सरकारले शुरू गर्‍यो सर्जिकल पसलको दैनिक अनुगमन, धमाधम जरिबान ; शिक्षा मन्त्रालय भन्छ : एसइई परीक्षा चैत ६ गतेदेखि नै हुन्छ

काठमाडौँ, फागुन २३ गते । कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल पसल, फार्मेसी तथा मागको दैनिक अनुगमन गर्ने गरेको छ ।

कोरोना भाइरसका कारण मास्क, स्यानिटाइजर एवं औषधिजन्य सामग्रीको कृत्रिम अभाव भएको उपभोक्ताको उजुरीपछि बजार अनुगमनलाई तीव्रता दिइएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म चारवटा सर्जिकल पसललाई ठूलो मात्रामा जरिवाना तोकिएको छ ।

अनुगमनका क्रममा अनुचित व्यापारिक कारोवार (बढी मूल्यमा सामान बिक्री वितरण) गरेको भेटिएपछि उनीहरुलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८ (ङ) को कसुरमा ३९ (१) (ख) अनुसार कारवाही गरिएको छ । बिहीबार बजार अनुगमनका क्रममा बढी मूल्यमा दैनिक उपभोग्य सामग्रीको बिक्री गरेको भेटेपछि वीर अस्पतालमा रहेको आयुष फार्मेसी र क्षेत्रपाटीमा रहेको आइज्याक फार्मेसीलाई रु दुई दुई लाख जरिवाना गरिएको छ ।

त्यस्तै मङ्गलबार र बुधबारको बजार अनुगमनका क्रममा कमलपोखरीस्थित सिने स्टारको बिग मुभिजलाई रु दुई लाख ५० हजार र क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख जरिवाना गरिएको छ । काठमाडौँको त्रिपुरेश्वर, क्षेत्रपाटी, कमलपोखरी, मण्डिखाटारलगायत क्षेत्रको बजार अनुगमनका क्रममा खरिद बिल नभेटिएको भन्दै अधिकांश फार्मेसी पसललाई रु पाँच हजारदेखि रु ५० हजारसम्म जरिवाना तोकिएको उहाँले बताउनुभयो ।

विभागले बजार अनुगमनका क्रममा खरिद बिल देखाउन नसकेको भन्दै विभिन्न सर्जिकल तथा फार्मेसी पसललाई जरिवाना तोकेको छ । त्रिपुरेश्वरको गौतम इन्टरनेशनल र दृष्टि सर्जिकल हाउसलाई रु १०-१० हजार, भिजन मार्ट प्रालिलाई रु ५० हजार र मेडिहेल्थ सर्जिकल र स्वस्तिक सर्जिकल सप्लायर्सलाई रु २०-२० हजार जरिवाना गरिएको छ ।

त्यस्तै क्षेत्रपाटीको सचिन ट्रेड कन्सर्नलाई रु १० हजार, मण्डिखाटारको खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल सप्लायर्स र फिस्टेल सर्जिकल हाउसलाई रु पाँच-पाँच हजार जरिवाना तोकिएको छ ।

त्यस्तै बिहीबार क्षेत्रपाटीमा रहेको एसजे मेडिको सर्जिकलाई २० हजार र महाबौद्धमा रहेको आरएफ फार्मेसीलाई १० हजार जरिवाना गरिएको छ । दुवै पसलमा अनुगमनका क्रममा खरिद बिल नभेटिएपछि कारवाही गरिएको हो । “उपभोक्ताको उजुरी तथा विभिन्न मिडियामा मास्कमा कालोबजारीलगायत समाचार प्रकाशन तथा प्रसारण भएपछि बजार अनुगमनलाई तीव्रता दिइएको हो”, महानिर्देशक सुवेदीले भन्नुभयो, “मास्क लुकाउने र बढी मूल्यमा बेचेको पाइए कारवाही र जरिवाना दुवै गर्छौं ।”

सप्लायर्सले मास्क, स्यानेटाइजरलगायत सामग्रीको भण्डार गरेर (लुकाएर) राख्ने र बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएको विभागले जनाएको छ । कारवाही गरेका सबै सप्लायर्सहरुलाई विभागले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गरेको महानिर्देशक सुवेदीले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालय भन्छ : एसइई परीक्षा चैत ६ गतेदेखि नै हुन्छ

शिक्षा मन्त्रालयले एसइई परीक्षा पूर्वनिर्धारित समयमा नै हुने स्पष्ट पारेको छ । मन्त्रालयले विज्ञप्ती निकालि एसइई परीक्षा आउँदो चैत ६ गतेदेखि नै सुरु हुने जनाएको हो ।

मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई उल्लेख गर्दै केही संचारमाध्यम र सामाजिक सञ्जालहरुमा परीक्षा सरेको भन्ने समाचार आएको भन्दै खण्डनसमेत गरेको छ ।

एसइई परीक्षाका विषयमा कुनै पनि भ्रममा नपर्न मन्त्रालयले अभिभावक र विद्यार्थीहरुमा आग्रह गरेको छ ।

यस अघि मन्त्रालयले सूचना जारी गर्दै विद्याालयस्तरीय परीक्षा आगामी चैत ५ गते भित्र सक्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter