उपत्यकाबाट ३८ मेट्रिक टन फोहर व्यवस्थापन

Garbageकाठमाडौँ, फागुन ४ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।

वाग्मती सफाइ महाअभियानको ३०१औँ हप्तामा टेकू दोभानस्थित वाग्मती पुल क्षेत्रको नदी किनारमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, काठमाडौँ महानगरपालिका–१२ का अध्यक्ष विकास डङ्गोल, वडा सदस्यलगायत जनप्रतिनिधि, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालीम लिइरहेका नवनियुक्त १०० जना शाखा अधिकृतको समूहसहित अभियानकर्मीको सहभागिता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २५ संस्थाका ५०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको नदी सफाइको २६२ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–५ र कागेश्वरी मनोहरा नगरपालिका–८ को सीमास्थित हनुमानवाटिका मुनिको नदी किनारमा सफाइ गरियो । दुवै नगरपालिकाका वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउनसमेत आह्वान गरेको छ । घरकै फोहर व्यवस्थापन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ ।

सफाइमा मानव अधिकार तथा शान्ति समाजलगायत सङ्घसंस्थासहित माकालबारी टोलवासी गरी २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । रुद्रमती सफाइ अभियानको २५६ हप्तामा रातोपुल–सेतोपुलसम्मको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिनुभयो ।

विष्णुमती सफाइको २२८औँ हप्तामा तारकेश्वर नगरपालिका–७ र टोखा नगरपालिका–३ को सीमास्थित साङला खोलाको धनेश्वर र इन्द्रेणी पुलबीचको क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले राससलाई जानकारी दिनुभयो । सुरक्षा निकाय, स्थानीयवासी र अभियानकर्मी गरी १०० जनाको उपस्थिति रहेको थियो ।

वाग्मतीको तिलगङ्गा क्षेत्रमा २०२ औँ हप्ताको सफाइ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो । सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिनुभयो ।

मरेका कुकुर नदी किनारमा गाडिनुका साथै नदीमा फालिएका बाँस र कपडा निकालेर व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १११औँ हप्ताको सफाइ गरियो । १०० भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले बताउनुभयो ।

चक्रपथ सफाइ अभियानको ९७औँ हप्तामा नयाँबसपार्क क्षेत्रबाट शुरु गरिएको सफाइ कार्यक्रम सामाखुसी चोकमा समापन भयो । सफाइ स्वयंसेवक तिलक बस्नेतका अनुसार ३५० जना अभियानकर्मीको सहभागितामा भएको सफाइबाट गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

यस क्षेत्रमा खानेपानीको पाइप लगिएको स्थानमा ढल जमी फुटेको पाइपमा छिरेको भेटिएको अभियानकर्मी रेणुका गुरुङले बताउनुभयो । खानेपानीमा ढल जाँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले बेलैमा ध्यान दिन उहाँले सरोकार भएका निकायलाई अनुरोध गर्नुभयो । यस क्षेत्रको ढलमा ढकनी नराखिएकाले बाहिर निस्किएर खानेपानीको पाइप फुटेका स्थानमा छिर्न थालेको छ ।

फागुन २५ गते चक्रपथ सफाइ अभियानको १००औँ हप्तामा विशेष कार्यक्रमको तयारी गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो । चक्रपथ सफाइ अभियान विसं २०७३ वैशाख २ गतेदेखि शुरु भएको थियो ।

आलोकनगर सफाइको ९७औँ हप्तामा लोकेश्वर मन्दिर हुँदै कोटेश्वर जोड्ने वाग्मती पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । सो अवसरमा प्लाष्टिक सडकमा नफालौँ भन्ने लगायतका विषयमा जनचेतनामूलक अभियान चलाइएको थियो । सफाइमा ३१ नं वडा अध्यक्ष नारायण भण्डारी, वडा सदस्य रमेश सत्याललगायत आलोकनगर र शङ्खमूलवासीको सहभागिता थियो ।

चक्रपथ वाफल खण्ड सफाइको ७९ औँ हप्तामा स्युचाटार पुलबाट सोल्टीदोबाटोसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

सफाइ महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोस रुपमा काम हुन नसकेको गुनासोसमेत सुनिने गरेको छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेको छ । वाग्मती किनारमा सञ्चालन भएका सुँगुर, बँगुर फार्म र सुकुम्बासी बस्ती हटाउन समेत सरकारले पहल गर्न सकेको छैन ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । वाग्मतीबाट प्रभावित भई उपत्यकाक अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०२ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter