नेपालकै ठूलो स्याउ बगैँचा जुम्लामा

नेत्र शाही / खलङ्गा, वैशाख २६ गते । जुम्लामा नेपालकै सबैभन्दा ठूलो स्याउ बगैँचा स्थापना गरिएको छ । बगैँचामा करिब ३० हजार स्याउका बिरुवा एकै पटक रोप्ने अभियान सुरु गरिएको छ । गुठीचौर गाउँपालिका–५, काडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा स्थापना भएको हो । गुठीचौर एग्रो फार्म प्रालिका अध्यक्ष मीनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा स्थापना गर्नुभएको हो । झन्डै आठ करोड रुपियाँ लगानी रहेकामा पाँच करोड बैङ्कको र तीन करोड फार्मको रहेको छ ।

बगैँचामा स्याउ रोप्न कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र, स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारी आउनुभएको थियो ।

सचिव मिश्रले निषेधाज्ञामा बगैँचामा नआउनुपर्ने भए पनि अस्पतालमा डाक्टरले बिरामीलाई छोड्न नसकेजस्तै कृषि सचिवले किसान छोड्न नहुने भएर आएको बताउनुभयो । उहाँले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले स्याउको प्रशोधन, बजारीकरण, कृषि सडकलगायतका प्राविधिक सहयोग गर्नसक्ने बताउनुभयो ।

बगैँचाका लागि २५ हजार बिरुवाको व्यवस्थापन किसान आफैँले र बाँकी पाँच हजार ५० प्रतिशत अनुदानमा सरकारले सहयोग गरेको छ । स्याउ सुपरजोन कार्यालयले पाँच हजार स्याउ बिरुवा ५० प्रतिशत अनुदानमा सहयोग गरेको कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अर्को वर्ष २० हजार रोप्ने योजना छ ।

गत वर्षको चैतदेखि नै बगैँचा स्थापनाको तयारी थालिएको थियो । बन्दाबन्दी अवधिभर बगैँचाको पूर्वाधार निर्माणदेखि बिरुवा रोप्ने तयारीसम्मका क्रियाकलाप भए पनि रोप्न पाइएको थिएन ।

३० वर्षका लागि ८६ जना किसानबाट लिजमा दिएको एक लाख ५० हजार वर्गमिटर जग्गामा पूर्वाधारसहितको सुविधा सम्पन्न स्याउ बगैँचा निर्माण भएको छ । बगैँचामा एक दिनमा डेढ सयदेखि अढाई सयसम्म कामदारले रोजगारी पाएका छन् । एक जना आयोजना प्रमुख, लेखापाल दुई जना, ओभरसियर एक जना, स्टोर किपर दुई जना, हेल्पर १२ जना, जेटीए चार जना र चौकीदार चार जना राखिएको छ । दुई जना सहजकर्ता, तीन जना चालक र तीन जना सहचालकले पनि रोजगारी पाएका छन् ।

गाउँमै नेपालकै ठूलो बगैँचा स्थापना भएपछि स्थानीयवासी खुसी भएका छन् । उनीहरूले स्याउ बगैँचामा काम पाउनुका साथै स्याउ फलाउनको लागि प्रेरणा मिल्ने बताएका छन् ।

लगानीकर्ता मीनबहादुर भण्डारीले जडीबुटी व्यापार गर्दा कमाएको रकमले आफ्नै भूमिमा स्याउ बगैँचा स्थापना गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले स्याउ खेती गरेर कृषि कर्मको एक परिचय दिने लक्ष्य रहेको बताउनुभयो ।

बृहत् बगैँचा अवधारणा

तातोपानी गाउँपालिकाको हियाँखोलामा पनि छ हजार स्याउ बिरुवा रोपिएको स्थानमा घेरबार र सिँचाइ सुरु गरिएको स्याउ सुपरजोन कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।

त्यस बगैँचामा पनि प्रदेश कृषि सचिव मिश्रले पुगेर लिफ्ट सिँचाइको सम्भावनाका विषयमा समेत अनुगमन गरेको जानकारी दिनुभयो । जुम्लामा यस वर्ष भण्डारीको बगैँचामा ३० हजार र अन्यत्र ३० हजार गरी ६० हजार फुजी स्याउ बिरुवा रोपिने बताइएको छ ।

जुम्लामा करिब २५ वर्षअघि किसान पदमबहादुर महतले जुम्ला महतगाउँको नाङ्गो डाँडामा चार हजार स्याउका बिरुवा लगाएपछि एकै पटक धेरै स्याउ उत्पादन भएको थियो ।

अहिले जुम्लामा जिल्लाभर एक सयभन्दा बढी ३० हजारसम्म स्याउका बिरुवा रोप्ने र बगैँचा लगाउने होडबाजी नै हुने गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter