• Friday, May 02, 2025

सामाजिक सुरक्षामा उत्साही भएनन् रोजगारदाता र श्रमिक आपूर्तिकर्ता

Social Securityसीता शर्मा / काठमाडौँ, फागुन ७ गते । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकरणमा रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ता संस्थाहरूको आबद्धता खासै उत्साहजनक देखिएका छैनन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा गएको मङ्सिर ६ गतेदेखि फागुन ६ गतेसम्म (तीन महिना) समयसीमा तोकेर रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ता सूचीकरण शुरु गरिएको हो । सरकारले गत मङ्सिर ११ गते औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो । यो कार्यक्रमको घोषणासँगै श्रमिक खुसी मात्रै भएनन् उनीहरूले यसको खुलेरै प्रशंसासमेत गरेका थिए ।

सामाजिक सुरक्षा कोषका अनुसार तीन महिनाको अवधिमा उपत्यकासहित देशभरबाट सूचीकृत हुने रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ता संस्थाको सङ्ख्या एक हजार सात सय मात्रै रहेको छ, जुन त्यति उत्साहजनक नभएको स्वयम् सामाजिक सुरक्षा कोषका पदाधिकारी नै स्वीकार गर्छन् ।

कोषका निर्देशक एवं प्रवक्ता रमा भट्टराईले तीन महिनाको अवधिमा सूचीकरणका लागि आएका रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ता संस्थाको सङ्ख्या उत्साहपूर्ण हुन नसकेको बताउनुभयो । उपत्यकाका तीन जिल्लामा तोकिएको समयसीमा पूरा भएको छ तर यो क्षेत्रका रोजगारदाता कम्पनीहरूको सूचीकरण गर्ने कार्य निरन्तर चलिरहने निर्देशक भट्टराईले प्रस्ट पार्नुभयो ।

यसअघि सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लाभित्रका रोजगारदाता मङ्सिर ६ गतेदेखि फागुन ६ गतेभित्र कोषमा सूचीकरण हुनुपर्ने समयसीमा तोकिएको थियो । त्यसअनुरूप यसको समय सोमबार सकिएको छ । निर्देशक भट्टराईले उक्त कार्यक्रम पहिलो पटक भएको र सूचीकरणका लागि आउने क्रम जारी रहेकाले केही समय थप गरेरै सूचीकरण गर्न सकिने तर कति समय थप्ने भन्ने विषयमा भने पछि टुङ्गो लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, अझै एक÷दुई पटक सूचना गर्छौं । यति गर्दा पनि नआउने रोजगारदाता कम्पनीलाई कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्नुपर्छ । ’

सामाजिक सुरक्षा ऐन, २०७४ मा तोकेको समयभित्र सूचीकृत हुन नआउने रोजगारदाता कम्पनीको नवीकरण रद्द गरिनुका साथै त्यस संस्थाले पाउने सम्पूर्ण सरकारी सेवा सुविधाबाट वञ्चित गरिने व्यवस्था छ ।

सूचीकरण हुने रोजगारदाता संस्था

फागुन ६ गते काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका लागि तोकिएको समयसीमा सकियो । तोकिएको समयसीमा सोमबारसम्म एक हजार सात सय रोजगारदाता संस्था कोषमा सूचीकृत भएका छन् । कोषका निर्देशक भट्टराईका अनुसार कोषमा सोमबारसम्म सूचीकृत भएकामध्ये एक हजार २५० वटा संस्था प्रदेश ३ काम रहेको र त्यसमा पनि ९० प्रतिशतभन्दा बढी काठमाडौँ उपत्यकाभित्रैका छन् । सूचीकरणका लागि आएको यो सङ्ख्या सन्तोषजनक नभएको निर्देशक भट्टराईले बताउनुभयो । यद्यपि सुरक्षा कोषमा सूचीकृत नै नभए पनि बुझ्न आउने क्रम जारी रहेकाले निराश हुनुपर्ने कुनै कारण नभएको भन्दै निर्देशक भट्टराईले विस्तारै सबै रोजगारदाता आउनेमा विश्वास व्यक्त गर्नुभयो ।

कम आकर्षित हुनुको कारण

नयाँ कार्यक्रममा भएकाले कतिपयलाई बुभ्mन नसकेकाले पनि कम सङ्ख्या आएको हुनसक्ने निर्देशक भट्टराईको बुझाइ छ । उहाँका अनुसार केही ठूला रोजगारदाताले दिँदै आएको सेवा सुविधाभन्दा यो कम हुने र साना रोजगारदाताले दिएको सुविधाभन्दा धेरै भएकाले धान्न नसक्ने जस्ता समस्या देखिएकाले यसमा सूचीकरणमा आउने अन्योल देखा परेको छ । यद्यपि, पछिल्लो समय रोजगारदाताको अत्यधिक चासो देखिएको र सूचीकृतका लागि बुझ्न आउने क्रम पनि बढेको उहाँले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter