पाँचौँ एबियू मिडिया सम्मेलनः जलवायु परिवर्तन र विपत् पूर्वतयारीबारे छलफल

काठमाडौँ, वैशाख १२ गते । विपत्का समयमा जनतालाई सुरक्षित बनाउन, सूचना प्रदान गर्न र सङ्कटबाट बचाउनका निम्ति एशिया प्रशान्त क्षेत्रमा क्रियाशील रेडियो र टेलिभिजनको पाँचौँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुभारम्भ गर्नुभयो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले प्राकृतिक प्रकोप निम्त्याउनका लागि मानव जातिले गरेको व्यवहारका बारेमा रेडियो र टेलिभिजनले सचेत गराउनुपर्ने बताउनुभयो । जलवायु परिवर्तनको कारण र कारक तत्वका विषयमा सम्मेलनले छलफल गर्नुपर्नेमा जोड दिँदै उहाँले जलवायु परिवर्तन आफैँ वा मानव जाति यसका निम्ति कारक छ भन्नेबारेमा खोजी गरिनुपर्ने बताउनुभयो ।

हिमआँधी, हिउँ पग्लने, हिमताल फुट्नेलगायत घटनाबाट बाढी र पहिरो जाँदा तल्ला तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले मानवीय व्यवहारका कारणबाट उत्पन्न हुने प्राकृतिक प्रकोप रोक्नका निम्ति सबैको कोशिश हुनुपर्ने बताउनुभयो । “नेपाल सानो मुलुक भए पनि यहाँ तीन प्रकारका भूगोल रहेको छ, दक्षिण एशियाको झण्डै एक अरब ६० करोड जनसङ्ख्या नेपालको हिमालमा आश्रित रहेका छन्, जब हिमालमा परिवर्तन आउँछ तब सिङ्गो मानव जाति नयाँ सङ्कटमा फस्छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

प्रकृतिको रक्षा गरी विपत् रोक्नुपर्ने र विपत्पछि निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा विश्व जानकार रहेको सन्दर्भ प्रस्तुत गर्दै मन्त्री बाँस्कोटाले विपत्पूर्वका तयारी र मानव जातिका कारण आउने जोखिम रोक्न सञ्चारमाध्यम सक्रिय हुुनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “एशिया प्रशान्त क्षेत्रमा विपत्को चुनौती छ, संसारका झण्डै आधा जनसङ्ख्या यही क्षेत्रमा बसोबास गर्दै आएका छन्, दक्षिण एशियाका विभिन्न आउने विपत्का कारण यस क्षेत्रका सबै मुलुक प्रभावित बन्दै आएका छन् । इण्डोनेशियाको सुनामी, पाकिस्तानको हुद्हुद्लगायत विपत्ति आउँदा नेपालमा मानवीय क्षति भयो । अब विपत्बाट पर्न सक्ने जोखिम न्यूनीकरण गर्न तयारी शुरु गरौँ ।”

मन्त्री बाँस्कोटाले विपत् जोखिम वहन गर्न सक्ने पूर्वाधार निर्माण गर्न सञ्चारमाध्यमले नागरिकलाई सुसूचित गर्नुपर्ने बताउनुभयो । विपत् न्यूनीकरणका लागि मानवीय सोचाइ र कर्ममा व्यापक परिवर्तन ल्याउन सञ्चारमाध्यमले गम्भीरताका साथ सोच्नुपर्ने बेला आइसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विपत् जोखिमका विषयमा रेडियोमार्फत प्रदान गरिने सूचनाबाट दुर्घटना वा सङ्कटबाट मात्र बच्ने होइन, जीवन नै परिवर्तन गर्न सक्छ, रेडियो सुनेर नै मानिसको चेतनामा परिवर्तन आउँछ ।”

नेपालमा उल्लेख्य मात्रामा सञ्चालनमा आएका रेडियो तथा टेलिभिजनलाई प्रकृति, निर्माण, विनाश रोक्न तथा विपत् आउँदा पर्न सक्ने नोक्सानीका एवं विनाशका समयमा अपनाउनुपर्ने सुरक्षाका बारेमा छलफल चलाउन उहाँले आग्रह गर्नुभयो । मन्त्री बाँस्कोटाले सम्मलेनका सहभागीलाई जलवायु परिवर्तनका कारणका बारेमा बहुकोणबाट छलफल गर्न सुझाव दिनुभयो । सम्मेलनबाट आउने निष्कर्षबाट नेपालले लाभ लिन चाहेको बताउँदै उहाँले सम्मेलनका क्रममा जलवायु परिवर्तन र विपत् पूर्वतयारीका सम्बन्धमा महत्वपूर्ण छलफल हुने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार मन्त्रालयको आयोजना तथा एशिया प्यासिफिक ब्रोडकास्टिङ युनियन (एबियू), नेपाल टेलिभिजन र रेडियो नेपालको सहआयोजनामा उक्त सम्मेलन भएको हो । दुईदिने सम्मेलनमा जलवायु र विपत् साक्षरता तथा जलवायु परिवर्तनका असरबाट पर्न सक्ने जोखिमको न्यूनीकरणका लागि गरिनुपर्ने तयारी तथा अख्तियार गर्नुपर्ने नीतिका सम्बन्धमा छलफल हुनेछ ।

सम्मेलनका अवसरमा विभिन्न क्षेत्रको विषयविज्ञको सहभागितामा १० सत्र सञ्चालन हुनेछन् । बिहीबार ‘दिगो विकास लक्ष्य हासिल गर्न जलवायु परिवर्तन र विपत् जोखिम न्यूनीकरणः चुनौती र सफलता’, ‘जलवायु परिवर्तन र समाज’, ‘जलवायु परिवर्तन र बढ्दो विपत् जोखिमः सञ्चार चुनौती र समाधान’लगायत सत्रमा छलफल हुनेछ । शुक्रबार ‘विपत्का समयमा सञ्चारमाध्यमको भूमिकाः नेपाली दृष्टिकोण’, ‘विपत्बारे जनताको तयारीसम्बन्धी जापानी अनुभव’ सत्रमा छलफल गरिने छ । सम्मेलनका क्रममा प्राप्त सुझाव तथा अनुभवबाट विपत् जोखिम न्यूनीकरणका क्षेत्रमा अपनाउनुपर्ने सावधानीका विषय समेटिएको ‘काठमाडौँ एक्सन प्लान’ सार्वजनिक गरिने छ ।

सम्मेलनमा विभिन्न देशका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी, विपत् व्यवस्थापन क्षेत्रमा सक्रिय विज्ञ, नीतिनिर्माण तहमा रही प्रकोप जोखिम न्यूनीकरणका क्षेत्रमा क्रियाशील सरकारी अधिकारी, बौद्धिक तथा प्राज्ञिक क्षेत्रका व्यक्तिलगायतको सहभागिता छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter