• Wednesday, April 30, 2025

राष्ट्रपति पदका लागि दुई महिलाको भीडन्त; मेरो कार्यकाल खुला किताबजस्तो छः राष्ट्रपति भण्डारी

President Visitकाठमाडौँ, फागुन २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उनले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।

उनका प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।

राष्ट्रपति भण्डारीले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराएकी हुन् ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । नेकपा एमालेले मंगलबार वर्तमान राष्ट्रपति भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यता, नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकी छन्।

यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोजपुरका शहीद दिवानसिंह राईकी सुपुत्री लक्ष्मी राईले आज उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनका प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले छन्।

उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँगै कुरा गर्दै नेत्री राईले आफ्नो उम्मेदवारी विकास र समृद्धिका लागि भएको बताइन् । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

काँग्रेसको आजै बसेको केन्द्रीय कार्यसमिति बैठकले उनलाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेत्री राईको उम्मेदवारी मनोनयनका क्रममा पार्टीका तर्फबाट महामन्त्री डा शशाङ्क कोइराला, नेता डा मीनेन्द्र रिजाललगायत उपस्थित थिए ।

महामन्त्री डा कोइरालाले राष्ट्रपति भण्डारीको भूमिका स्वतन्त्रभन्दा पनि पार्टी विशेषतिर ढल्किएको देखिएकाले उनीविरुद्ध आफ्नो पार्टीले उम्मेदवारी दिएको स्पष्ट पारे ।

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

मेरो कार्यकाल खुला किताबजस्तो छः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका रुपमा आफ्नो पहिलो कार्यकाल देशका लागि खुला किताबजस्तो रहेको बताउनुभएको छ ।

दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीको “राष्ट्रपतिको भूमिका तटस्ग भएन भन्ने आरोप छ नि” भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “यो कसैकसैको आरोप हो, मैले जे गरेको छु, देशका लागि खुला किताबजस्तो छ । यथार्थ कुरा बाहिरी आँखाले मात्र होइन, भित्रको आँखाले मूल्यांकन गर्न आवश्यक ठान्छु । ”

देशको हितलाई सर्वाेपरि राखेर नेपालको संविधानको मूल भावना र मर्मअनुरुप आफूले काम गरेको बताउँदै उहाँले भन्नुभयो, “यहाँहरुले त्यसको राम्रो मूल्यांकन गर्नुहुनेछ ।”

आफूले उम्मेदवारी दिएपछि सबैजसो राजनीतिक दलबाट समर्थन पाएको बताउँदै राष्ट्रपति भण्डारीले निर्वाचनमण्डलबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दल, सांसद र सञ्चार क्षेत्रबाट हालसम्म पु¥याइएको समर्थन तथा भोलिका दिनको सहयोगका लागि आभार र कृतज्ञता प्रकट गर्नुभयो ।

यसैबीच नेकपा (एमाले)का नेता सुवास नेम्वाङले नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपतिका रुपमा छोटो कार्यकालमा राष्ट्रपति भण्डारीबाट निर्वाह भएको भूमिकालाई ध्यानमा राखेर पार्टीले दोस्रो कार्यकालका लागि उहाँलाई नै उम्मेदवार छनोट गरेको प्रतिक्रिया दिनुभयो ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिनुलाई आफूले सम्मानकै रुपमा ग्रहण गरेको उहाँले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter