बेइजिङमा लगानी सम्मेलन सम्पन्न, लगानीकर्ताको उत्साहपूर्ण सहभागिता

बेइजिङ, फागुन १४ गते । आगामी महीना काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा चिनियाँ लगानीकर्तालाई सहभागी हुन आह्वान गर्दै चीनस्थित नेपाली दूतावासले बेइजिङमा सोमबार लगानी सम्मेलन आयोजना गरेको छ ।

झण्डै १२० भन्दा धेरै लगानीकर्ता, व्यावसायिक प्रतिष्ठान, प्राज्ञिक समुदाय तथा अन्यको उपस्थिति रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपाली दूतावासका मिनिस्टर सुशिलकुमार लम्साल लगायतले चिनियाँ लगानीकर्ता एवं व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्दै लगानीको सुरक्षा र लगानीकर्तालाई सहजीकरण गर्न नेपाल सरकार सबै प्रकारले तत्पर रहेको बताउनुभएको छ ।

सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा अहिले स्थिर र बलियो सरकार रहेको भन्दै लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने उत्तम समय भएको धारणा व्यक्त गर्नुभयो ।

“लगानीको सुरक्षा, लगानीमैत्री कानूनको व्यवस्था तथा प्रतिफल लैजान पाउने जस्ता विषयमा सरकारले स्पष्ट व्यवस्था गरेको छ । लगानीकर्ताले नेपालमा व्यवसाय गर्दा अब कुनै असहज वातावरण भोग्नुपर्दैन”, चिनियाँ लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गर्दै अधिकारीले भन्नुभयो ।

अधिकारीले चिनियाँ लगानीकर्तालाई नेपाल सरकारले कम्पनी ऐन, विषेश आर्थिक क्षेत्र तथा अन्य केही कानूनहरु संशोधन गरिसकेको तथा अन्य केही कानूनहरु संशोधन गर्ने चरणमा भएको बताउँदै सबै कानूनहरु लगानी प्रर्वद्धनमा सहयोगी रहनेमा आश्वस्त तुल्याउनुभयो ।

कृषि, बैंकिङ, शिक्षा, स्वास्थ्य, पर्यटन तथा खनिजलगायतका क्षेत्रमा लगानीको प्रतिफल उच्च रहेको बताउँदै अधिकारीले लगानीकर्तालाई उनीहरुको लगानी सुरक्षा र व्यवसायमा सहजीकरण गर्न सबै प्रकारको सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।

“तपाईहरुले लगानीमात्र गर्नुहुने छैन, बरु नेपालको समृद्धिको मार्गमा सहायता गर्नुहुनेछ र आफ्नो लगानीवापत केही नाफा पनि प्राप्त गर्नुहुनेछ । तसर्थ, चिनियाँ लगानीकर्तालाई आगामी महीना नेपालमा हुने लगानी सम्मेलनमा सहभागी बन्न र नेपालमा लगानी गर्न तत्पर रहन आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

कार्यक्रममा राजदूत पौड्यालले नेपालमा बैदेशिक लगानी प्रवद्र्धनका लागि अर्को महीना लगानी सम्मेलन गर्न लागिएको बताउनुभयो । नेपालमा राजनीति स्थिरता रहेको र राजनीतिक समस्याहरु प्रजातान्त्रिक तबरले सबै समस्या हल गरेको जानकारी दिँदै राजदूत पौड्यालले नेपालमा लगानीका लागि निर्णय गर्ने यो सबैभन्दा सही समय हो भन्नुभयो ।

उक्त कार्यक्रममा विभिन्न व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरुले नेपालमा लगानीका अवसर, चुनौती, सरकारी तहबाट हुने सहजीकरण, कानूनी व्यवस्था लगायतका पक्षमा चासो व्यक्त गरेका थिए । उपस्थित लगानीकर्ता तथा प्राज्ञिक समुदायले चीनमा आयोजना गरिएको यस प्रकारको पूर्वतयारीको प्रशंसा गर्दै नेपालमा ठूलो मात्रामा चिनियाँ लगानी हुने बताएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter