प्रदेश ३ को स्थायी राजधानी सङ्घीयताको मर्मअनुसार हुनुपर्नेमा जोड

हेटौँडा, पुस २३ गते । प्रदेश ३ का प्रदेशसभाका सदस्यहरुले प्रदेशको स्थायी राजधानी जनचाहना र सङ्घीयताको मर्मअनुसारको स्थानमा हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रदेशसभाको बुधबार बसेको बैठकमा बोल्दै प्रदेश सभाका सदस्यहरुले प्रदेशको अधिकारक्षेत्र भित्र रहेको विषयमा क्षेत्राधिकारभन्दा बाहिर गएर पार्टीले निर्देशन दिनु संविधानको भावना र मर्म विपरीत भएको बताउनुभयो ।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै प्रदेश सभाका सदस्यहरुले आफ्नो जिल्ला र पायक पर्ने स्थानमा प्रदेश राजधानी हुनुपर्ने जिकिर गर्नु भएको छ ।

प्रतिवेदनमाथिको छलफलमा बोल्दै प्रदेशसभाका सदस्य शशीजङ्ग थापाले भौगोलिकरुपमा र पूर्वाधारहरु पर्याप्त भएको भक्तपुर, प्रदेश राजधानी सबैका लागि पायकपर्ने दाबी गर्नुभयो । प्रदेशसभाका सदस्य बलराम पौडेलले विगतमा क्षेत्रीय सदरमुकामसमेत रहेको र पूर्वाधारसमेत भएकाले हेटौँडा नै प्रदेश राजधानी उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजमार्गको सञ्जाल भएको, भारतीय सीमा नजिक रहेको र प्रदेश २ सँग जोडिएकाले प्रदेश राजधानी हेटौँडा नै उपयुक्त छ ।’

प्रदेशसभाका सदस्य रत्नप्रसाद ढकालले प्रदेश राजधानी सबै कुराले काभ्रे जिल्ला उपयुक्त भएको दाबी गर्दै प्रदेशको नाम पहिचानका आधारमा नेवाः ताम्सालिङ हुनुपर्छ, भन्नुभयो ।

प्रदेशसभाका सदस्य विशाल खड्काले सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको धारणा राख्दै प्रदेश राजधानी प्रतिवेदनमा भएका विषयलाई अध्ययन गरेर निर्णय गर्न आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य नरोत्तम वैद्यले राजधानीका सम्बन्धमा प्रदेशका मुख्यमन्त्रीले आफूले निर्णय गर्न नसकेपछि माथिको मुख ताकेको बताउँदै प्रदेशको राजधानी भक्तपुर हुनुपर्ने र नाम बागमती स्वीकार्य नहुने बताउनुभयो ।

यस्तै, प्रदेशसभाका सदस्य पुकार महर्जनले प्रदेश राजधानीको सम्बन्धमा नेकपा सचिवालयले दिएको निर्देशनप्रति आपत्ति जनाउँदै पहिचानमाथि प्रहार गर्ने काम भएको छ, भन्नुभयो ।

प्रदेशसभाका सदस्य हीरानाथ खतिवडाले जनताले पहिचान खाजेको हो प्रदेशको नाम नदी र स्थानको आधारमा तोक्ने होइन भन्दै नेपाल एकीकरणको सुरु नुवाकोटबाट भएकोले प्रदेश राजधानी नुवाकोटलाई बनाउनुपर्ने जिकिर गर्नुभयो ।

राजधानी सम्भाव्यता अध्ययन समितिले प्राथमिकताको आधारमा राजधानीको सिफारिश नगरेकोमा आपत्ति जनाउँदै प्रदेशसभाका सदस्य प्रतिमा श्रेष्ठले जनतालाई पायकपर्ने र आर्थिक सामथ्र्यताका आधारमा राजधानी तोक्नुपर्ने धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्य विजया केसी श्रेष्ठले नेताको निर्देशनले प्रदेशको स्वायत्ततामाथि प्रहार भएको भन्दै प्रदेशको राजधानी हेटौँडानै उपयुक्त हुने बताउनुभयो ।

यस्तै प्रदेशसभाका सदस्य बसुन्धरा हुमागाईंले नारायण गोपालको मुटुमाथि ढुङ्गा राखी गीतको स्मरण गर्दै प्रतिवेदनका आधारमा प्रदेश राजधानी तोक्नुपर्ने र सबैभन्दा उपयुक्त काभ्रे हुने बताउनुभयो ।

प्रदेशसभाका सदस्य गीता वाग्लेले घरको डिलमा राजधानी माग गर्नु उचित नभएको र हेटौँडा नै ठीक भएको भन्दै माथिबाट निर्णय भएकाले अब मुखको तितो फाल्नुमात्र हो, भन्नुभयो । प्रदेशसभा बैठकमा पहिलो पटक बोल्नु भएका कृष्णलाल भँडेलले प्रदेश राजधानी भौगोलिक रुपमा भक्तपुर र नाम चाँगुनारायण उपयुक्त हो भन्दै प्रदेश राजधानी टुङ्गो लगाउने प्रदेशसभाको अधिकार भएको बताउनुभयो ।

छलफलमा प्रदेशसभाका सदस्य मीना ज्ञवाली, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, विजय सुवेदी, शान्तिप्रसाद पौडेल, रीता माझी, चन्द्र लामा, गोमा भुर्तेल र रमा आलेमगरलगायतले प्रदेश राजधानीको प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाथिको छलफल बिहीबार पनि चल्ने भएको छ । बिहीबार नै प्रदेशको राजधानी र नामको प्रस्ताव माग गर्दै सूचना जारी गर्ने तालिका तय गरिएको छ । प्रदेश सभाको अर्को बैठक बिहीबार दिउँसो ३ बजे बस्ने भएको छ ।

नेकपा संसदीय दलको बैठक बिहीबार बस्दै

प्रदेशको राजधानी र नाममा नेकपा सचिवालयले दिएको निर्देशन र निर्णयमाथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक फरक मत आएपछि स्थगित भएको बैठक बिहीबार विहान बस्ने भएको छ । पार्टी नेतृत्वले दोश्रो पटक पनि प्रदेश राजधानी हेटौँडा र नाम बागमती रहने गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि बैठक बोलाइएको हो ।

नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले बिहीबार विहान ८ बजेका लागि संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभयो । शुक्रबारबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक फरक मत व्यक्त भएर कुनै निर्णयमा पुग्न नसकेपछि आइतबार बैठक स्थगित गरी छलफल गर्न अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु काठमाडौँ जानु भएको थियो ।

प्रदेशसभामा दुई तिहाइ रहेको नेकपा संसदीय दलको बैठकमा फरक फरक स्थायी राजधानी हेटौँडा अपायक हुने भन्दै आपत्ति जनाएपछि प्रदेशको राजधानी र नाम टुङ्गो लगाउन नसकेको हो ।

नेकपाको सचिवालय बैठकले प्रदेशको राजधानी हेटौँडा र नाम बागमती प्रदेश राख्न प्रदेश पार्टी कमिटी र संसदीय दललाई दिएको निर्देशन स्वीकार्य नभएको भन्दै प्रदेशसभाको बैठक, संसदीय दलको बैठक र सार्वजनिक रुपमा नेकपाका प्रदेशसभाका सदस्यहरुले बोल्दै आउनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter