वास्थ्यकर्मीको टोली पठाएर सहयोग गर्नका लागि आग्रह गर्दै नागरिकलाई गुणस्तरीय सेवा दिनु सरकारको दायित्व रहेको बताउनुभयो ।

सबै नागरिकले सस्तो र सरल तरिकाबाट सेवा प्राप्त गर्न पाउने अधिकार संविधानमा नै उल्लेख गरिए पनि व्यवहारमा लागू हुन नसक्नु दुःखको विषय रहेको बताउँदै उहाँले भन्नुभयो, “नेपालका अधिकांश जनता चेतनाका अभावले रोगबाट ग्रसित हुनुपरेको हुँदा गाउँ गाउँसम्म पुगेर उनीहरुलाई चेतना दिलाउनु पनि आवश्यकताको विषय हो ।”

स्वास्थ्य तथा जनसंख्यामन्त्री दीपक बोहराले विसं २०१७ मा नेपाललाई पूर्ण खोप सुनिश्चित गर्ने सरकारको लक्ष्य पूरा नभए पनि पछिल्लो समय बाल मृत्युदरमा भने कमी आएको जानकारी दिँदै खोप सेवा प्राप्त गर्नु सबै बालबालिकाको अधिकार हो भने उक्त सेवा दिनु स्वास्थ्यकर्मीको मुख्य काम हो भन्नुभयो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले प्रदान गर्दै आएको ११ रोगको १६ खोप लिनका लागि नागरिक आफैँ पनि जागरुक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा कामपाका ३२ वटै वडाका ५०० स्वास्थ्य स्वयंसेविका र १५० स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । हालसम्म नेपालका ७८ प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप प्राप्त गर्नसकेका छन् ।

चिसोले जनजीवन प्रभावित, भरतपुर–काठमाडौँ र पोखरा उडान रद्ध

एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् ।

शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । अहिले १२ बजेसम्म कुनै पनि उडान हुन सकेको छैन ।

भरतपुर विमानस्थलका अनुसार चितवनमा शुक्रबार तापक्रम ९ डिग्री थियो । शनिबार ७ डिग्रीमा झरेको तापक्रम आज बिहानसमेत ७ डिग्री यथावत् थियो । आज १० बजेको तामक्रम भने १० डिग्री पुगेको विमानस्थलले जनाएको छ ।

गौतमका अनुसार कम्तीमा दुई हजार ५०० मिटर दूरी (तेस्रोे) भिजिवलिटी तथा ठाडो ४५० मिटर भएमा मात्रै उडान गर्न मिल्छ तर १० बजे जम्मा एक हजार ५०० मिटर तेर्सो े र ३०० मिटर ठाडो मात्रै भिजिवलिटी रहेको गौतमले बताउनुभयो । शनिबारभन्दा आज अलि राम्रो भएकाले उडान हुने आशा रहेको गौतमको भनाइ छ ।

भरतपुर विमानस्थलबाट बुद्ध, यति र सिम्रिकले उडान भर्दै आएको छ । बुद्धले काठमाडौँ, भरतपुर छदेखि सात वटासम्म उडान भर्छ । केही महिनादेखि बुद्धले पोखरामा समेत दुई वटा उडान भर्दै आएको छ ।

सिम्रिकको चितवन–काठमाडौँ एउटा उडान छ भने यतिको चार वटा उडान हुन्छ । भरतपुर विमानस्थलमा दैनिक ५०० यात्रु हवाई यात्रामा जाने गरेको विमानस्थलले जनाएको छ ।

बुद्धको आज १२ बजेसम्म पाँच वटा उडान भर्नुपर्ने थियो तर अहिलेसम्म एउटा पनि उडान भएको छैन । हिजैका यात्रु उडाउनुपर्ने अवस्था छ ।

“अब दिउँसो विमान चल्छ कि भन्ने आश लागेको छ”, बुद्ध एयर चितवनका प्रबन्धक भक्तबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार हावा चलेर घाम लागेमा उडान हुन्छ ।

शनिबारदेखि चितवनमा घामसमेत लागेको छैन । वातावरण धुम्म छ । चितवनबाट काठमाडाँै जाने तयारीमा रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलेसमेत उडान नहुँदा शनिबारको हवाई यात्रा स्थगित गर्नुभएको उहाँका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

चिसोले मानिसको आवतजावत तथा हिँडडुलमा समेत कमी देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter