कुल गार्हस्थ उत्पादन र आर्थिक वृद्धिदर वृद्धि, जनताको खर्चमा कमीःमुख्यमन्त्री पोखरेल

Shankhar Pokharelबुटवल, फागुन ३ गते । प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी प्रदेश स्थापना दिवस मनाइएको हो । प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा पनि दिएको छ ।

दिवसका अवसरमा आज बिहान बुटवलमा प्रभातफेरी निकालियो । बुटवल बहुमुखी क्याम्पसबाट विभिन्न जातजाति र समुदायका झाँकीसहित निकालिएको प्रभातफेरी बुटवलमण्डपमा पुगेर विशेष समारोहमा परिणत भएको थियो । बुटवल मण्डपमा विशेष समारोह शुरु हुनु पहिले प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झालाई नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश सरकार स्थापनाको एक वर्षमा प्रदेशमा विकासका आधार तयार भएको र आगामी वर्षदेखि नमुनायोग्य रुपमा विकास गरिने बताउनुभयो ।

उहाँले प्रदेश सरकार अहिले आवधिक योजनाको तयारीमा जुटेको बताउँदै आगामी वैशाखसम्ममा प्रदेशको आवधिक योजना तयार गरी आगामी आर्थिक वर्षको बजेट सोही आवधिक योजनालाई आधार बनाएर ल्याइने तयारीमा रहेको जानकारी दिनुभयो ।

“प्रदेशका लागि आवश्यक आधारभूत कानून यही आर्थिक वर्षभित्र पारित गर्ने गरी काम भइरहेका अवस्थामा अनेकौँ चुनौती र सीमाका बीचमा अहिलेसम्मका सरकारका कार्य सन्तोषजनक नै रहेको छ”, उहाँले भयो ।

मुख्यमन्त्री पोखरेलले सङ्घीयताले प्रशासनिक खर्चमा १५ प्रतिशतले वृद्धि हुने आकलन स्वाभाविकै रहेको बताउँदै सङ्घीयताकै कारण जनताको खर्चमा पनि कमी आउने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले हिजो सदरमुकाममा सेवा लिन धाउनुपर्ने अवस्थामा सङ्घीयताले ती सेवा स्थानीयस्तरमै पु¥याएकाले जनताको खर्चमा कमी आएको छ ।”

मुख्यमन्त्री पोखरेलले मुलुकमा अहिले कुल गार्हस्थ उत्पादन र आर्थिक वृद्धिदर बढेको नेपाल राष्ट्र बैकका सूचकाङ्कले देखाएको बताउँदै यसलाई आर्थिक विकासको राम्रो सङ्केत मान्न सकिने बताउनुभयो ।

उहाँले यस एक वर्षको छोटो अवधिमा प्रदेश सरकारलाई जनताले खोज्ने र भेट्टाउने अवस्था तयार पार्न सफल भएको र आफ्नो नजीकको सरकारका रुपमा प्रदेशको खोजी हुनु र भरोसा बढ्दै जानु अत्यन्त सुखद र सकारात्मक पक्ष हो भन्नुभयो । उहाँले भन्नुभयो,“हामीले सङ्घीयताको महत्वपूर्ण आधार प्रदेश सरकार हो भन्ने स्थापित गर्न सकेका छौंँ ।”

मुख्यमन्त्री पोखरेलले प्रदेशको समग्र विकासका लागि समृद्धिको आधार नै पर्यटन भएकाले प्रदेशको मुख्य पर्यटकीय गन्तव्य लुम्बिनीको गुरुयोजना सम्पन्न गर्ने र अन्य विकास निर्माण लुम्बिनी विकास कोषले गरे पनि पर्यटन प्रवद्र्धनको प्रमुख जिम्मा प्रदेश सरकारलाई दिन सङ्घीय सरकारलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकारले विसं २०७६ को बुद्ध पूर्णिमाको दिन लुम्बिनी भ्रमण वर्ष शुरु गर्ने तयारीमा रहेको र त्योे सङ्घीय सरकारले शुरु गर्ने नेपाल भ्रमण वर्ष सन् २०२० लाई सघाउन आधार बन्ने बताउनुभयो ।

उहाँले प्रदेशको स्थायी राजधानी र नाम तोक्ने विषय प्रदेशसभाको अधिकार क्षेत्र भएकाले सडकमा बहस र विवाद गर्न उचित नहुने बताउँदै स्थायी राजधानी र नामकरण गर्दा स्थानविशेषको आग्रहबाट मुक्त हुनुपर्ने र जहाँ प्रदेश राजधानी हुन्छ, त्यहाँ मात्र विकास हुन्छ भन्ने सोचबाट पनि मुक्त हुन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ लाई नेपालको मिनी नमूना प्रदेश बनाउन सकिने उल्लेख गर्दै कृषिको आधुनिकीकरण र व्यवसायीकरण तथा उद्योगको विकास र पर्यटन प्रवद्र्धनबाट प्रदेशलाई समृद्ध बनाइने बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई प्रदेशको स्थायी राजधानी तोक्न ढिला नगरी योजनाबद्ध विकासमा सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले उपमहानगरपालिकाले एकीकृत गुरुयोजना बनाइ सोहीअनुसार नगरलाई स्वच्छ, सफा र सुन्दर बृहत् नगर बनाउने गरी काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख उमाकान्त झा, प्रदेशसभाका सभामुख र उपसभामुख, प्रदेश सरकारका मन्त्री, प्रदेशसभामा विपक्षी दलका नेता, प्रदेशसभाका विभिन्न समितिका सभापति, प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, उच्च अदालतका मुख्य न्यायाधीश, प्रमुख सचिव, प्रदेशसभाका सचिव, प्रजिअ, विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश सरकारका सचिव, प्रदेश न्यायाधिवक्ता, प्रदेश योजना आयोग उपाध्यक्ष, जङ्गी निजामतीलगायत राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा, विभिन्न सङ्घसंस्थाका प्रमुखको सहभागिता थियो ।

त्यस अवसरमा झाँकीमा सहभागीलाई उनीहरुको उत्कृष्टताका आधारमा नगदसहित सम्मान गरिएको थियो । त्यसअवसरमा उत्कृष्ट हुने नेवा समाज बुटवल, द्वितीय हुने ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बुटवल, तमु प्ये ल्हु सङ्घ, बुटवल तृतीय भएका थिए । यस्तै सान्त्वना पाउनेमा सैनामैना नगरपालिका, तिलोत्तमा नेवा मयँज खल, बुटवल र मयुर नाच बुटवल १९ रानीबारीलाई पुरस्कृत गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter