• Thursday, May 01, 2025

छात्रवृत्तिको परीक्षामा आठ सय विद्यार्थी सहभागी

भक्तपुर, वैशाख २८ गते । नयाँ व्यवस्था अनुसार देशभरमै पहिलो पटक मध्यपुरथिमि नगरपालिकाले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन गरेको छ ।

स्थानीय सरकारको मातहतमा प्रदान गरिने छात्रवृत्ति वितरणका लागि नगरपालिकाले आज कौशल्टारस्थित जनप्रेमी माध्यामिक विद्यालयमा छात्रवृत्तिको परीक्षा सञ्चालन गरेको हो । नगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका संयोजक मदनसुन्दर श्रेष्ठले छात्रवृत्तिलाई पारदर्शी रुपमा वितरण गर्ने लक्ष्यले पाँच प्रतिशत विद्यालय आफैले र पाँच प्रतिशत नगरपालिकाले छनोट गरेको विद्यार्थीलाई छात्रवृत्ति दिइनुपर्ने संस्थागत विद्यालयसँग भएको सहमतिअनुसार परीक्षा सञ्चालन गरेको बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “संस्थागत विद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिमध्ये पाँच प्रतिशत छात्रवृत्ति नगरपालिकाले छनोट गर्ने सहमति भएअनुसार परीक्षा सञ्चालन गरेका हांै, अब हाम्रा विद्यार्थीलाई नभइ आवश्यक पर्ने विद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।”

स्थानीयवासीलाई प्राथमिकतामा राखेर द्वन्द्वपीडित, दलित, जनजाति, अपाङ्गता, गरीब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने भएको छ । परीक्षाको नतिजा प्रकाशित भएपछि नगरपालिकाले पठाएको विद्यार्थीलाई सम्बन्धित विद्यालयले छात्रवृत्ति प्रदान गर्नेछ ।

नगरपालिकाले कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न नयाँ व्यवस्था अनुसार परीक्षा सञ्चालन गरेको बताउँदै नगर प्रमुख श्रेष्ठले अब कोही पनि विद्यार्थी मध्यपुरमा आर्थिक अभावले पढाइ छुट्ने अवस्था नआउने बताउनुभयो । छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन गर्ने मध्यपुरथिमि नगरपालिका देशमै पहिलो स्थानीय सरकार भएको उहाँले दाबी गर्नुभयो ।

छात्रवृत्तिका लागि नगरपालिकामा ८१० जना विद्यार्थीले आवेदन दिएको नगर शिक्षा समितिका सदस्य एवं छात्रवृत्ति छनोट समितिका संयोजक सुमन बस्नेतले जानकारी दिनुभयो । शिक्षा ऐनले प्रत्येक संस्थागत विद्यालयले कक्षा विद्यार्थी सङ्ख्याको आधारमा अनिवार्य १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने नियम भए पनि त्यो नियम संस्थागत विद्यालयले पारदर्शी रुपमा पालना नगरेको गुनासो आइरहेको बेलामा यो नगरपालिकाले आफैले छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन गरेको हो ।

छात्रवृत्तिका लागि विद्यार्थीले नगर शिक्षा समितिबाट फाराम लगेर सम्बन्धित वडाको सिफारिसमा आवेदन दिएका थिए । पूर्ण र आंशिक छात्रवृत्तिका लागि लिएको परीक्षाको १० दिनभित्र नजिता सार्वजनिक गरी यहाँका ५१ संस्थागत विद्यालयमा विद्यार्थीको नामावली पठाइने संयोजक बस्नेतले बताउनुभयो ।

हरेक वर्ष नगरपालिको यही प्रक्रियाबाट छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको र नयाँ व्यवस्था अनुसार छात्रवृत्ति प्रदान गर्ने नगरपालिकाको प्रयासलाई संस्थागत विद्यालयको पूर्ण समर्थन रहेको प्याब्सन मध्यपुरथिमि नगर समितिका अध्यक्ष एवं जनप्रेमी माविका प्रिन्सिपल निलेश आचार्यले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter