• Thursday, May 01, 2025

प्रभावकारी नेतृत्व खोज्दै गौतमबुद्ध विमानस्थल

काठमाडौ, वैशाख ३० गते । आम नेपालीमा उत्साह र भरोसा बढाउने गरी अगाडि बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समस्या खडा गर्ने र समयमै काम सम्पन्न हुन नदिने सङ्केत देखा परेका छन् । यसले गर्दा राष्ट्रिय गौरवका आयोजना तोकिएको मितिमा सम्पन्न हुन्छन् भन्ने कुरामा सन्देह उत्पन्न भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि कहिले सामग्रीको आयातमा अवरोध त कहिले बजेट अभावमा ठेकेदारले नै काम छाड्ने अवस्थामा पु¥याइएको छ । अधिकांश राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति प्रभावकारी नभइरहेका बेला आशाको सञ्चार गरेको आयोजनामा किन अवरोध हुन थाल्यो भन्ने आम चासो र जिज्ञासासमेत उत्पन्न भएको छ ।

नेपाल सरकारले आगामी आर्थिक वर्षभित्र सो आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा समावेश गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने खासै ठूलो समस्या नभएको बताएको छ । निर्माण व्यवसायीले काम नै छाड्ने अवस्थामा पुग्नु ठूलो समस्या हो कि होइन भन्ने राससको जिज्ञासामा मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय भन्नुहुन्छ, “यो कुनै समस्या होइन, वार्षिकरुपमा खर्च हुने बजेट खर्च भइसकेको थियो, थप बजेटका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्नमा केही ढिलाइ भएको हो ।”

चालू आवमा सो आयोजनाका लागि रु ५९ करोड विनियोजित थियो र सो रकम खर्च भइसकेको छ । मन्त्रालयले आजै रु ७० करोड रकम आयोजनाका लागि उपलब्ध गराएको जनाएको छ । प्रवक्ता उपाध्याय आयोजनाले माग गरेअनुसारको रकम निकासा भइसकेकाले काममा कुनै समस्या नहुने ठान्नुहुन्छ ।

राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा पहिले सम्पन्न हुने चरणमा रहेको सो विमानस्थल निर्माणमा देखिएको गति र उत्साहले देशभित्र केही हुँदैछ भन्ने विश्वास आम जनमानसमा पैदा भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना निर्देशक प्रदीप अधिकारीको भनाइमा आयोजनाको प्रभावकारी कार्यान्वयनमा समन्वयको कमीले गर्दा बजेटको अभावमा निर्माण व्यवसायीले काम नै छाड्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताउनुहुन्छ ।

प्राधिकरणका आयोजना निर्देशक अधिकारी मन्त्रालयले समयमा निर्णय नगर्दा आयोजनामा बजेट अभाव देखिएकोे मान्नुहुन्छ । यद्यपि मन्त्रालयका उच्च अधिकारी आजै रु ७० करोड आयोजनाका लागि निकासा भएको बताउँछन् । बजेट सकिएकाले तत्काल उपलब्ध गराउन आयोजनाले तीन साता पहिले नै मन्त्रालयसमक्ष माग गरेको थियो ।

मन्त्रालयका उच्चपदस्थ कर्मचारी तत्कालीन मन्त्री रवीन्द्र अधिकारीले आयोजनामा रकम अभाव हुन नदिन आफँै लाग्ने र भुक्तानीमा कुनै समस्या हुन नदिने गरी काम अगाडि बढाउनुभएको स्मरण गर्छन् । पछिल्लो समय आयोजनालाई समन्वय गरिदिने र समस्या फुकाइदिने नेतृत्वको अभाव देखिएको उनीहरुको अनुभव छ ।

केही दिनअघिसम्म विमानस्थलको धावनमार्गमा अन्तिम कालोपत्र भइरहेको थियो । यस्तै ट्याक्सी वे र अन्य भौतिक संरचनाको निर्माण जारी थियो । विद्युतीय उपकरणबाहेक विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत बढी भइसकेको थियो ।

दक्षिण एशियाली पर्यटन पूर्वाधार आयोजनाअन्तर्गत निर्माण भइरहेको सो विमानस्थलको ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग निर्माण भइरहेको छ । आयोजनाको शुरुआती लागत रु छ अर्ब २२ करोड ५१ लाख रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter