धोबीखोलामा ज्येष्ठ नागरिक लक्षित ‘बाजेबज्यै पार्क’ निर्माण हुने

काठमाडौँ, पुस २८ गते । शहरी विकास मन्त्रालयले काठमाडौँको धोबीखोला किनारमा रहेको खाली जग्गामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण गर्ने भएको छ ।

सो मन्त्रालयकोसमेत कार्यभार सम्हानुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पदबहाली गर्दै चालू आवभित्रै पार्क निर्माणको प्रक्रिया अघि बढाउनेसम्बन्धी फाइल स्वीकृत गर्नुभयो ।

नेपालमा यसप्रकारको पार्क पहिलो पटक बन्न लागेको हो । सो पार्क ज्ञान केन्द्रका रुपमा रहनेछ । मन्त्री बाँस्कोटाले भन्नुभयो, “कोही सुकुल वा कुनै सीप प्रयोग गरेर बस्न सक्छ, कोहीसँग अरु कुनै ज्ञान हुनुसक्छ, त्यो सीप र ज्ञान बाँड्ने थलो यही हुनेछ ।”

नेपालमा अहिलेसम्म ज्येष्ठ नागरिकका लागि छुट्टै विश्रामस्थल नभएकाले ‘बाजेबज्यै पार्क’ निर्माण गर्न लागिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “निर्माणका लागि हामीसँग जग्गा छ, अबका केही दिनमै निर्माण प्रक्रिया अघि बढाइनेछ ।” शहरी क्षेत्रमा आमाबाबु दुवै व्यस्त हुँदा सन्तानको हेरचाहका लागि हेरचाह केन्द्र निर्माण गर्ने योजना रहेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

युवायुवतीलाई मनोरञ्जनका लागि युवा लक्षित पार्क निर्माण गरिने उहाँले जानकारी दिनुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा युवा वर्गलाई नाँच्ने, गाउने गर्दै रमाइलो गर्न पार्क निर्माण गर्न लागिएको बताउनुभयो । खुला रङ्गमञ्चका रुपमा निर्माण हुने पार्कमा युवा एकअर्कामा अन्तरघुलित हुने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, “अहिले युवा एकअर्कालाई फेसबुक र ट्वीटरमार्फत चिने पनि त्यो मान्छेको स्वर कस्तो छ समेत थाहा छैन त्यो हटाउन पनि यो पार्कको महत्व छ ।” मन्त्री बाँस्कोटाले विभिन्न जिल्लामा एकीकृत बस्ती निर्माणका लागि प्राप्त अध्ययन प्रतिवेदन पनि स्वीकृत गर्नुभयो ।

उहाँले विकासका लागि लाग्ने लागत कम गर्न एकीकृत बस्तीको महत्व रहेको जनाउनुभयो । उहाँले लक्षित वर्गका लागि विभिन्न स्थानमा पार्क निर्माण गरिने बताउनुभयो । सो अवसरमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायका कर्मचारी सहभागी हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter