• Saturday, May 03, 2025

मानसरोवर कैलाश पर्वत निर्माण प्रक्रिया शुरु

Cho Lang Pass_Mountainरुपन्देही, फागुन ४ गते । पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकलाई मध्यनजर गर्दै प्रदेश नं ५ सरकारले बाँकेमा मानसरोवर निर्माण प्रक्रिया शुरु गरेको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बाँकेको कोहलपुर नजिकै बैजनाथ–६ लालपुरमा मानसरोवरको प्रतीकात्मक स्थल निर्माण प्रक्रिया शुरु गरिएको हो । नेपालको बाटो हुँदै वर्षेनी हजारौँ पर्यटकले तिब्बतमा पर्ने मानसरोवर कैलाशको भ्रमण गर्ने गर्दछन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्माणको जिम्मा डिभिजन वन कार्यालय बाँकेलाई दिएको मन्त्रालयका सूचना अधिकारी जीवन पाण्डेले जानकारी दिनुभयो ।

निर्माण प्रक्रियाअन्तर्गत अहिले विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम भइरहेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा काम सक्ने गरी मन्त्रालयले जिम्मेवारी दिए पनि क्षेत्र छनोटका लागि समय लागेकाले केही ढिलाइ भएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

कार्यालयले विस्तृत परियोजना प्रतिवेदन बनाउन स्मार्ट प्राइभेट लिमिटेड काठमाडाँैलाई दिएको छ । प्रमुख श्रेष्ठले भन्नुभयो, “वनको जग्गा भएकाले क्षेत्र छनोटमा समय लाग्यो, अर्को वर्ष मानसरोवरको स्वरुप तयार हुन्छ ।”

अन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउने उद्देश्यले मानसरोवरको प्रतीकात्मक स्थल निर्माण प्रक्रिया शुरु गरिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेलले बताउनुभयो ।

उच्च हिमाली क्षेत्र भएकाले चाहेर पनि मानसरोवरको यात्रामा जान गाह्रो छ । उहाँले भन्नुभयो, “भौगोलिक विकटता र खर्च धेरै लाग्ने भएकाले अधिकांश पर्यटक पुग्न सक्दैनन् ।” त्यस्ता पर्यटकलाई लक्षित गरेर निर्माण प्रक्रिया थालिएको उहाँको भनाइ छ ।

हिन्दू धर्मअनुसार भगवान शिव र पार्वतीको बासस्थान क्षेत्र भएकाले हिन्दूहरुले यो स्थानलाई पवित्र तीर्थस्थलका रुपमा लिएको पाइन्छ । विभिन्न हिन्दू धर्मग्रन्थमा कैलाश मानसरोवरको चर्चा गरिएको छ । कैलाश पर्वतलाई परिक्रमा गर्दा ठूलो पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।

मानसरोवर हिन्दू र बुद्ध धर्मका लागि धार्मिक महत्व भएको ताल मानिन्छ । यो ताल समुन्द्र सतहबाट करीब छ हजार ६०० मिटरको उचाइमा अवस्थित छ । यस तालको पश्चिममा राक्षस ताल रहेको छ भने उत्तरमा कैलास पर्वत रहेको छ ।

मानसरोवर र कैलास पर्वतको दुरुस्त प्रतिमूर्ति बनाएर खासगरी भारतीय पर्यटकलाई आकर्षण गर्ने उद्देश्य राखिएको प्रदेश सरकारको भनाइ छ ।

करीब पाँच हेक्टर क्षेत्रफलमा यस्तो प्रतिमूर्तिसहित उद्यान निर्माण गर्न लागिएको हो । तत्कालका लागि रु दुई करोडको लगानीमा प्रतिमूर्ति स्थापनाको तयारी गरिएको छ । आगामी वर्षभित्र मानसरोवर र कैलास पर्वतको प्रतिमूर्ति निर्माण सक्ने उद्देश्य राखिएको उद्योग तथा वन, वातावरणमन्त्री लिला गिरीले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter