दरबार हाइस्कुल अब भव्य भवनमा

शेषकान्त पण्डित / काठमाडौँ, फागुन २६ गते । ऐतिहासिक दरबार हाइस्कुलका रूपमा परिचित भानु माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको भवन निर्माण कार्य सम्पन्न भएसँगै यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालनको तयारी गरिएको हो । नेपाल र चीन सरकारको निर्माण प्राविधिक टोलीले अन्तिम स्वीकृति दिएर नेपाललाई हस्तान्तरण गरेपछि वैशाखबाट विद्यार्थीले भवनमा पठनपाठन गर्न पाउनेछन् ।

विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले नयाँ शैक्षिक सत्रबाट विद्यार्थीलाई नवनिर्मित दरबार हाइस्कुलमा सार्ने गरी आफूहरू आन्तरिक तयारीमा जुटेको जानकारी दिनुभयो । १८ महिनाको अवधिमा चीन सरकारले छनौट गरेको साङ्घाई कन्स्ट्रन्क्सन प्रालिले निर्माण कार्यलाई पूर्णता दिएको हो । झण्डै ८० करोड लगानीमा निर्माण कार्य पूरा भएको विद्यालय भवन निक्कै आकर्षक बनेको छ । यसअघि सरकारले क्षतिग्रस्त भवनमा रातो स्टिकर टाँसेपछि विद्यार्थीले निकै जीर्ण भवनमा अध्ययन गर्दै आएका थिए ।

दुई सरकारबीच सहमतिपछि दरबार हाइस्कुलको बाहिरी संरचना पुरानै शैलीमा निर्माण गरिएको छ । प्रअ महतोले स्कुलको बाहिरी संरचना पुरानै शैलीको भए पनि निर्माणका क्रममा प्रयोग गरिएका सबै सामग्री आधुनिक भएको जानकारी दिनुभयो । हाल दरबार स्कुल वाल्मीकि विद्यापीठको परिसरमा चीन सरकारले नै निर्माण गरिदिएको अस्थायी सिकाइ केन्द्र (टीएलसी) मा सञ्चालन हुँदै आएको छ ।

यस्तो छ भित्री संरचना

शैक्षिक तथा प्रशासनिक पक्षलाई समेत दृष्टिगत गरी आधुनिक स्वरूपमा दरबार हाइस्कुलको निर्माण गरिएको छ । विद्यालयमा ४० वटा कक्षा कोठा रहेका छन् । जसअनुसार विद्यालय अध्ययनरत विद्यार्थीले अब कक्षा कोठामा अलग अलग टेबल कुर्सीमा बसेर पढ्नेछन् । विद्यालयमा सीसीटीभी जडान गरिएको छ । कन्ट्रोल रुमबाट विद्यालयका प्रअले कुनै जानकारी दिए कक्षाका सबै विद्यार्थी र शिक्षकले सुन्न सक्ने गरी मिलाइएको छ ।

साथै विद्यालय परिसरमा हल, क्यान्टिन, महिला–पुरुष शौचालय, विज्ञान, कम्युटर गणित प्रयोगशालाको सुविधा उपलब्ध छ । अडिटोरियम हल, शिक्षक तथा प्रअ कक्ष, अतिरिक्त क्रियाकलापका लागि अलग अलग कोठा बनाइएका कारण विद्यालय अब नमुनाकै हिसाबले अघि बढ्ने अवस्थामा पुगेको छ ।

दुई वर्षसम्म मर्मतसम्भार चीनकै

भवन हस्तान्तरण गरिएको मितिबाट दुई वर्षभित्र विद्यालयको भत्केबिग्रेको पुनर्निर्माण चीनको निर्माण कम्पनीले नै गरिदिने भएको छ । निर्माण प्रारम्भ गर्दाकै अवस्थामा दुई पक्षबीच यस खालको सहमति गरिएको जनाइएको छ । भवनको प्रयोग गर्ने तरिका तथा प्राविधिक पक्षमा चीनले नेपाली टोलीलाई तालिम दिने योजना रहेको प्रअ महतोले जानकारी दिनुभयो । त्यसपछि भने सबै जिम्मा विद्यालयकै हुनेछ ।

विद्यार्थी बढाउने अभियान

विद्यालयको ऐतिहासिक पहिचान भए पनि विद्यालयमा अध्ययनरत विद्यार्थी सङ्ख्या न्यून नै छ । विद्यालयका अनुसार हाल १५० जना विद्यार्थी र १८ जना शिक्षक कार्यरत छन् । यद्यपि आकर्षक भौतिक सुविधा र संरचनाले विद्यार्थी बढ्ने अनुमान गरिएको छ । विद्यालयले विद्यार्थी बढाउन अभियान नै सञ्चालन गर्ने भएको छ ।

विद्यालयमा अब मल्टिमिडियाकोे प्रयोग गरेर पठनपाठन गरिनेछ । यसबाट विद्यार्थी थप हुने अनुमान विद्यालय प्रशासनको छ । धेरै विद्यार्थी तथा अभिभावकले पनि नयाँ भर्नाका लागि चासो राखेको जानकारी विद्यालयले दिएको छ । ईसीडीदेखि कक्षा आठसम्म अङ्ग्रेजी र त्यसपछि नेपाली माध्यममा पठनपाठन गराइने जानकारी विद्यालयले दिएको छ ।

राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले आफ्ना भाइभतिजालाई अङ्ग्रेजी शिक्षा पढाउनका लागि वि.सं १९१० मा थापालीस्थित आफ्नै दरबार परिसरमा यो स्कुल खोलेका थिए । सुरुमा राणा परिवारका व्यक्तिले मात्र पढ्न पाउने यो विद्यालयमा देव शमशेर श्री ३ भएपछि सर्वसाधारणका छोराछोरीलाई पनि स्कुलमा पढ्न पाउने व्यवस्था गरिदिएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter