नेपालमा गैँडाको संख्या ७५२ पुग्याे, पाँच वर्षमा १०७ गैँडा बढे

लक्ष्मीप्रसाद उपाध्याय / काठमाडौँ, चैत २८ गते । विश्वमै दुर्लभ मानिएको एकसिँगै गैँडाको संख्या नेपालमा ७५२ पुगेको छ । झण्डैै पाँच वर्ष पछि भएको एकसिँगे गैँडाको राष्ट्रिय गणनामा संख्या गैँडाको संख्या अघिल्लो गणना भन्दा १०७ बढेको छ । यस अघि सन् २०१५ मा गरिएको गणनामा गैँडाको कुल ६४५ संख्या रहेको थियो ।

शनिवार चितवनमा सार्वजनिक गरिएको यो संख्या चितवन राष्ट्रिय निकुञ्जमा ६९४, पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गँैडा रेकर्ड गरिएका छन् । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडाको संख्या रेकर्ड गरिएको छ । पछिल्लो पाँच वर्षमा पर्सा बाहेक अरु राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या निकै सन्तोषजनक रुपमा वृद्धि भएको छ भने पर्सामा भने सन् २०१५ को संख्या जस्तै तीन वटा मात्र गैँडा भेटिएका छन् । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले यो संख्या सार्वजनिक गर्नुभएको हो ।

यसअघि सन् २०१५ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६०५, बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ वटा र पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा रेकर्ड गरिएका थिए ।

यस वर्ष यही चैत ९ गतेबाट पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई मिलाएर एउटै कलष्टर बनाई गैँडा गणनाको शुभारम्भ गरिएको थियो । यी दुई निकुञ्जलाई नौ वटा ब्लकमा विभाजन गरेर गणना गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १८ गतेबाट र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १९ गतेबाट गणना सुरु गरिएको थियो ।

गैँडा गणना गर्दा गैँडाको आहारको अवस्था, पानीको स्रोत तथा घाँसे मैदानको अवस्था, गैँडा बासस्थानको चुनौती, गैँडाको प्रजननको अवस्था लगायतका कुराहरुको पनि अध्ययन गरिएको इकोलोजिष्ट आचार्यले बताउनुभयो ।

गैँडा गणनामा चितवनमा ३० वटा हात्ती, बर्दियामा १० वटा हात्ती र शुक्लाफाँटामा ६ वटा हात्तीको प्रयोग गरी २०० भन्दा बढी दक्ष जनशक्तिको प्रयोग गरिएको थियो ।

गणना गर्दा ज्यान गयो

गैँडा गणना गर्ने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको गैँडा मचान क्षेत्रमा बाघको आक्रमणमा परी गैँडा गणनामा सहभागी हात्ती माउते पुलिसराम चौधरीको मृत्यु भएको छ । आक्रमण गर्ने समस्याग्रस्त बाघलाई तत्काल डार्ट गरी ललितपुरको सदरचिडियाखानमा राखिएको छ ।

त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा ध्रुबे हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति कोषका संरक्षण अधिकृत बिनोद श्रेष्ठ लगायतका चार जना घाइते भएका थिए । ढाड र टाउकोमा गम्भीर चोट लागेपछि श्रेष्ठको काठमाडौँको हयाम्स अस्पतालमा अपरेशन पछि हाल उपचार भइरहेको छ ।

गणनाकै वर्ष चोरी शिकार बढ्यो

गत वर्ष चैत ११ गतेबाट गैँडा गणनाको सम्पूर्ण तयारी भएपनि चैत १० गतेबाट कोरोनाका कारण लकडाउन भएकाले गैँडा गणना हुन सकेन । कोरोनाका कारण लकडाउन भइरहेका बेला यो वर्ष चितवनमा मात्र चार वटा गैँडा चोरी शिकारीबाट मारिएका छन् । यो वर्ष प्राकृतिक रुपमा २६ वटा गैँडाको मृत्यु भएको छ । चालु आर्थिक वर्षमा चितवनमा मात्र चोरी शिकार र प्राकृतिक कारणले ३० वटा गैँडा नासिएका छन् ।

शून्य शिकार वर्ष मनाउन असफलता

२०६७ साल पुसबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडाको शून्य चोरी शिकार वर्ष मनाउने घोषणा गर्यो । निकुञ्ज प्रशासन, स्थानीय बासिन्दा तथा नेपाली सेना सक्रिय सहभागिताले २०६८ साल पुस २३ गते पहिलो शुन्य चोरी शिकार वर्ष मनाउन विभाग सफल भयो । यो क्रम करिब एक हजार दिन पार गर्दा गर्दा आर्थिक वर्ष २०७१÷२०७२ मा एउटा गैँडा चोरी शिकारीका कारणले चितवन राष्ट्रिय निकुञ्जमा मारियो । त्यसको पछिल्लो वर्ष फेरी एउटा गैँडा चितवनमै शिकारीले निसाना बनायो र खास काटेर लियो ।

प्राकृतिक मृत्यु दर बढ्यो

यी दुई घटना पछि निकै सावधानीपूर्वक काम गरेको विभागले बीचका केही वर्ष गैँडालाई चोरी शिकारीबाट बचाएपनि प्राकृतिक कारणले गैँडाको मृत्युदर नियन्त्रण गर्न भने सकेन । चालु आर्थिक वर्षमा २६ वटा गैँडा प्राकृतिक कारणले मरिसकेका छन् भने यही वर्षमै चार वटा गैँडा चोरी शिकारीले मारेर खाग लगेका छन् ।

विगत २२ वर्षको तथ्याङ्क हेर्ने हो भने चोरी शिकारीबाट भन्दा प्राकृतिक मृत्युले नेपालका गैँडाको संख्यामा निकै क्षति पुगिरहेको छ । २२ वर्षको अवधिमा कुल ४९८ वटा गैँडाको मृत्यु भएको छ । ती मध्य ३३३ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् भने चोरी शिकारीबाट १६५ वटा गैँडाको मृत्यु भएको छ ।

सरकारले एकसिँगे गैँडाको शुन्य चोरी शिकार वर्ष मनाउन थालेपछि चोरी शिकारको दर भने निकै कम भएको छ । सन् २०११ मा पहिलो पटक सुरु गरिएको शुन्य चोरी शिकार वर्षदेखि हालसम्म आउँदा जम्मा ६ वटा गैँडा मात्र चोरी शिकारीका कारणले मरेका छन् भने बाँकी सबैको प्राकृतिक कारणले मृत्यु भएको हो ।

बासस्थानमा चुनौती चुलिँदै

एकसिँगे गैँडाका लागि चितवन राष्ट्रिय निकुञ्ज सबैभन्दा ठूलो उर्वरभूमि हो । कुल गैँडाको झण्डै ९० प्रतिशत गैँडा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा मात्र पाइने गरेका छन् । यद्धपी पछिल्ला वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा मिचाहा प्रजातिका कारण घाँसे मैदान बिस्तारै नासिँदै गएका छन् भने नारायणी नदीमा आउने बाढी पनि गैँडालाई थप चुनौती बन्न थालेको छ ।

गैँडामा विद्यावारिधि गर्नुभएका डा. नरेश सुवेदीका अनुसार चिवतनका घाँसे मैदानहरुमा हरियो घाँस देखिएपनि मिचाहा प्रजातिको जालोले ढाक्दा गैँडालाई बिचरण गर्न निकै कठिनाई हुने गरेको छ भने गैँडाको लागि चाहिने पोसिलो आहार बिस्तारै नासिँदै गएको छ ।

अर्काेतिर वर्षेनी नारायणी नदीमा आउने बाढीले गैँडालाई बगाएर भारत लैजाने गरेको छ । गत वर्षको बाढीले बगाएर भारत पुर्याएका नौ वटा गैँडाको भारतबाट उद्धार गरिएको निकुञ्ज विभागका उपसचिव बेदकुमार ढकालले बताउनुभयो । तत्कालिन अवस्थामा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत समेत रहनु भएका ढकालले भन्नुभयो, हामीले भारतबाट नौ वटा गैँडाको उद्धार गरेर फिर्ता ल्यायौँ । एउटा गैँडा त बगाएर लगेको नेपालकै सीमाना त्रिवेणी क्षेत्रबाट उद्धार गरियो ।

बयस्क गैँडा बाढीले बगाएपनि छेउछाउ लाग्न सक्ने हुँदा भारतमा फेला पार्न सकिन्छ तर बच्चालाई भने बगाएर लैजाने हुँदा नेपालमा गैँडाको संख्या घट्ने गरेको विभागको अनुमान छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter