राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र; काँग्रेससहित नौ दल दर्ता

Election Commissionकाठमाडौँ, पुस २५ गते । निर्वाचन आयोगले २०७४ माघ २४ गते बुधबार सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको आन्तरिक तयारीलाई तीव्र बनाएको छ । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले गोरखापत्रसँग सोमबार कुरा गर्नुहुँदै निर्वाचनका लागि नियमावली, निर्देशिका निर्माण गर्ने, जनशक्तिको व्यवस्थापनलगायत कार्यको तयारीमा तदारुकताका साथ आयोग जुटेको छ भन्नुभयो । उहाँले राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम पनि आयोगले एक÷दुई दिनभित्रै सार्वजनिक गर्ने बताउनुभयो ।

सातवटै प्रदेशमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको नियुक्ति गर्नुपर्ने भएकाले आयोगले न्याय परिषद्सँगको परामर्शमा एक जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्तिको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

नेपाल सरकारले प्रदेशहरूको अस्थायी राजधानी नतोकेका कारण राष्ट्रियसभा निर्वाचनको मतदानस्थल कहाँ राख्ने भन्ने टुङ्गो भने लागेको छैन । आयोग स्रोतका अनुसार जहाँजहाँ उच्च अदालत रहेका छन्, तिनै जिल्लामा मतदान गराउने कि भन्ने तयारी गरिए पनि कुनै टुङ्गो लागेको छैन ।

आयोगले सोमबार निर्वाचनको मतदान र मतगणना कसरी गर्न सकिन्छ भनेर प्रारम्भिक चरणमा मतदान र मतगणना गराएको छ । मतदान र मतगणना कार्यमा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह, सचिव बेगेन्द्रराज शर्मा पौड्याल तथा आयोगका अन्य उच्चपदस्थ कर्मचारीसमेत सहभागी हुनुभएको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७४ मा राष्ट्रियसभा सदस्यको निर्वाचन एकल सङ्क्रमणीय मत प्रणालीद्वारा हुने व्यवस्था छ । प्रत्येक प्रदेशबाट तीन जना महिला, एक दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक तथा अन्य तीन गरी जम्मा आठ जना निर्वाचित हुने व्यवस्था छ ।

अध्यादेशमा कुनै समूहबाट एक जनामात्रै सदस्य निर्वाचित गर्नुपर्ने अवस्थामा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने थप व्यवस्था गरेकाले निर्वाचन प्रणाली दुईथरीको हुनेछ ।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नियमावली र निर्देशिकालाई अन्तिम रूप दिनुअघि मतपत्र, कलम र कागजको सहयोगमा मतगणना गर्ने, त्यसैबाट कसरी मत अर्को उम्मेदवारमा सर्छ भन्ने विषयमा अध्ययनका लागि नमुना मतदान र गणना सञ्चालन गरेको बताइएको छ ।

राष्ट्रियसभाको निर्वाचनमा सात प्रदेशबाट निर्वाचित हुने ५५० जना र ७५३ वटा स्थानीय तहबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख एवं उपप्रमुख गरी एक हजार ५०६ सहित जम्मा दुई हजार ५६ जना मतदाताले मतदान गर्नुहुनेछ ।

त्यस निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको छ । यस हिसाबले प्रदेशसभाको मतभार २४ हजार चार सय र स्थानीय तहको मतभार २७ हजार १०८ गरी जम्मा ५३ हजार ५०८ मतभारबाट जम्मा ५६ जना सदस्य निर्वाचित हुनेछन् । ५९ सदस्यीय रहेको राष्ट्रियसभामा एक महिलासहित तीन जनालाई राष्ट्रपतिबाट मनोनीत गरिने व्यवस्था छ ।

मतदान गर्दा मतदाताले पहिलो, दोस्रो र तेस्रो प्राथमिकता तोकेर मतदान गर्नुपर्नेछ । आयोग र राजनीतिक दलहरूले मतदातालाई राम्रो प्रशिक्षण दिएमा मात्रै बदर मत कम भई निर्वाचनमा अपेक्षित नतिजा आउने छ ।

काँग्रेससहित नौ दल दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । सोमबारसम्म नौवटा राजनीतिक दलले दल दर्ता गराएको जानकारी आयोगका प्रवक्ता नवराज ढकालले दिनुभयो ।

आयोगमा नेपाली काँग्रेस, नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नौलो जनवादी पार्टीले निवेदन दर्ता गराएका छन् ।

प्रवक्ता ढकालका अनुसार यही पुस २८ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिनुभयो । हरेक निर्वाचनमा दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । प्रदेशसभा र स्थानीय तहको एक स्थान पनि नजितेका दलले पनि दल दर्ता गराएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter