बंगला विमान दुर्घटना; ४९ जनाको मृत्यु ; विमान दुर्घटनाबारे जाँचबुझ गर्न ६ सदस्यीय आयोग गठन

Biman Bangladesh_Accidentकाठमाडौँ, फागुन २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विमानमा के कति यात्रु थिए भन्ने जानकारी आउन बाँकी छ । उद्धार गरिएका यात्रुलाई नजिकको अस्पतालहरुमा पठाइएको बुझिएको छ ।

विमान दुर्घटनास्थलमा प्रधानमन्त्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको छ ।

गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

साँझ ४ बजेका लागि तोकिएको मन्त्रिपरिषद्को बैठक स्थगन गरी प्रधानमन्त्री ओली विमानस्थल पुग्नुभएको हो ।
उद्धारमा लाग्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानका यात्रुको उद्धारमा लाग्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री थापा दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिनुभएको हो । उहाँले घटना दुःखद् भएको भन्दै सबैलाई धैर्यधारण गर्न आग्रह गर्नुभएको छ ।

दिउँसो १४ः२० बजे लागेको आगोलाई नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले निभाएका थिए ।

विमान दुर्घटना – राष्ट्रपति र उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले युएस बंगलादेश विमान दुर्घटनामा परी निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवाजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

राष्ट्रपतिले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा आज अपराह्न १४ः१८ बजे दुर्घटनामा परेको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभएको छ ।

उहाँले दुर्घटनाका कारणबारे गम्भीर छानविन गर्न तथा आगामी दिनमा दुर्घटना र दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युए बङ्गला विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी व्यवस्थित उद्धार र घाइतेको सम्पूर्ण उपचार तथा दुर्घटनाको छानविन गर्न सरकारसँग माग गरेको छ । “घटनामा परी दिवंगत हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पणका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

विमान दुर्घटनाप्रति अखिलको दुःख

नेकपा (एमाले) निकट अनेरास्ववियूले आज बङ्गलादेशबाट नेपाल आउन लागेको युएस बङ्गला विमान दुर्घटना भएकामा दुःख व्यक्त गरेको छ ।

अनेरास्ववियूका अध्यक्ष नवीना लामाले आज विज्ञप्ति जारी गर्दै आज अपराह्न भएको उक्त विमान दुर्घटनाको दुःख व्यक्त गर्दै घाइतेको यथाशीघ्र उपचार र निःशुल्क उपचार गराउन माग गर्नुभएको छ ।

विमान दुर्घटनाबारे जाँचबुझ गर्न ६ सदस्यीय आयोग गठन

सरकारले सोमबार भएको युएस बङ्ला विमान दुर्घटनाबारे छानविन गर्न ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । विमान दुर्घटना भएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारका पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा सेनाको तर्फबाट डा.राजिवदेव, क्याप्टेन केके शर्मा, सुनिल प्रधान, उद्धबबहादुर सुवेदी, बुद्धिसागर लामिछाने रहेका छन् । बैठकले आयोगलाई छिटोभन्दा छिटो जाँचबुझ प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ ।

त्यस्तै बैठकले प्रदेशको मुख्य न्यायाधीवक्ताले लिने सपथको विषयलाई पनि टुंग्याएको छ । बैठकले प्रदेशको मुख्य न्यायाधीवक्ताले पनि केन्द्रको महान्याधिवक्ताकै प्रक्रियाबाटै सपथ लिन सक्ने निर्णय गरेको छ । मुख्य न्यायाधीवक्ताले उच्च अदालतका न्यायाधीशबाट सपथ लिन सक्ने जनाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter