काठमाडौँमा उच्च क्षमताको प्रसारण लाइन बनाउँदै प्राधिकरण

Electricityकाठमाडौँ, भदौ २७ गते । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताको प्रसारण प्रणाली बनाउने भएको छ ।

त्यस्तो प्रसारण प्रणालीलाई काठमाडौँ उपत्यकका प्रसारण ‘रिङ’ नाम दिइएको छ । आगामी दिनमा हुने विद्युत् मागको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रसारण लाइनको रिङ निर्माण गर्न लागिएको हो ।

हाल उपत्यकामा १३२÷६६ र ६६÷११ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भईरहेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने बाहिरी चक्रपथसँगै प्रसारण लाइन पनि निर्माण गरिने प्राधिकरणले जनाएको छ ।

बाहिरी चक्रपथसँगै बन्ने प्रसारण लाइनको लम्बाइ ७५ किलोमिटर र आयोजनाको अनुमानित लागत १५ करोड अमेरिकी डलर छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक÷दुई वर्षभित्रमै उपत्यकामा विद्युत आपूर्ति गर्न अहिलेको संरचनाले धान्न गाह्रो हुने भएकाले उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

सो लाइनसँगै उपत्यकाका तीन जिल्लामा २२०÷१३२ र १३२÷११ केभी क्षमताका एक÷एक वटा सबस्टेसनसमेत निर्माण गर्ने तयारी छ । “बढ्दो सहरीकरणले उपत्यकामा जग्गा अधिग्रहण गर्न ज्यादै जटिल रहेकाले बाहिरी चक्रपथसँगै प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारिएको हो”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

प्राधिकरणअन्तर्गतको आयोजना व्यवस्थापन निर्देशनालयले आयोजनाको अध्ययन शुरु गरेको छ । लगानीका लागि एशियाली विकास बैंकलाई अनुरोध गर्ने योजना प्राधिकरणले बनाएको छ । चरम समस्याका रुपमा रहेको विद्युत् कटौती अन्त्य भएपछि काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएको छ । प्राधिकरणको विद्यमान संरचनाले माग र आपूर्तिको सन्तुलनलाई धान्न सक्दैन ।

अहिलेको प्रसारण तथा वितरण लाइन क्षमता कम तथा जीर्ण रहेकाले विद्युत् ट्रिपिङ हुने, ट्रान्सफर्मर जल्नेलगायतका समस्या व्यहोरिरहेको छ । दोलखामा निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित त्यस क्षेत्रमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा भित्र्याउन प्राधिकरणले अहिले खिम्ती–बाह्रबिसे ४००÷२२० केभी प्रसारण लाइन निर्माण गरिरहेको छ । यसका लागि काठमाडौँको लप्सीफेदीमा २२०÷१३२ केभी र भक्तपुरको चाँगुनारायणमा १३२÷११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजना करीब २० वर्षदेखि अलपत्र छ । ललितपुरका चापागाउँवासीसँग मुआब्जा र क्षतिपूर्तिमा सहमति जुट्न नसक्दा प्रसारण लाइनको निर्माण अवरुद्ध भएको हो ।

थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइनको काठमाडौँ र भक्तपुरतर्फको निर्माण सकिएको छ । तर मुआब्जामा चापागाउँवासीसँग सहमति जुट्न नसक्दा ललितपुरमा पर्ने करीब १५ किलोमिटर प्रसारण लाइन निर्माण हुन सकेको छैन । आयोजनाको काम आर्थिक वर्ष २०५५÷५६ मा शुरु भएको थियो । यसले गर्दा पनि उपत्यकाको विद्युत् आपूर्तिमा समस्या छ ।

आयोजना र स्थानीयवासीबीच १३२ केभीको प्रसारण तारमुनि पर्ने नौ मिटर दायाँ र नौ मिटर बायाँको अधिकार क्षेत्र (राइट अफ वे) मा पर्ने जग्गाको मुआब्जामा सहमति हुन सकेको छैन । स्थानीय बासिन्दाले प्रसारण लाइनको बाटो नै परिवर्तन गर्नुपर्ने माग गर्दै आएका छन् । प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने योजना बनाई सोहीअनुसार काम गरिरहेको छ ।

नयाँ प्रसारण प्रणालीको निर्माणपछि काठमाडौँ उपत्यकाका नागरिकले मागेभन्दा बढी विद्युत् उपलब्ध गराउन सकिने प्राधिकरणको भनाइ छ । आगामी वर्षदेखि नै बढी विद्युत् खपत गर्न उपभोक्तालाई आग्रह गर्नुपर्ने अवस्था छ । सोही स्थितिलाई ध्यानमा राखेर प्रसारण प्रणालीमा सुधार गर्न लागिएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter