• Wednesday, April 30, 2025

अर्थ तथा सञ्चारमन्त्री डा. खतिवडाद्वारा पदबाट राजीनामा

काठमाडौँ, भदौ १९ गते । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । याे जानकारी प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएकाे हाे । अर्थ मन्त्रालयमा औपचारिक बिदाइपछि उहाँ सञ्चार मन्त्रालयमा पनि गएर बिदाइ लिनुभयो । त्यसपछि प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउनुभयो । आजै आफ्नो निजी निवास फर्कनुभएकाे थियाे ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने बताएपछि मन्त्री खतिवडाले राजीनामा दिनुभएको हो । उहाँकाे राष्ट्रियसभा सदस्य पद छ महिनाअघि नै समाप्त भएकाे थियाे ।

यसैबीच, राससका अनुसार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सात महीनामा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा गर्न सकिएका कामबारे भविष्यमा मूल्याङ्कन हुने विश्वास व्यक्त गर्नुभएको छ । यस अवधिमा आफूलाई सहयोग गर्ने मन्त्रालयसम्बद्ध राष्ट्रिय समाचार समितिलगायत निकाय प्रमुख, विभागीय प्रमुख र कर्मचारी वर्गलाई उहाँले धन्यवाद दिनुभएको छ ।

मन्त्रिपरिषद्को आज सम्पन्न बैठकपछि सञ्चार मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सम्बद्ध निकाय एवं विभागीय प्रमुखसंँगको भेटघाटमा आफूले आजैदेखि मन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको जानकारी गराउँदै उहाँले यस अवधिमा सबैसंँग व्यक्तिगतस्तरमा राम्रोसँंग परिचित हुने अवसर पनि नमिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास गरी अर्थ मन्त्रालय तथा सञ्चार तथा सूचना मन्त्रालयको कार्यभार सुम्पनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभारी छु । एक अध्येताका हैसियतले मैले सामान्य जानकारी राख्ने गरे तापनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी मेरा लागि अनपेक्षित थियो ।”

मन्त्री डा खतिवडाले तोकिएका कामहरू विद्यमान कानूनबमोजिम पारदर्शी किसिमबाट सम्पन्न गर्न प्रमुखहरूलाई आग्रह गर्नुभयो । उहाँले शिक्षा, विज्ञान, कृषि लगायत क्षेत्रमा सूचना प्रविधिको उपयोग अब अपरिहार्य रहेकाले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल तुल्याउन सूचना प्रविधिको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सञ्चार मन्त्रालय धेरै जनसरोकार भएको मन्त्रालयका रूपमा आफूले पाएको जनाउँदै मन्त्री डा खतिवडाले यसमा धेरै अदृश्य र असीमित स्रोत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड –१९ ले हामीलाई कठिन अवस्थामा पार्नुका साथै केही अभूतपूर्व अवसर पनि प्रदान गरेको छ, पहिले फेशनका रुपमा रहेका अनलाइन शिक्षा र टेलिमेडिसिन अब हाम्रा लागि यथार्थ बन्दै गएका छन् ।”

“सिंहदरबारभित्रैको एक निकायबाट पठाइएको चिठ्ठीपत्र अर्को निकायमा किन ढिलो पुग्छ ? शासकीय प्रबन्ध र सूचना प्रविधिको प्रयोग गरियो भने यस्तो अवस्था रहँदैन”, मन्त्री डा खतिवडाले भन्नुभयो, “तोकिएका काममा शीघ्रता ल्याउनोस्, यस्ता समस्याहरु हल हुन्छन् ।” मन्त्री डा खतिवडाका अनुसार उहाँले अर्थमन्त्रीका रूपमा दुई वर्ष छ महीना केही दिन र सञ्चारमन्त्रीका रूपमा सात महीना काम गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter