राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ; प्रतिनिधिसभा सदस्यद्वारा शपथ ग्रहण

Parliament Buildingकाठमाडौँ, फागुन २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ज्येष्ठद सदस्य प्रतिनिधिसभाका महन्थ ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

ठाकुरले मातृभाषा मैथिली भाषा र भट्टले नेपाली भाषामा शपथ लिनुभएको थियो । गत मंसिर १० र २१ गते प्रतिनिधिसभा र माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो ।

ज्येष्ठ सदस्य ठाकुर प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । उहाँ हाल ७१ र भट्ट ६९ वर्षका हुनुहुन्छ । शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, संवैधानिक एवं सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो ।

नेपालको संविधान २०७२ को धारा ९१ को उपधारा ५ अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएका अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ ।

त्यसैगरी धारा ९२ को उपधारा ५ अनुसार राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन नभइसकेका अवस्थामा उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले राष्ट्रियसभाको बैठकको अध्यक्षता गर्ने प्रावधान छ ।

आज अपराह्न ४ बजे ज्येष्ठ सदस्य ठाकुरले संघीय संसद् भवन बानेश्वरमा प्रतिनिधिसभाका २७५ सांसदलाई तथा अपराह्न ५ बजे राष्ट्रियसभाका ज्येष्ठ सदस्य भट्टले ५९ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम छ । (रासस)

प्रतिनिधिसभा सदस्यद्वारा शपथ ग्रहण

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराउनुभएको हो । यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराउनुभएको थियो ।

शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाउनुभएको थियो । यस लगत्तै उहाँहरु सचिवालयद्वारा आयोजित जलपान कार्यक्रममा सहभागी हुनुभएको थियो । शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा आउनुभएको थियो ।

नेपालको संविधानको धारा ८४ मा प्रतिनिधिसभा गठनबारे व्यवस्था छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य छन् । संसदको पहिलो बैठकमा सहभागी हुनु अघि उहाँहरुले आज शपथ लिनुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम सरकारको सिफारिशमा भोलि फागनु २१ गते संघीय संसदको पहिलो बैठक आह्वान गर्नुभएको छ । निर्धारित कार्यक्रम बमोजिम फागुन २१ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको पहिलो बैठक एकै समयमा आ–आफ्ना सभाहलमा बस्दैछ ।

प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१, नेपाली काँग्रेसका ६३, नेकपा (माओवादी केन्द्र) ५३, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टी नेपालका १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक र स्वतन्त्र एक सांसद छन् ।

प्रतिनिधिसभाका ३८ सदस्यले आफ्नो मातृभाषा (भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी) मा शपथ लिनुभयो । प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।

केही कानुनी अड्चनका कारण निर्वाचन भएको तीन महिनापछि मात्र प्रतिनिधिसभाका सदस्यलाई शपथ ख्वाउने काम भएको छ । दुबै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाई महिला सदस्य हुनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभाको निर्वाचनपछि मात्र निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । उनन्साठी सदस्यीय राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter