• Friday, May 02, 2025

यसपालिको दशैँ हिले

काठमाडौँ, असोज १६ गते । मनसुन लम्बिँदा यस वर्षको बडादशैँ हिले दशैँ हुने भएको छ । यस वर्षको मनसुन असोज ६ गते सकिए पनि मनसुनी वायुले आकाश छाडेको छैन । “अघिल्लो न्यून चापीय वायु सकिएर घाम लाग्दा अब खुल्छ कि झैँ भएको थियो तर फेरि बादल लाग्न थालेको छ”, मौसमविद् समिर श्रेष्ठले भन्नुभयो, “यतिखेर मनसुनको न्यून चापीय रेखाका कारण भारतको उत्तरप्रदेशमा भारी वर्षा भइरहेको छ, त्यसकै असर नेपालमा बढ्न थालेको छ ।”

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको गुजरात र अरब सागरमा रहेको न्यूनचापीय रेखा डिप्रेसनमा परिवर्तित भएको छ । भारतको उत्तरप्रदेशमा रहेको न्यूनचापीय मौसम प्रणालीको असर नेपालको मध्य र पूर्वी भेगमा परिरहेको छ । यस प्रणालीकै कारण बङ्गालको खाडी र अरब सागर दुवैतिरको जलवाष्पयुक्त वायु तानिएर नेपालतर्फ आउनेक्रम जारी रहेकैले अझै एकसाता वर्षा लम्बिने मौसमविद् श्रेष्ठले बताउनुभयो ।

केही दिनसम्म बदलीको अवस्था नै रहने अवस्था हुनेछ । बढीजसो यसपालिको वर्षाको प्रभाव प्रदेश ३ का साथै गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा कायम रहनेछ । मध्य र पश्चिमका केही भूभागमा भारी वर्षा पनि हुनसक्ने जनाइएको छ ।

‘‘तर दशैँमा आवतजावत गरिरहने सर्वसाधारणले धेरै ठूलो चिन्ता लिनुपर्दैन’’, श्रेष्ठले थप्नुभयो, ‘‘लगातार र ठूलो दर्के पानी पर्दैन, त्यसैले बाढी पहिरोको जोखिम कम छ । तर मनसुन जाँदै गर्दाको बादल भएकाले बिजुली चम्कने र चट्याङ पर्नसक्ने खतरा भने कायमै छ ।’’

असोजभरि नै बादल नेपालको आकाशमा देखिने सम्भावना मौसमविद् औँल्याउँछन् । “यो मनसुनी वायु अन्त्यपछि भने पश्चिमी वायु बलियो हुँदै जानेछ,” श्रेष्ठले थप्नुभयो, “पोस्ट मनसुनको यो अवस्थामा चिसो हावा चल्ने र आकाश खुल्ने वातावरणसँग हिउँद लाग्नेछ ।”

यतिबेला पश्चिमी वायुस्थिर रहेकाले पनि अन्यत्रको मनसुनी वायुको असर नेपालमा लामो समय कायम रहेको अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसोसँगैको वर्षामा जोगिनुपर्छ

नेपालमा मनसुन सुरु हुँदा भारतको केरलाबाट प्रक्रिया सुरु हुन्छ । मनसुन सकिँदा भारतकै राजस्थानबाट प्रक्रिया सुरु हुन्छ । तर त्यसको कुनै छाँट नहुँदा हिले दशैँ हुने पक्का भएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता डा. अर्चना थापाले जानकारी दिनुभयो । “तातो कम हुँदै र चिसो बढ्दै गएका बेला हुने वर्षाले मानिसको स्वास्थ्यमा असर गर्छ,” थापाले भन्नुभयो, “दशैँको यात्रा गर्दा र फरक ठाउँमा जाँदा ध्यान दिनुपर्छ ।”

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter