आइतबारदेखि राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता

काठमाडौं, पुस १९ गते । राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन पत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुनेछ । उनान्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेछ ।

उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ । उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

महिला, दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेश गर्नु पर्ने आयोगले जनाएको छ ।

राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । उम्मेदवार मनोनयनपत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जानकारी दिएको छ । राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभाबाट को–को बाहिरिँदै

राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरूमा सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली रहेका छन् । उनीहरूको आगामी फागुन २० गते कार्यकाल सकिनेछ ।

फागुन २० मा दुई वर्षे कार्यकाल पूरा गर्नेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नौ, नेपाली का‌ंग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना सदस्य रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter