• Friday, May 02, 2025

संक्रमणकालको अन्त्यसँगै पर्यटन क्षेत्रमा उत्साह

tourists-visiting-Nepalकाठमाडौँ, पुस २५ गते । राजनीतिक संक्रमणकालको अन्त्यसँगै मुलुकको पर्यटन क्षेत्रमा उत्साहको सञ्चार भएको छ । सन् २०१८ को शुरुवातमै पर्यटन क्षेत्रले उत्साहको अनुभूत गरेको छ । अघिल्लो वर्ष पनि पर्यटक आगमन झण्डै दुई दशक यताकै सबैभन्दा बढी रह्यो । स्थायित्व र आर्थिक समृद्धि हासिल गर्ने आम जनताको चाहना अनुरुप स्थिर सरकार बन्ने भएर पर्यटन क्षेत्रमा आशा पलाएको हो ।

पर्यटनसँग आवद्ध संघ–संस्था र सरकार स्वयम्ले आगामी वर्ष ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेका छन् । यो लक्ष्य भेटाउन धेरै चुनौतीको सामना गर्नुपर्नेछ । यद्यपि मुलुकको अन्तर्राष्ट्रिय स्तरको एकमात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम र भैरहवा तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएकाले आशा गर्ने धेरै ठाउँ छ ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन र नेपाली काँग्रेसले आफ्नो चुनावी घोषणापत्रमा पर्यटन प्रवद्र्धनका महत्वाकाँंक्षी योजना अघि सारेका थिए ।

वाम गठबन्धनले आगामी १० वर्षमा ५० लाख र काँग्रेसले १० वर्षमा ३२ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेका छन् । विजयी दलले प्रतिवद्धता जनाएअनुरुपको पर्यटन क्षेत्रलाई प्राथमिकता दिनेमा सन्देह छैन । प्रतिपक्षमा रहने दलले पनि जिम्मेवार भूमिका निर्बाह गरी हातेमालो गरेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा डो¥याउनुपर्छ ।

आगामी पाँच वर्र्षिभत्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरिने जनाइएको छ । दुई वर्र्षिभत्र भैरहवा र तीन वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा नेपाल च्याप्टर), नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) र होटल एशोसिएशन अफ नेपाल (हान) ले ५० लाख पर्यटक पु¥याउने अभियान नै घोषणा गरिसकेका छन् । त्यस्तै, नेपाल पर्वतारोहण संघ (एनएमए), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)लगायतका संस्थाले आगामी दिन प्रवद्र्धनात्मक अभियानलाई थप तीव्रता दिने जनाएका छन् ।

नेपालको पर्वतीय र पदयात्रा पर्यटनलाई अन्तर्राष्ट्रिय जगत्मा फैलाउन सक्रिय रहिआएको पाटा नेपाल ‘भिजन फाइभ मिलियन’ भन्ने नाराका साथ प्रवद्र्धनात्मक अभियानमा जुटिरहेको छ । नाट्टाले पनि आगामी सन् २०३० सम्म ५० लाख विदेशी पर्यटक पु¥याउने लक्ष्यका साथ अभियान चलाउने घोषणा गरेको छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक पु¥याउने लक्ष्य लिएको छ ।

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै नेपाल पर्यटन बोर्डले विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन गरिरहेको छ । सन् २०१७ मा बाह्य पर्यटक आगमन १० लाख भन्दा बढी पुग्ने उसको अनुमान छ ।

बोर्डले पछिल्लो समय भिजिट नेपाल युरोप–२०१७, घुमफिर वर्ष–२०१७ जस्ता अभियान सञ्चालन गरेको थियो ।

सन् १९९८ देखिको १० लाख पर्यटक पु¥याउने लक्ष्य सन् २०१७ मा सार्थक बनाउन सफल भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।

अध्यागमन विभागको पछिल्लो तथ्याँक अनुसार सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा २८ दशमलव ८८ प्रतिशत बढी हो । सन् २०१६ मा ७ लाख २८ हजार ५ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसअघि सबैभन्दा बढी सन् २०१२ मा आठ लाख पर्यटक नेपाल आएका थिए ।

बोर्डका प्रवन्धक सुमन घिमिरेका अनुसार बोर्डले सन् २०१८ मा छिमेकी देश भारत र चीनका पर्यटकलाई लक्ष्य गरी ‘डिजिटल मार्र्केिटङ’ लाई तीव्रता दिनेछ । अन्तर्राष्ट्रिय मिडिया बिबिसी, सिएनएन, ट्रिप एडभाइजर जस्ता चर्चित संस्थाबाट प्रवद्र्धनात्मक गतिविधि बढाइने छ । यस्तै, बोर्डले नेपाली मौलिक खानाको अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन गर्न ‘एक्सपेरिएन्स नेपाल – क्युजिन एन्ड कल्चर’ नामक अभियानको घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता धनश्याम उपाध्यायले सन् २०२० मा २० लाख पर्यटक पु¥याउने लक्ष्यलाई साकार पार्न मन्त्रालयले पूर्वाधार विकास, बजारीकरण, सेवाको गुणस्तर वृद्धि र पर्यटन गन्तब्य विविधीकरणका कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो ।

हानका अनुसार अहिले होटल क्षेत्रमा मात्रै पाँच खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । सरकारी विवरणअनुसार अहिले ४५ हजार शय्या पुगेको छ । नेपाल राष्ट्र बैंकबाट हालै सार्वजनिक एक प्रतिवेदन अनुसार आव २०७३÷७४ अनुसार मुलुकभरका साना, ठूला होटलमा गरी ६७ हजार ४८९ शय्या पुगेका छन् । यसबाट वार्षिक २५ लाख पर्यटकलाई धान्न सकिन्छ ।

हानका महासचिव विनायक शाह अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गरी ठूला विदेशी वायुसेवा कम्पनी भित्र्याउनु पर्नेमा जोड दिनुहुन्छ । छिमेकी मुलुक भारत र चीनका नाकाबाट भित्रिने पर्यटकको व्यवस्थापनका लागि नाकालाई पर्यटकमैत्री बनाउनुका साथै सडक यातायातलाई प्रभावकारी बनाउनुपर्ने उहाँको सुझाव छ ।

अहिलेसम्मकै ठूलो र अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय कार्यक्रम ‘हिमालय ट्राभल मार्ट–२०१७’ को आयोजनाबाट हौसिनुभएका पाटाका अध्यक्ष सुनिल शाक्यले राज्यका तर्फबाट पर्यटकीय पूर्वाधार निर्माण, विमानस्थल र सडक सञ्जाल थप विस्तार गर्ने काम भइदिए निजी क्षेत्र लगानी बढाउन तयार रहेको बताउनुहुन्छ ।

अरु संस्थासँग समन्वय गरेर प्रचारात्मक अभियान चलाउने घोषणा गर्नुभएको नाट्टाका अध्यक्ष मधुसूदन आचार्यले भन्नुभयो – “हामीले ५० लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य घोषणा गरिसकेका छौं । अभियानलाई कसरी अघि बढाउने भन्नेबारेमा पर्यटन बोर्डलगायत सरोकारवाला संस्थासँग छलफल गरी अघि बढ्छौं ।”

चाँडै दुई वाइड बडी विमान भित्र्याउने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको योजनाले बढी पर्यटक भित्र्याउने मुलुकको अभियानमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter