• Sunday, May 18, 2025

विशेष समयमा जनचासोका मुद्दा उठाउँदै सांसद

Parliament Buildingकाठमाडौँ, जेठ २७ गते । सांसदले स्थानीय विकास निर्माणदेखि जनताको दैनिक समस्याका विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै विशेष समय लिँदै उहाँहरुले सार्वजनिक चासोका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

सांसद पुष्पा भुसालले संवैधानिक सर्वोच्चतालाई कायम राख्दै सभामुख वा उपसभामुख एकै दलको हुन नहुने भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । विधिको शासनअनुसार संसदीय व्यवस्थाअनुसार अभ्यास हुनुपर्नेमा जोड दिँदै उहाँले एक दलीय सर्वसत्तावाद लागू गर्न खोजेको आरोप लगाउनुभयो ।

सांसद रामसहायप्रसाद यादवले बारामा बन्न गइरहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने क्षेत्रको सही मूल्यांकन गरी मुआब्जा उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले सिम्रौनगढ भन्सार सुधार गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद राजकिशोर यादवले सिरहाका जिल्ला शिक्षा अधिकारीले आवश्यकताअनुसार दरबन्दी व्यवस्थापन नगरी अनियमितरुपमा बाँडफाँड गरेको भन्दै विश्वसनीय आधारमा काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले विकास निर्माण कार्यमा ढिलाइ गर्ने निर्माण व्यवसायीले ठूला नेताको आडमा गृहमन्त्रालयलाई चुनौती दिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रेम सुवालले वाग्मती र विष्णुमती क्षेत्रमा सार्वजनिक जग्गा हडपेको भन्दै त्यसतर्फ छानविन गर्न आग्रह गर्नुभयो । उहाँले काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गर्नुभयो ।

सांसद दुर्गा पौडेलले हरेक स्थानीय तहमा सडक सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्का सांसद दिलेन्द्र बडूले वैदेशिक रोजगारीको सिलसिलामा अरब देशमा गएका नेपाली अमरबहादुर बमको जीवन रक्षाको माग राख्दै परराष्ट्रमन्त्रीले उक्त विषयमा यथोचित ध्यान पु¥याउन नसकेको बताउनुभयो ।

सांसद पूर्णकुमारी सुवेदीले वर्षात्का समयमा तराईका विभिन्न जिल्लामा बाढीबाट प्रभावित हुने गरेको भन्दै विपद्को पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद हितबहादुर तामाङले नुवाकोट–काठमाडौँ जोड्ने सडकको निर्माण कार्य जारी रहेकाले यातायात आवागमनमा समस्या आएको, वैकल्पिक मार्गका रुपमा रहेको टोखा–छहरे सडकखण्डमा समेत लामो समयसम्म जाम पर्नुपर्ने बाध्यता आएको भन्दै तत्काल निर्माण कार्य अगाडि बढाउन माग गर्नुभयो ।

सांसद यज्ञराज सुनुवारले ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीलगायतका जिल्लामा १० टनभन्दा बढी भार क्षमताको सवारीसाधन चलाउन नपाउने भन्ने अदालतको आदेशका कारण दैनिक जनजीवन प्रभावित भएको, निर्माण सामग्री अलपत्र परेको भन्दै वैकल्पिक व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद विरोध खतिवडाले काठमाडौँ–चित्लाङ सडकखण्ड निर्माणका क्रममा निस्किएको ८३ हजार घनमिटर ढुङ्गा रु ३६५ मा लिलाम गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले वन विभाग, गणेशमान मार्ग आयोजनाका प्रमुख र सरोकार नै नभएका व्यक्तिले निर्णय गरेकामा तत्काल कारवाही गर्न माग गर्नुभयो ।

सांसद झपटबहादुर रावलले संघीय संसद्का गतिविधिमा गैरसरकारी संस्थाको रकम प्रयोग गरिएकोमा आपत्ति जनाउँदै जनप्रतिनिधिमूलक संस्थामा दातृ निकायको रकम लिनु र खर्च गरिनु सार्वभौम मुलुकलाई नसुहाउने विषय भएको बताउनुभयो ।

सांसद सत्या पहाडीले कालीकोटको नरहरिनाथ गाउँपालिकामा यही जेठ १९ गते स्थानीय जनप्रतिनिधि मना सार्कीको हत्या भएको भन्दै हत्यामा संलग्न दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न आग्रह गर्नुभयो । यस्तै, अर्का सांसद पार्वतीकुमारी विसंखेले पनि एक्काइसाँै शताब्दीमा पनि जातपातका आधारमा छुवाछूत गरिनु र हत्यासम्म गरिनु सभ्य समाजका लागि सुहाउँदो विषय नभएको भन्दै दोषीमाथि कारवाही गर्न माग गर्नुभयो ।

सांसद भवानीप्रसाद खापुङले तमोर जलाशययुक्त आयोजनाको महत्वबारे सदनलाई जानकारी गराउँदै सो आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न माग गर्नुभयो ।

नेपालकै सस्तो र बहुउद्देश्यीय आयोजना सरकारकै पहलकदमीमा निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद शशि श्रेष्ठले साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा काम गर्ने संस्था वा निकायलाई राज्यले जुनरुपमा ध्यान दिनुपर्ने हो त्यो हुन नसकेकामा आपत्ति जनाउनुभयो ।

सांसदहरु नरबहादुर धामी तथा यज्ञबहादुर बोगटीले राष्ट्रिय तथा स्थानीय समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ः०० बजे बस्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter