• Friday, May 02, 2025

प्रदेश सरकारले लगानीे सम्मेलन गर्ने

हेटौँडा, चैत २५ गते । सङ्घीय सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेको एक महीनाभित्रै प्रदेश नं ३ सरकारले पनि देशभित्रकै लगानीकर्तालाई आकर्षित गर्न सोही प्रकृतिको कार्यक्रम गर्ने भएको छ ।

लगानीकर्तालाई प्रदेशका विभिन्न क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने भन्दै सरकारले निजी क्षेत्रका व्यवसायीलाई भेला पारेर लगानीका लागि अनुरोध गर्ने भएको हो । एक सय देखि १५० सम्भावित लगानीकर्ता तथा विज्ञलगायत दुई सयको सहभागितामा आगामी वैशाख ६ र ७ गते चितवनमा प्रदेशस्तरीय सम्मेलन गरिने मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

पाँच खम्बे नीतिलाई प्राथमिकतामा राखेर लगानीका बाटो खोलिने उद्देश्यसहित निजी क्षेत्रसँग वृहत छलफल हुनलागेको प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले बताउनुभयो । आयोगको आधार पत्रले निर्दिष्ट गरेका तथा अध्ययनमार्फत पहिचान भएका आधारमा रहेर लगानीकर्तालाई अनुरोध गरिने उहाँको भनाइ छ ।

देशका लगानीकर्तालाई प्रदेशमा लगानीका लागि प्रेरित गर्ने आधार तय भएको प्रदेशसभा सदस्य बस्नेतले बताउनुभयो । आधार पत्रमा उल्लेख भएअनुसार प्रदेशको विकास र समृद्धिका लागि निजी क्षेत्रलाई सहभागी गराउन लागिएको हो । सम्मेलनपछि लगानीकर्ता प्रदेशको पर्यटन, कृषि, उद्योग लगायतको क्षेत्रमा लगानीका लागि आकर्षित हुने योजना आयोगको अनुमान छ ।

संघीय सरकारको विसं २०२० सम्ममा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न पनि यही प्रदेशको मुख्य योगदान रहने जानकार बताउँछन् । विश्व सम्पदा सूचीमा समावेश १० सम्पदामध्ये ८ वटा यही प्रदेशमा रहनु तथा लाङटाङ राष्ट्रिय निकुञ्ज, पर्सा राष्टिय« निकुञ्ज(कतिपय क्षेत्र) शिवपुरी राष्ट्रिय निकुञ्ज, गौरीशङ्कर संरक्षण क्षेत्र जस्ता महत्वपूर्ण वन सम्पदा पनि यही प्रदेशभित्र हुनु, साहासिक जलमार्गमा रुचि राख्ने पर्यटकका लागि त्रिशूली, सुनकोशी, भोटेकोशी जस्ता नदी हुनु , हिमाल आरोहणका लागि लाङटाङ, गणेश हिमाल, रोलवालिङ जस्ता हिमाल हुनु आदि पर्यटक भित्र्याउने आधार भएको पर्यटन क्षेत्रका जानकार बताउछन् ।

प्रदेश नं ३ फलफूल उत्पादन, जडीबुटी तथा पशुपालनका दृष्टिले पनि निकै नै महत्वपूर्ण मानिन्छ । त्यसैले प्रदेशको कृषिक्षेत्र पनि लगानीका लागि उपयुक्त क्षेत्र रहेको कृषि क्षेत्रका अगुवा बताउँछन् । तथ्याङ्क अनुसार देशका ११ आंैद्योगिक क्षेत्रमध्ये प्रदेश नं ३ मा चारवटा औद्योगिक क्षेत्र छन् । बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, भक्तपुर औद्योगिक क्षेत्र र हेटौंडा औद्योगिक क्षेत्रमा देशमा भएका बहुराष्ट्रिय उद्योगहरु मध्ये ८० प्रतिशत भन्दा बढी उद्योगहरु यहाँ छन् ।

साथै औद्योगिक उत्पादनको अभिबृद्धि प्रदेशको समृद्धि भन्ने मुलनारा सहित प्रदेश सरकार र नीति तथा योजना आयोग लागि परेको अवस्थामा लगानीकर्ताहरुले सरकारको दरिलो साथ पाउने बताइएको छ । आयोगका अनुसार प्रदेश ३ मा प्रसस्त लगानीका अवसरहरु छन् । विगतमा सरकार र नीजि क्षेत्रको समेत कमजोरीका कारण लगानीको सुरक्षा नहुदा स्वदेशी लगानीकर्ताहरु बैदेशिक क्षेत्रमा लगानी गर्न रुचाउने परिपाटी थियो । सम्मेलन मार्फत सरकारका वा नीजि क्षेत्रका कमीकमजोरीहरु पत्ता लगाउने र तिनलाई सुधार गर्ने सरकारको रणनीति रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter