उपत्यकाबाट ५२ मेट्रिक टन फोहर व्यवस्थापन

Garbageकाठमाडौँ, चैत ३ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २५३ औँ हप्तामा आज थापाथलीस्थित नदी क्षेत्रमा सफाइ गरी २० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत सामाजिक संस्थाको संस्थागत सहभागिता थियो ।

सफाइमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, ललितपुर महानगरपालिका वडा नं १० का अध्यक्ष लक्ष्मी व्यञ्जनकार, कलाकारद्वय मनोज गजुरेल र राजाराम पौडेल, गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष हंसराज ढकाल लगायतको सक्रियता रहेको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियानपछि उपत्यकाका नदी र चक्रपथका साथै देशका प्रमुख शहरका ४५ स्थानमा स्वतःस्फूर्तरुपमा सफाइ अभियान शुरु भएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २१४औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि गोडमेल गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

वाग्मतीको पानी फोहर भई छोडिएका बाच्छा पानी खाएर मर्न थालेपछि समाजले धाराको पानीमा नून हालेर खुवाउने अभियानलाई पनि निरन्तरता दिएको छ । यो अभियानमा सहयोग गर्नेको संख्यासमेत बढिरहेको अभियानले जनाएको छ । यसअघि यस क्षेत्रमा फोहर पानीका कारण हुर्किएका माछा पनि मरेका थिए ।

रुद्रमती सफाइको २०८औँ हप्तामा रातोपुल–ज्ञानेश्वरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । शुक्रबार यो सडकमा कालोपत्र गरिएकाले त्यसको धुलो पनि व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइको १७९ औँ हप्तामा टोखा नगरपालिका– १३ स्थित सिद्धेश्वर क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइका क्रममा घरदैलो कार्यक्रम समेत गरिएको अभियन्ता बिजेन्द्र लामाले जानकारी दिनुभयो ।

वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५८औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताउनुभयो । मीनभवन क्षेत्रको आलोकनगर सफाइको ४९औँ हप्तामा आज त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

चक्रपथ सफाइको ४९औँ हप्तामा चक्रपथको नयाँ बसपार्कदेखि ग्रिनसिटी अस्पतालसम्मको दायाँबायाँ सडक किनारमा सफाइ गरी २१ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । मेलम्चीको पानी वितरणका लागि पाइप विच्छ््याउन खनिएको खाल्डो काम सकेर नपुरिँदा फोहर फाल्ने ठाउँ बनेको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

सफाइमा तीनवटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रिनसिटी अस्पताललगायत संस्थाको सहभागिता थियो । चैत १० गते शनिबार ५० औँ हप्ताको चक्रपथ सफाइ अभियान बसुन्धरास्थित ग्रिनसिटी अस्पताल परिसरमा गरिने उहाँले जानकारी दिनुभयो ।

चक्रपथको बाफल खण्डको ३१औँ हप्ताको सफाइमा चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाउनुभयो । सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुँयालले छ महिनासम्म बाफल चोकमा निःशुल्क पिउने पानी सेवाको उद्घाटन गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter