सबै नेपालीलाई बैंक खाता अभियान : वित्तीय पहुँचको आधार; ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, वृद्धभत्ता बढाइने – प्रम

काठमाडौँ, वैशाख १ गते । आज विक्रम संवत् २०७६ को पहिलो दिन । आम नेपाली नयाँ वर्षको स्वागतमा रमाइरहेका छन् । चैत–वैशाख, वसन्त ऋतु अर्थात् बोटबिरुवामा समेत नयाँ कोपिला लाग्ने मौसम ।

यही अवसरमा सरकारले पनि आजैदेखि नयाँ अभियान शुरु गरेको छ । सरकारले नयाँ वर्ष पहिलो दिन नै देशैभर ‘खोलौँ बैंक खाता’ अभियान शुरु गरेको हो । ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान शुरु गरिएको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा नै सबै नेपाली नागरिकको बैंक खाता खोल्ने अभियान नै चलाउने कार्यक्रम समावेश गरेको छ । सोही कार्यक्रमलाई सफल बनाउने लक्ष्यका साथ आजदेखि सबै नेपालीको बैंक खाता खोल्ने अभियान शुरु भएको हो । वित्तीय रुपमा नेपाली नागरिकलाई सबल, सक्षम एवम् जागरुक बनाउने र सबै आर्थिक कारोवार बैंक खातामार्फत गर्ने गरी अभियान शुरु गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय साक्षरतालाई जोड दिँदै सबै नेपाली यस अभियानमा सहभागी हुन आग्रह गर्नुभयो । प्रधानमन्त्रीको शब्दमा ‘पहिले पहिले थैलीका दिन थिए । अब चेकका दिन आए ।’ यस्तै अर्थमन्त्री डा खतिवडाले पनि सबै नेपालीको बैंक खाताले वित्तीय पुहँच स्थापित हुने बताउनुभयो । सबै नेपालीलाई सरल रुपमा वित्तीय पहुँच कायम गर्ने लक्ष्यका साथ २८ वटै ‘क’ वर्गका वाणिज्य बैंकले बैंक खाता खोल्ने गरी व्यवस्था मिलाइएको छ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकले सबै नेपालीलाई बैंक खाता खोल्नका लागि सहजीकरण गर्नेछ । सरकारको आग्रहअनुसार नै बैंकले नयाँ खाता खोल्नेलाई रु एक सय सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराउनेछ ।

सो अभियानअन्तर्गत बैंक खाता खोल्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । बरु बैंकले नै त्यस्ता खातावालालाई रु एक सय उपलब्ध गराउनेछ । शहरी क्षेत्रमा विशेषगरी रोजगारी तथा अध्ययन, व्यापार–व्यवसायमा संलग्नले अनिवार्य रुपमा बैंक खाता खोलेका छन् । एकै व्यक्तिको पनि दुईभन्दा बढी बैंक खाता छन् । तथ्याङ्क विभागका अनुसार हाल नेपालीको जनसङ्ख्या करीब दुई करोड ९० लाख छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थामा दुई करोड ६८ लाख खाता खुलेका छन् । यस आधारमा हेर्दा कूल जनसङ्ख्याको थोरैको मात्र बैंक खाता नभएको जस्तो देखिन्छ । तर यर्थाथ भने फरक छ । एकै व्यक्तिका धेरै बैंक खाता छन् । ग्रामीण तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा बैंक खाता खोल्नुपर्छ भन्ने चेतनासमेत पुगेको छैन ।

बैंक खाता खोल्न रहेको झन्झटिलो प्रक्रियालाई केन्द्रीय बैंकले सहजीकरण गरेको छ । राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीका अनुसार बैंक खाता खोल्नका लागि सहजीकरण गर्ने गरी बैंक तथा वित्तीय संस्थालाई थप सहजीकरण गर्दै नयाँ कार्यक्रम शुरु गरिएको छ ।

निजी क्षेत्रका वाणिज्य बैंकहरुले पनि बैंक खाता खोल्ने सरकारको अभियानमा साथ दिने गरी आवश्यक प्राक्रिया अगाडि बढाएका छन् । एनआइसिएशिया बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, एनसिसी बैंकले विभिन्न नाम दिएर खाता खोल्ने अभियान यसअघि नै शुरु गरिसकेका थिए ।

नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार वित्तीय रुपमा सबै नेपाली नागरिकलाई जागरुक बनाउँदै बैंकिङ प्रणालीमा ल्याउन बैंक खाता अभियान महत्वपूर्ण कार्यक्रम हो । सो कार्यक्रममा २८ वटै वाणिज्य बैंक सहभागी छन् । खाता खोल्नका लागि सरल र सहज प्रक्रिया मिलाइएको ढुङ्गानाको भनाइ छ ।

एनआइसिएशियाले त सोही अभियान सँगै ‘एक नेपाली एक डिम्याट खाता’ कार्यक्रमअगाडि बढाएको छ । सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सबै नेपालीलाई जलविद्युत् आयोजनाको शेयर उपलब्ध गराउने निर्णय गरेकाले हितग्राही खाता जरुरी रहेको छ ।

नयाँ खाताका लागि नागरिकताको प्रमाणपत्र, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये आफूसँग जुन उपलब्ध छ, त्यही लिएर बैंकका शाखामा जानुपर्नेछ । यस्तै स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिस वा पहिचानपत्रबाट पनि सजिलै बैंक खाता खोल्न सकिनेछ ।

अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७१७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । चालू आवको अन्त्यसम्म सकेसम्म सबै स्थानीय तहमा बैंकका शाखा पु¥याउने सरकारको तयारी छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७५ को माघसम्म कूल ७११ स्थानीय तहमा बैंकका शाखा पुगेका थिए ।

ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, वृद्धभत्ता बढाइने – प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता¬’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नयाँ वर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रुपमा मनाइएको बताउनुभयो । ज्येष्ठ नागरिक बीमाका साथ ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ नाराका साथ यो अभियान थालिएको हो ।

यसअघि सरकारले श्रम क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको थियो भने सामाजिक सुरक्षाका लागि आजको अभियान नयाँ फड्को हुने ठानिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले सो अभियान शुरु गरेको हो । कार्यक्रममा ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गरिको हो । सो बीमको नेपाल सरकारले प्रिमियम तिर्नेछ ।
¬
‘थैलीका दिन गए’

प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो नयाँ युगको शुरुवात भएको छ । अब नेपालमा बैंक खाता नहुने र खातामा रकम नहुने नागरिक हुने छैन । यसले सामाजिक सुरक्षामा एक प्रकारका क्रान्ति ल्याएको छ ।

नेपाल हरेक दिन एक कदम अगाडि जानेछ । हामी गाँस, बास, कपाल, ज्ञान र मानसम्मान र सुरक्षाको सुनिश्चितता दिनेछौँ । अब थैलीका दिन गए, चेकका दिन आए । थैलीमा राख्नुपर्ने कार्ड र चेकबुक राख्दा हुन्छ ।”

आमा बुबालाई खाना खुवाउँदा कति नाफा हुन्छ भनेर हिसाबले गर्न नहुने भन्दै उहाँले पहिला पहिला रोगी र बुढाबुढीलाई बीमा नगर्ने नीति हुनु गलत भएको भन्दै बिरामी र अशक्त हुन्छ भनेरै स्वास्थ्य बीमा गरिनुपर्छ भन्नेमा सरकारले स्पष्ट सोचका साथ अगाडि बढेको जनाउनुभयो ।

उहाँले प्राकृतिक कारणले हुने बिरामी बाहेक केही वर्षभित्र नेपालीलाई आरोग्य र स्वस्थ्य नेपालमा रुपान्तरण गर्न लागि पर्ने बताउनुभयो । “दुई झरी पानीले भिज्दा पनि केही नहुने वैँशका मान्छेलाई बीमाको त्यति आवश्यक छैन तर लौरो टेकेर हिँड्नेलाई बीमा र बैंक अत्यावश्यक छ ।

मानवअधिकारको नगरा पिट्ने यो देख्दैनन् । मानवअधिकारको मापदन गर्न फेद टुप्पो नभएको फित्ता लिएर हिँडिरहेका छन् । मानव अधिकारको उच्च आधार मानवीय र सामाजिक भावना हो । सरकार यसमा स्पष्ट छ । हामी मानिस जन्मेदेखि मृत्युदेखिका आवश्यक कुरा उपलब्ध गराउन लाग्नेछौँ ।”

वृद्धभत्ता बढाउने घोषणा

अबको सम्पूर्ण काम आधुनिक नेपाल निर्माणतर्फको यात्रामा केन्द्रित हुने भन्दै कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्यका क्षेत्रमा अत्यन्त गतिका साथ काम भइरहेको जनाउँदै उहाँले भन्नुभयो,“यो सरकार यतिमा वा उतिमा ढालिन्छ भन्नेहरुले बुढाबुढीका नजिकमा गएर त्यसो नभन्न र भनिएमा लौरो खानुपर्ला ।” सरकारको वृद्धभत्ताले मानिसलाई श्वाश जगाएकाले यसले मनोवैज्ञानिकरुपमा बा, आमाको आयु बढाएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने घोषणा गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म वृद्धभत्ता दिने सङ्कल्प गरेको थियो । उहाँले नेपालीको मूर्छित सपनालाई ब्युँझाइने उल्लेख गर्दै केही गर्न नसक्नेलाई सरकारले बचाउने र मागेर खान नपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भर्ना अभियान र साक्षरता अभियानलाई सफल बनाएर दुनियाँलाई नेपाल पठित र विद्वानहरुको देश रहेको बनाउन आफू लागिरहेको उल्लेख गर्दै नेपालीका स्रोत र साधनको गरीबी नभएकाले मुलुकमा तीव्र विकास हुने जनाउनुभयो ।

उहाँले भन्नुभयो,“राष्ट्रलाई सामाजिक न्यायसहितको शान्तिपूर्ण, लोकतान्त्रिक, समृद्ध र सुसंस्कृत समाज बनाइनेछ । यसबाट नेपाली जनताले सुखी हुनेछन् । नयाँ वर्षमा म सबै ज्येष्ठ नागरिक र सबै नेपालीलाई सु–स्वास्थ्यको कामना गर्दर्छु । हामी सबै राष्ट्र निर्माणको अभियानमा अगाडि बढौँ ।”

प्रधानमन्त्री ओलीले आफ्ना पिता मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यका माता धनमाया शाक्यलाई बैंक खाता खोलिएको प्रमाणपत्र र निःशुल्क स्वास्थ्य बीमाको कार्ड वितरण गर्नुभएको थियो । सोही अवसरमा प्रधानमन्त्री ओलीले सय वर्षका जमुना गुरुङ, ९४ वर्षीय डा गौरीशङ्करलाल दास, ९२ वर्षीय टेकबहादुर बस्नेत, ८७ वर्षीय भैरव रिसाल, ८६ वर्षीय शोभावती तिमल्सिना ५५ जना ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गनुभयो ।

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्यको अधिकार जीवनको अधिकार भएकाले आधारभूत मानवअधिकारका रुपमा यसलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कुनै पनि नागरिकले पैसाको अभावमा उपचार पाउनबाट वञ्चित हुन नपरोस् भन्नेमा सरकार सचेत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा उहाँहरुप्रतिको सम्मानको परम्परा पनि हो । गुणस्तरीय स्वास्थ्य सेवा दिएर समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामी लाग्नेछौँ ।” जनता र सरकारको प्रत्यक्ष साझेदारीमा हुने यस कार्यक्रमलाई व्यवस्थित बनाउन गुणस्तरीय स्वास्थ्य सेवा विकास गरी नागरिकलाई स्वास्थ्य सेवा दिनु अहिलेको चुनौती हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter