साझाको ‘इ–टिकेटिङ’ मा यात्रु आकर्षित

काठमाडौँ, चैत २६ गते । साझा यातायातले शुरु गरेको ‘इ–टिकेटिङ’ प्रयोग गर्न चाहने यात्रुको सङ्ख्या बढिरहेको छ । ‘इ–टिकेटिङ’ बुझेका यात्रु सो सेवाप्रति आकर्षित भइरहेको साझाले जनाएको छ । परीक्षणका रूपमा साझाले दुई साता पहिले इ–टिकेटिङ शुरु गरेको थियो । भाडाका लागि दैनिक रकम तिर्नुका साटो कार्ड खरीद गरेर भाडा तिर्न सजिलो हुने साझाले जनाएको छ । परीक्षणका लागि पुल्चोकस्थित कार्यालय वा बसका सहचालक लगायतका कर्मचारीमार्फत साझाले कार्डको बिक्री गरिरहेको प्रबन्धक महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो ।

इ–टिकेटिङ यात्रुका लागि नयाँ भएकाले अहिलेसम्म उनीहरुमा अन्योल रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कतिपय यात्रुले सबै बसमा लागू होस् भन्ने चाहेका छन् । उहाँले भन्नुभयो, “कार्ड किनेपछि साझाको मात्रै नभएर अरू बसहरुमा समेत लागू हुँदा यात्रुलाई समेत सजिलो हुन्छ ।”

साझा यातायातले सार्वजनिक यातायातका क्षेत्रमा नयाँ नयाँ सुविधा भित्र्याएको छ । नयाँ सुविधाकै रुपमा ‘इ–टिकेटिङ’ रहेको प्रबन्धक पाण्डेयले बताउनुभयो । साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । विसं २०१९ मा बस सेवा शुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो ।

विभिन्न समस्याका कारण दुई दशकसम्म साझाको यातायात सेवा ठप्प भयो । विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरीद गरेर पुनः सेवा सञ्चालन गरेको थियो । पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बसहरु अहिले काठमाडौँ उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ ।

साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरीद गरेर सेवा विस्तार गरिरहेको छ । साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा ल्याएको छ ।

साझाले काठमाडौँदेखि बाग्लुङ र काठमाडौँदेखि कुश्मासम्मको लामो दूरीका दुई–दुई बससमेत सञ्चालन गरिरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter