• Saturday, May 03, 2025

कोरोना कहरले फेरियो व्यवसाय

शेरबहादुर सिंह / महेन्द्रनगर, मङ्सिर ३ गते। दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्त नगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिनुभएको छ । कोरोना कहरमा बितेका आठ महिनासम्म टेन्ट हाउसको व्यापार सुनसान बनेपछि उहाँले व्यवसाय परिवर्तन गरेर जीविकोपार्जन गर्ने योजनाअनरुप कागतीखेती, कुखुरा र बाख्रापालनमा लागेको बताउनुभयो ।

“टेन्ट भाडामा दिएर वार्षिक अठारदेखि रु २० लाखसम्मको कारोवार हुन्थ्यो”, सञ्चालक जोशीले भन्नुभयो, “टेन्टका कर्मचारी पाल्न र जीविका चलाउन पनि अन्य व्यवसाय गर्नुको विकल्प भएन ।” उहाँले बिहेको मौसम आए पनि टेन्ट भाडाको कुनै व्यापार नरहेको बताउनुभयो ।

विसं २०५६ देखि महेन्द्रनगरमा टेन्ट हाउस सञ्चालन गर्दै आउनुभएका जोशीले आफूले यस्तो महाकष्टको सामना गर्नुपर्छ भनेर कल्पना पनि नगरेको बताउनुभयो । “टेन्ट भाडामा नगएको आठ महिना भो”, उहाँले भन्नुभयो, “अन्यत्रको व्यापारले सघाउ पुग्ने आशा छ ।” जोशीले दश वर्षका लागि वार्षिक रु ८५ हजार भाडा तिर्ने गरी तीन बिघा जमिन भाडामा लिएको बताउनुभयो ।

कोरोना सङ्क्रमण बढिरहेकाले पुरानै अवस्थामा फर्किन समय लाग्ने देखेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका प्रकाश जोशी पनि भैँसीपालनको तयारीमा जुट्नुभएको छ । गुलरीयामा मालिकाअर्जुन टेन्ट हाउस सञ्चालन गर्दै आउनुभएका जोशीले कोरोनामा व्यापार नहुँदा बैंक किस्ता तिर्न पनि गाह्रो भइरहेको बताउनुभयो । “वैकल्पिकका रुपमा यहाँ भँैसीपालन शुरु गरेका छु”, उहाँले भन्नुभयो, “तीन वटा भैँसी, एउटा पाडो र एउटा गाईपालनबाट व्यवसाय शुरु गरेँ ।” उहाँले कृषिलाई विकल्पका रुपमा मात्रै नभएर व्यावसायिक रुपमा अघि बढाउँदै लैजाने योजनामा रहेको जानकारी दिनुभयो ।

त्यसैगरी कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किने पनि अधिकांश कृषि, व्यापार र व्यवसायमा लागिरहेका छन् । एघार वर्ष दुबईमा काम गरेर कोरोना कहरबाट घर फर्किनुभएका यहाँको शुक्लाफाँटा नगरपालिका–१ का पदम सिंहले पनि माछापालन, कुखुरा र बाख्रापालनको थालनी गर्नुभएको छ । “कोरोना कहरमा कम्पनी नै बन्द भए पनि यहाँ आएर आयमूलक व्यवसायमा लाग्न बडिमालिका पशुपक्षी, मत्स्य विकास फार्म दर्ता गरेर अघि बढेको छु”, सिंहले भन्नुभयो, “यसका लागि बैंकबाट ऋण लिइरहेको छु ।” उहाँले उक्त व्यवसायका लागि शुरुआतमा रु २० लाख बढी लगानी भएको बताउनुभयो । शुक्लाफाँटा–२ मा उहाँले एघार कठ्ठामा उक्त व्यवसाय सञ्चालन गरिरहनुभएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले पछिल्लो समय कृषि र पशुपक्षी व्यवसाय गर्ने युवा उद्यमीको सङ्ख्या बढिरहेको बताउनुभयो । “कोरोनाले गर्दा अहिले स्थानीयस्तरमै केही गरौं भन्ने भावना देखिएको छ”, सिंहले भन्नुभयो, “मन्त्रालयबाट पनि आयमूलक कृषि व्यवसायमा लाग्ने युवालाई सम्बोधन गर्नु भन्ने स्पष्ट निर्देशन छ ।”

उहाँले कोरोना प्रभावित युवालाई स्वरोजगार बनाउन प्रदेश सरकारले लिएको आवेदनमा कृषितर्फ मात्रै यहाँ एक हजार २०० भन्दा बढी युवाले आवेदन भरेको बताउनुभयो । “यहाँ पशुपक्षीतर्फ अझ बढी युवा आकर्षित भएको आवेदनबाट देखिएको छ ।” उहाँले भन्नुभयो, “अहिले पनि कोरोना प्रभावित भएर आएका १५ जना युवालाई दातृ निकायको सहयोगमा च्याउखेती तालिम दिइरहेका छौँ ।”

स्वदेशमा रोजगारी नभएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भारत जानेको सङ्ख्या तिहारपछि झन् बढिरहेको छ । प्रदेश सरकारले नौ हजार जनालाई कृषितर्फ स्वरोजगार बनाउने लक्ष्यसहित लिएको आवेदनमा ८२ हजार बढीले आवेदन दिएका छन् ।

कञ्चनपुरको डोकेबजार नाका हँुदै आज बिहान ३०० जना भारत गएको डोकेबजार प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भूपाल थापाले जानकारी दिनुभयो । “यो नाकाबाट बिहान ७ देखि बेलुकी ६ बजेसम्मलाई आवतजावत गर्न दिइएको छ”, उहाँले भन्नुभयो, “तिहार आसपासको समयमा दैनिक २५० देखि ४०० सम्म नेपाली रोजगारीका लागि भारत गएको देखिन्छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter