सीमामा अलपत्र परेका ९२६ जनालाई नेपाल ल्याइयो

धनगढी, चैत ११ गते । झण्डै २४ घण्टादेखि भारतको विभिन्न स्थानबाट आएर धनगढीको त्रिनगर सीमामा अलपत्र परेका मंगलबार साँझ नेपाल आउन दिइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार विभिन्न १९ जिल्लाका ९२६ जना नेपालीलाई बसमार्फत् आ–आफ्नो गन्तव्य पठाउने गरेर नेपाल ल्याइएको छ । सोमबार राति ८ बजे सीमामा आएका नेपालीहरुले मंगलबार दिनभर नेपाल प्रवेश पाउनुपर्ने माग राख्दै सामान्य प्रदर्शन गरेका थिए । उनीहरु जबर्जस्ती नेपाल प्रवेश गर्ने प्रयास गर्दे सुरक्षाकर्मीमाथि ढुंगामुढा समेत प्रहार गर्न खोजेपछि मंगलबार विहान केही समय सामान्य झडप पनि भएको थियो ।

उद्योग, धन्दा, होटल, व्यवसाय बन्द भएपछि नेपालीहरु हामी घर फर्किएका हौं, कैलालीको अत्तरियाका भक्तराज भट्टले भन्नुभयो, ‘म सहितका धेरै नेपालीहरु पाँच दिनसम्मको यात्रा गरेर भारतको मुम्वई, पुना, केरलालगायतका ठाउँबाट आएका हौ ।’

यसैगरी, सेती अञ्चल अस्पतालले हालसम्म आठ जनाको नमूना (घाँटीको स्वाव) संकलन गरेकोमा सातजनाको रिपोर्ट नेगेटिभ आएको छ भने एकजनाको रिपोर्ट अझंै प्राप्त हुन सकेको छैन । मंगलबार पनि थप चार जनाको नमूना संकलन गरेको छ, मंगलबार साँझ पनि दुई जनाको नमूना लिइने भएको छ । तर हवाई सेवा बन्द भएकाले ती नमूना काठमाडौं पठाउन नसकिएको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताउनुभयो ।

यसैगरी, नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणमा राख्नका लागि आव्हान गरेको ‘लक डाउन’ सुदूरपश्चिमभर पालना भएको छ । यद्यपी ‘लक डाउन’ उल्लंघन गर्नेका मोटरसाइकललगायतका दर्जनौं साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैतडीमा पनि ‘लक डाउन’ कडाईका साथ लागू गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बैतडी जिल्लालाई लक डाउन गर्न सहयोग गर्न जिल्लाबासीलाई आग्रह गरेको थियो ।
अत्यावश्यक तरकारी, दूध र खाद्यान्नका पसल बाहेक सबै बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

यसैबीच, भारतीय सीमा नाकाबाट पञ्चेश्वर गाउँपालिकाले आइतबार उद्धार गरेका ३३ मध्ये तीन जनामा सामान्य ज्वरो देखिएको छ ।
स्वास्थ्य परीक्षण गर्दा तीन जनामा ज्वरो देखिएपछि उनीहरुलाइै स्वास्थ्यकर्मीको निगरानीमा पञ्चेश्वर –४ चौडालीस्थित कैलपाल आधारभूत विद्यालयको क्वारेन्टाईनमा राखिएको छ ।
यसैबीच, कोरोना चेकजाँच गर्न स्वास्थ्य कार्यालय बैतडीले पञ्चेश्वर गाउँपालिकालाई ज्वरो नाप्न थर्मल मिटर र स्वास्थ्यकर्मीको पूरै जिउ ढाकिने अत्याधुनिक ड्रेस उपलब्ध गराएको छ ।

प्रदेश सरकारद्वारा साँढे ११ करोड विनियोजन
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि साँढे ११ करोड बजेट छुट्याएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका अनुसार सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताल लगायतका स्थानमा आईसोलेसन कक्ष स्थापना गर्नका लागि सो बजेट छुट्याईएको हो । यस्तै बैठकले प्रदेश सरकारका मन्त्रीलगायत पदाधिकारीले प्रदेश कोरोना राहत कोषमा एक महिनाको तलब दिने निर्णय पनि गरेको छ ।

यस्तै, बैठकले प्रदेशका ८८ वटै स्थानीय तहमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि पनि रकम पठाउने निर्णय गरेको छ । प्रदेशमा रहेको एक मात्र उपमहानगरपालिका धनगढीलाई पाँच लाख, प्रत्येक नगरपालिकालाई चार÷चार लाख, प्रत्येक गाउँपालिकालाई ३÷३ का दरले वजेट विनियोजन गरिएको मन्त्री सुवेदीले बताउनुभयो ।
मन्त्री सुवेदीकाअनुसार संवेदनशील यो घडीमा सरकारको निर्देशन नमान्ने कर्मचारी विशेष गरी स्वास्थ्यकर्मीलाई कानूनी कारवाही गरिने र आम जनसमुदायमा नआत्तिकन सजकता अपनाउन पनि बैठकले आग्रह गरेको छ ।

आवतजावत नियन्त्रणमा स्थानीय सरकार
कोरोनाको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न अछामका स्थानीय तहले मानिसहरुको आवतजावतलाई नियन्त्रण गरिरहेका छन् । स्थानीय तहले संघीय सरकारको आग्रहलाई पालना गर्दै आ–आफ्नो क्षेत्रमा हुने हिडडुल, बैठक, भेला र जात्रालाई नियन्त्रणमा लाग्न थालेका हुन् ।

दैनिक उपभोग्य सामग्री, औषधि, पेट्रोलियम, खानेपानी लगायतका अतिआवश्यक सेवा बाहेक सबै बन्द गर्ने जिल्ला विपद् व्यवस्थापन सिमितिले निर्णय गरेको छ । होटल, चिया तथा मदिरा र कपडा पसल सोमबारबाटै बन्द गर्ने गरिने भएको छ । भेला, भिडभाड, मेला, उत्सवमा मंगलबारबाट रोक्नेसँगै घरभित्रै बस्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी नन्दकिशोर यादवले जानकारी दिनुभयो

यस्तै गरेर कोरोना भाइरसको संक्रमणबाट जोगाउने उद्धेश्यले हात धुन प्रेरित गर्न साँफेबगरका क्रियाशिल यूवाको एक समूले तीनहजार साबुन वितरण गरेको छ । बसका यात्रु र चालकलाई तीनहजार सख्यामा मास्क समेत वितरण गरिएको बताइएको छ ।

५० लाखको आपतकालिन कोष स्थापना
डडेल्धुराको परशुराम नगरपालिकाले कोरोना भाईरस (कोभिड(१९) को सन्त्रास न्यूनीकरण र सर्तकताका लागि ५० लाखको आपतकालिन कोष स्थापना गरेको छ ।
विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) सन्त्रास फैलिएको अवस्थालाई मध्यनजर गरी सजकता र पूृर्व तयारी स्वरुप आपतकालिन कोष स्थापना गरिएको परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउदले बताउनुभयो । नगरपालिकाका १२ वटा वडाबाट तीन लाखका दरले ३६ लाख र नगरपालिकाबाट १४ लाख रकम गरी ५० लाखको आपतकालिन कोष स्थापना गरिएको नगरप्रमुख साउदले बताउनुभयो ।

दुई स्थानमा हेल्थ डेस्क स्थापना
डडेल्धुराको अमरगढी नगरपालिकाले कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि अमरगढी नगरपालिका – १ स्याउले र अमरगढी नगरपालिका – ५ बागबजार बसपार्कमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ ।
नगरपालिकाले स्वास्थ्य कार्यालय डडेल्धुरासँगको समन्वयमा सात पहाडी जिल्लाको केन्द्र रहेको स्याउले बजार र बागबजार बसपार्कमामा हेल्थ डेस्कको स्थापना गरेको हो । तराईका जिल्ला तथा भारतका विभिन्न शहरबाट नेपाल आएका यात्रुहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको अमरगढी नगरपालिकका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताउनुभयो ।

भारतबाट आएको व्यक्तिहरुको रेकर्ड राखिने
अमरगढी नगरपालिकाले भारतबाट आएको व्यक्तिहरूको रेकर्ड राख्ने भएको छ । भारतबाट आएका नेपालीहरूलाई होम क्वारेन्टाइनमा राख्ने र व्यक्तिहरुको रेकर्ड राख्ने निर्णय गरिएको नगरप्रमुख ओझाले बताउनुभयो ।

उहाँका अनुसार सबै वडाहरुमा कोरोना रोकथाम वडा समन्वय समिति गठन गरिएको जनाइएको छ । ‘हामीले सबै स्वास्थ्यकर्मीहरुको बिदा रद्द गरेका छौं, नगरप्रमुख ओझाले भन्नुभयो । नगरप्रमुख ओझा भन्नुहुन्छ, ‘अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुखलाई २४ घण्टे हटलाइनमा राखिसकेको छ ।’रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter