पढाइमा प्रोत्साहन गर्न ओखलढुंगामा ‘बुहारी छात्रवृत्ति कार्यक्रम’

ओखलढुंगाका दुईवटा स्थानीय तहले विवाहित छात्राको अध्ययनमा सघाउन छात्रवृत्ति कार्यक्रम ल्याएका छन् । विवाहपछि पढाइ छोड्ने र खर्चका कारण पढाइलाई निरन्तरता दिन नसक्ने छात्रालाई लक्षित गर्दै सुनकोसी र खिजिदेम्बा गाउँपालिकाले ‘बुहारी छात्रवृत्ति कार्यक्रम’ ल्याएका हुन् ।

सुनकोसी गाउँपालिकाले वार्षिक पाँच हजार र खिजिदेम्बा गाउँपालिकाले वार्षिक ६ हजार रुपैयाँको छात्रवृत्ति विवाहित छात्रालाई उपलब्ध गराएका छन् । बालविवाह गरेकाले भने यस्तो छात्रवृत्ति पाउने छैनन् ।

विवाहित महिलालाई माध्यमिक शिक्षा पढ्न प्रतिबुहारी विद्यार्थी वार्षिक पाँच हजार छात्रवृत्ति प्रदान गरिने सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । ‘विवाह गरेपछि पढ्न छाड्ने चलनको अन्त्य गर्दै औपचारिक शिक्षा पूरा गराउने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘खर्च जुटाउन नसकेर विद्यालय जान नसक्ने बुहारी विद्यार्थीलाई यसले समेट्नेछ । तर, छात्रवृत्ति प्राप्त गर्न वैधानिक विवाह भएको हुनुपर्नेछ ।’

एसइईमा उत्कृष्ट विद्यालयलाई सम्मान

खिजिदेम्बा गाउँपालिकाले एसइईमा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक सत्र ०७५ मा एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल गाउँपालिकाका तीन विद्यालयलाई पुरस्कृत गरिएको हो । चण्डेश्वरी मावि रगनीले एक लाख, फूलमती मावि खिजिफलाँटेले ७५ हजार र चण्डेश्वरी मावि चण्डेश्वरीले ५० हजार नगद पुरस्कार पाएको गाउँ शिक्षा समितिका सदस्य कमल न्यौपानेले जानकारी दिए । त्यस्तै, आधारभूत कक्षामा उत्कृष्ट नतिजा ल्याउने नर्मदेश्वर मावि चप्लेटीलाई ६० हजार, कुण्डली मावि खिजिकातीलाई ४० हजार र जनज्योति आधारभूत विद्यालयलाई २० हजार नगद प्रदान गरिएको छ ।

खिजिदेम्बाले दियो १५ बुहारी विद्यार्थीलाई छात्रवृत्ति

खिजिदेम्बा गाउँपालिकाले उच्च शिक्षा हासिल गर्न यस वर्ष गाउँपालिकाभित्र अध्ययनरत १५ जनालाई ‘बुहारी छात्रवृत्ति’ दिएको छ । ‘हाम्रो ठाउँमा अझै पनि पुरातनवादी सोचका कारण विवाह गरेपछि पढ्न जानुहुँदैन भन्ने चलन छ । त्यसलाई निरुत्साहित गर्दै बुहारीहरूलाई उच्च शिक्षामा सहयोग गर्न यो कार्यक्रम ल्याएका हौँ,’ गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले भने । कक्षा ११ र १२ मा अध्ययनरत १५ विवाहित छात्रालाई वार्षिक ६ हजारका दरले छात्रवृत्ति दिइएको रोकाले बताए । गत वर्ष यस्तो छात्रवृत्ति चारजनाले पाएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter