बहराइनको राजपरिवार नेपाल घुम्न लालायित

लक्ष्मण दर्नाल / काठमाडौँ, भदौ २२ गते । बहराइनको राजपरिवार नेपाल घुम्न लालायित छ । बहराइनमा नेपालको पर्यटकीय क्षेत्र, कला र संस्कृतिको प्रचारप्रसार भएपछि राजपरिवार नै नेपाल घुम्न उत्साहित भएको जनाइएको छ ।

नेपालका राजदूत पदम सुन्दासले बहराइनका राजपरिवार र जनता नेपाल घुम्न उत्साहित रहेको बताउनुभयो । त्यसै क्रममा बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफासहितको समूह नेपाल आउने अन्तिम तयारीमा छ । नेपाल सरकारले उहाँको भ्रमणको स्वीकृति दिइसकेको छ ।

गोरखापत्रसँगको कुराकानीमा राजदूत सुन्दासले बहराइनका राजकुमार नासिर नेपालको ट्रेकिङमा आउने कुरा टुङ्गो लागिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले बहराइनका राजकुमार आउने प्रस्ताव सहर्ष स्वीकार गरेको छ । उहाँहरूको पासपोर्ट दूतावासमा आउने क्रममा छ । यहाँ आएपछि हामी मन्त्रालयमा पठाउँछौँ । ” त्यसै क्रममा रोयल गार्ड बहराइनको टोलीले हिमाल आरोहण गर्नेछ । टोलीको नेतृत्व पनि राजकुमार नासिरले गर्नुहुने छ । त्यस क्रममा सगरमाथामा बहराइनको झण्डा फहराउन राजकुमार नासिरले आरोहण टोलीलाई हस्तान्तरण गरिसक्नुभएको नेपाली दूतावासले
जनाएको छ ।

कोभिड–१९ का कारण नेपालमा भ्रमण वर्ष २०२० स्थगित भए पनि भ्रमण वर्षलाई लक्षित गरी नेपाल र बराइनको दौत्य सम्बन्ध ४३ वर्ष पुगेको अवसरमा बहराइनमा गरेका कार्यक्रमको प्रभाव राजपविार र जनस्तरमा राम्रो परेको छ, राजदूत सुन्दासले बताउनुभयो ।

उहाँका अनुसार नेपालका १० उत्कृष्ट पर्यटकीय स्थलको वृतचित्र बहराइनमा प्रदर्शन गरेपछि नेपालप्रति चासो बढेको हो । राजदूत सुन्दासका अनुसार पहिलो समूहमा राजकुमार आफैँ नभई दरबारका सदस्यहरू
(शाहज्यादा) आउनु हुनेछ । दोस्रो समूहमा मात्र राजकुमार आउनुुहुने छ । उहाँहरूको दुई वर्षको भ्रमण तालिका छ ।

पहिलो वर्ष मनास्लु र लोबुचे हिमालको आरोहण हुनेछ । सन् २०२१ मा सगरमाथा आरोहण गर्ने तालिका रहेको सुन्दासले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बहराइनका नागरिक युरोप र अमेरिका जाने चलन छ तर यहाँ नेपाल चिनाएपछि राजपरिवार र जनता नेपालप्रति आकर्षित भएका छन् । यो भ्रमण र हिमाल आरोहण सफल भए नेपालको पर्यटनमा ठूलो प्रभाव पर्ने मैले आशा लिएको छु । बढीभन्दा बढी पर्यटक नेपाल पठाउने र नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने काममा मेरो प्रयत्न भइरहेको छ । ”

नेपाल र बहराइनको दौत्य सम्बन्ध बलियो बनाउन योजनाबद्ध काम गरेको उहाँले जानकारी दिनुभयो । राजदूत सुन्दासका अनुसार नेपाल र बहराइनको पार्लियामेन्ट्री फ्रेन्डसिप ग्रुप बनाउने काम अन्तिम चरणको पुगेको छ । त्यस्तै नेपाल र बहराइनको मन्त्रीस्तरीय उच्च संयन्त्र निर्माणको सम्झौता अन्तिम चरणमा छ । हस्ताक्षर गर्न मात्र बाँकी छ । उहाँले भन्नुभयो, “कोरोनाको प्रभाव नभएको भए सम्झौता भइसक्थ्यो । ”

बहराइनको जनसङ्ख्या १५ लाख रहेको छ, जसमा सात लाख बाहिरी मुलुकबाट गएर बसोबास गरेका छन् । बहराइनको वास्तविक जनसङ्ख्या आठ लाख रहेको छ । तेल र ग्यासको व्यापार नै बहराइनको मुख्य अर्थतन्त्र हो ।

श्रमिकको माग बढ्ने

कारोना सङ्क्रमणले बहराइनमा रहेका नेपालीलाई प्रभावित बनाएको छ । दूतावासका अनुसार हालसम्म ९८६ जना नेपाली नेपाल फर्किएका छन् । केही रोजगारी गुमाएका र केही छुट्टीमा नेपाल पठाइएको हो । करिब तीन सय फर्कने तयारीमा छन् ।

बहराइनमा करिब ४० हजार नेपाली छन् । तीमध्ये पाँच सयलाई कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये चार जना नेपालीको मृत्यु भएको छ । बाँकी सबै निको भएर काममा फर्किएका छन् । कम्पनीहरू बन्द भएका कारण करिब १५ सय नेपालीले रोजगारी गुमाएको दूतावासले जनाएको छ ।

बहराइनमा नेपाली श्रमिकको माग बढिरहेको छ । नेपालीको विश्वास र मिहिनेतका आधारमा बहराइनमा नेपालीलाई विश्वास गरिन्छ । उहाँले भन्नुभयो, “श्रमिकको डिमान्ड लिने कम्पनीले डिमान्ड खोल्न भनिरहेका छन् । नेपालीमा डिमान्ड छ यहाँ, अहिले श्रम मन्त्रालयले नयाँ श्रम स्वीकृत खुला गरेको छैन । खुला भएपछि ठूलो सङ्ख्यामा नेपाली आउने छन् । ” नयाँलाई भन्दा पनि छुट्टीमा गएकामध्ये दुई सय जनालाई छिटो फर्काउने काममा दूतावास रहेको छ ।

दूतावासका अनुसार कोरोनाको प्रभावले गर्दा श्रम गन्तव्य गुम्छ कि भन्ने त्रास थियो तर अहिले बहराइनको अवस्था सामान्यजस्तो भइसकेको छ । राजदूत सुन्दास भन्नुहुन्छ, “खाडी मुलुकलाई नेपालमा श्रमिककागन्तव्यका रूपमा मात्र हेरिन्छ तर अन्य आधारमा पनि सम्बन्ध बढाउनुपर्छ । ”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter