• Saturday, May 03, 2025

भक्तपुरमा भ्रमण वर्षको तयारी : उत्कृष्ट गन्तव्य छानिए पर्यटक आगमन भने घट्दो

भक्तपुर, पुस ५ गते । सरकारले बीस लाख पर्यटक भित्र्रयाउने महत्वाकांक्षी लक्ष्यसहित घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ दश दिनपछि सुरु हुँदै छ । भक्तपुरमा पनि भ्रमण वर्षका लागि विभिन्न कार्यक्रमको तयारी भइरहेको छ । भक्तपुरले मुख्य–मुख्य गन्तव्यसमेत छनोट गरिसकेको छ । तर, पर्यटकीय पूर्वाधारको कमी, आवश्यक पर्यटकीय सेवासुविधाको अभावलगायत कारणले पर्यटकको आगमन भने घट्न थालेको छ ।

विगतका वर्षमा भन्दा यसवर्ष भक्तपुर आउने पर्यटकको संख्या घटेको हो । भक्तपुरमा विदेशी पर्यटक आउने मुख्य सिजन हरेक वर्षको अक्टोबर र नोभेम्बर महिना हुन् । तर, यस वर्षका नोभेम्बर र अक्टोवरमा भने विगतको तुलनामा पर्यटक आगमनको संख्यामा कमी आएको भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले बताए । चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो पाँच महिनामा १ लाख १४ हजार १ सय ४० जना विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन् । गत वर्ष यही अवधिमा एक लाख १५ हजार एक सय ४५ ले यहाँका सम्पदा, कला र संस्कृतिको अवलोकन गरेका थिए ।

गएको वर्षभन्दा यस वर्ष एक हजार पाँचजना कम पर्यटकले भक्तपुर भ्रमण गरेका नगरप्रमुख प्रजापतिले जानकारी दिए । भक्तपुरमा नगरपालिकाले बाहेक अन्य पर्यटकीय, ऐतिहासिक तथा सम्पदा क्षेत्रमा आउने पर्यटकको तथ्यांक कसैले पनि राखेको छैन । विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर, सिद्धपोखरीलगायत क्षेत्रमा आउने पर्यटकको तथ्यांक मात्रै नगरपालिकाले राख्ने गरेको छ ।

गैरसार्कका पर्यटकको संख्यामा कमी

नगरपालिकाले सञ्चालन गरेको पर्यटन सूचना केन्द्रका अनुसार ०७६ को श्रावणदेखि मंसिर मसान्तसम्म सार्क राष्ट्र र चीनका ४७ हजार दुई सय ८० पर्यटक भक्तपुर आएका छन् । ६६ हजार ८ सय ६० जना गैरसार्क राष्ट्रका नागरिकले भक्तपुर अवलोकन गरेका छन् । विगत वर्षको भन्दा गैरसार्क राष्ट्रका नागरिकको संख्या घटेको छ । नगरपालिकाले साउनदेखि मंसिर मसान्तसम्म १७ करोड ४१ लाख २९ हजार ८ सय ७ रुपैयाँ आम्दानी गरेको छ । त्यसमध्ये महत्वपूर्ण हिस्सा पर्यटन शुल्कले ओगटेको छ ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा गएको वर्षभन्दा २० लाख ७१ हजार २ सय ८५ रुपैयाँ पर्यटन राजस्व कमी भएको नगरप्रमुख प्रजापतिले बताए । नगरपालिकाले गैरपर्यटन राजस्वमा भने वृद्धि भएको जनाएको छ । यहाँ रहेको विश्व सम्पदा सूचीकै चाँगुनारायण मन्दिर, नगरकोट डाँडा, डोलेश्वर मन्दिरलगायत क्षेत्र पनि पर्यटकको बाक्लो आगमन हुने गन्तव्य हुन् । तर, यहाँ कति पर्यटक आउँछन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । भक्तपुर आउने अधिकांश पर्यटक नगरकोट र चाँगुनारायण मन्दिरसमेत पुग्ने गरेका व्यवसायी दाबी गर्छन् ।

यी हुन् भक्तपुरका मुख्य गन्तव्य

भ्रमण वर्ष जिल्ला आयोजक तथा सहजीकरण समितिले दश दिनपछि सुरु हुने भ्रमण वर्षका लागि उत्कृष्ट पर्यटकीय गन्तव्यको सूची तयार पारेको छ । पर्यटकीय आगमन हुने स्थल र तिनको महत्वको प्रचार गरी पर्यटकको संख्या बढाउन उत्कृष्ट गन्तव्यको छनोट गरिएको समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले बताए । समितिले ती गन्तव्यहरूसम्म पुग्न पर्यटकलाई सहज बनाउन र घुमफिरका लागि समेत पूर्वाधार तयार गर्न सरकारसँग माग गरेको छ ।

समितिले भ्रमण वर्षका लागि मुख्य गन्तव्यका रूपमा भक्तपुर दरबार स्क्वायर, नगरकोट सूर्योदयको दृश्यावलोकन, सूर्यविनायक शिव सर्किट, चाँगुनारायण मन्दिर, मुहानपोखरी–नगरकोट पदमार्ग, नगरकोट–जालपादेवी–तेलकोट–त्रिसुलडाँडा–चाँगुनारायण मन्दिर पदमार्ग, सिद्धपोखरी, दुईपोखरी, कमलपोखरी, अनन्तलिंगेश्वर मन्दिर, डोलेश्वर धाम, सुडाल बोजिनी ड्याम्पलगायत क्षेत्रहरूलाई तोकेको छ । समितिले सरोकारवाला, जनप्रतिनिधि र स्थानीयवासीसमेतको परामर्शमा मुख्य पर्यटकीय गन्तव्यहरू निर्धारण गरेको समितिका सदस्य सचिव तथा जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद धितालले बताए । भक्तपुरमा सांस्कृतिक कला र सम्पदाका कारण अध्ययन, अवलोकन र खोज अनुसन्धानको केन्द्रका रूपमा विकास भइरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter