तरकारी फलाउन मानव मलमूत्रको प्रयोग

लमजुङ, वैशाख १२ गते । लमजुङको मस्र्याङदी गाउँपालिका ४, ताघ्रिङका किसान मानव मलमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्नबाली उत्पादन गर्न जुटेका छन् । यसअघि गाईभैंसी तथा भेडाबाख्रा, कुखुराको मलमूत्रबाट तरकारी र खाद्यान्य उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेको हो । पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानव मलमूत्रको प्रयोग गरी तरकारी फलाउन किसान जुटेका छन । लमजुङमै पहिलो पटक मस्र्याङदी गाउँपालिका ४ का किसानले मानव मलमूत्रको प्रयोग गरी खेती गर्ने योजना बनाएका हुन् । बजारमा पाइने रसायनिक मलभन्दा मानव मलमूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेको बताएका छन् ।

लमजुङको मस्र्याङदी गाउँपालिका ४, ताघ्रिङमा मानव मलमुत्रलाई तरकारी बालीमा प्रयोग गर्ने तरिका सिक्दै स्थानीय किसान ।

ताघ्रिङकी किसान आशकुमारी गुरुङले गाउँमा पशुचौपाया पाल्न छाडिएको र मल पाउन समस्या भएकाले यसको सट्टामा घरमा तथा सार्वजनिक स्थलमा पिसाव संकलन गरी बालीमा हालिने बताउनुभयो । ‘घरमै पिसाब संकलन गरेर बारीमा हाले उत्पादन बढ्ने र रोग पनि नलाग्ने जानकारी तालिमबाट पाएका छौं’ उहाँले भन्नुभयो, ‘गाईभैंसी पाल्न नसकिएपछि यो तरिका सहज लाग्यो । गाउँलेले सोही अनुसार मान्छेको मलमुत्र जम्मा गरेर खेतीबालीमा हाल्ने योजना बनाएका छौं ।’

स्थानीय किसान बैंशबहादुर गुरुङले मानव मलमूत्रको प्रयोग गरी खेतीपाती गर्ने तयारीमा गाउँले जुटेको बताउनुभयो । वैशाख दोस्रो साताबाट घर–घरमा पिसाब संकलन गरिने र बोटविरुवा तथा तरकारीमा हाल्ने उहाँले बताउनुभयो । वडाध्यक्ष सुमन गुरुङका अनुसार वडा कार्यालयले वडाभित्रका अगुवा किसानलाई कृषि बालीमा मानव मलमूत्र सम्बन्धी ३ दिने तालिम दिइसकेको छ । तालिमपछि किसानले मानव मलमूत्रबाटै तरकारी फलाउने प्रतिवद्धता गरेको उहाँले बताउनुभयो ।

पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको उहाँले बताउनुभयो । ‘मानव मलमूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुने रहेछ । बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयो’ उहाँले भन्नुभयो, ‘हामीले पनि यस्तै गर्न सके किसानलाई सहज हुन्छ भनी तालिम दियौं । किसान हौसिएका छन् ।’ उहाँका अनुसार एउटै परिवारका सदस्यको पिसाब संकलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महिनासम्म राखेर बालीमा हाल्न सकिन्छ । शुरुवातमा स्थानीयले जर्किन वा ड्रममा पिसाव संकलन गर्नेछन् । तरकारी लगाएको ठाउँमा हाल्नेछन् । एक लिटर पिसावमा ३ लिटर पानी हालेर बोटविरुवा र बालीमा राख्न सकिने सकिने उहाँले बताउनुभयो ।

प्रशिक्षक एवं जिल्ला सुआहारा सरसफाई अधिकृत रोशन चौलागाईका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रसायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ । घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिक स्थलमा मावन मलमूत्र संकलन गर्दा राम्रो हुने उहाँले बताउनुभयो । विद्यालयमा संकलन गर्न सकेमा तरकारीमा हाल्न सकिने र विक्री समेत गर्न सकिने भएकाले निकै प्रभावकारी हुने उहाँले बताउनुभयो । ‘हामीले मानव मलमुत्रलाई खेर जाने वस्तु भनेर खासै वास्ता गर्दैनौं । तर, त्यही चिज राम्रो मल हुन्छ भन्ने बुझेका छैनौं’ उहाँले भन्नुभयो, ‘लमजुङका लागि यो नयाँ प्रयोग हो । कतिपय जिल्लामा भने प्रयोगमा आइसकेको छ । धेरैलाई यो कुरा नौलो लाग्न सक्छ ।’ स्याङजा, म्याग्दी, बाग्लुङ लगायत जिल्लामा मानव मलमुत्रबाट राम्रो उत्पादन भइरहेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter