तरकारी बिक्री आधा घट्यो

काठमाडौँ, वैशाख २७ गते । ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताउनुभयो ।

“निषेधाज्ञा सुरु भएको दुई/तीन दिन सामान्य समयभन्दा बढी बिक्री वितरण भएको थियो । त्यसपछि घट्दै गयो, अहिले आधामा झरेको छ,” उहाँले भन्नुभयो, “आवागमन कम भयो, होटेल पार्टी प्यालेस बन्द भए र थुप्रै मान्छे काठमाडौँ छाडेर हिँडिसकेकाले एकाएक बिक्रीमा कमी आएको छ । ”

पहिला दैनिक करिब नौ सय मेट्रिक टन तरकारी तथा फलफूल बिक्री हुन्थ्यो, अहिले चार सय मेट्रिक टनमा झरेको छ, उहाँले बताउनुभयो । बिक्री वितरण कम हुँदा यसको सीधै असर किसानमा पर्छ । पोखरा, चितवन, बाँकेलगायतका जिल्लामा उत्पादन भएका तरकारी बिक्री नहुँदा खेतमै
कुहिरहेका छन् ।

तरकारीको मुख्य बिक्री केन्द्र कालीमाटीलगायत बल्खु, बागबजारको टुकुचा, बानेश्वर, तीनकुने, शान्तिनगर, जडीबुटी, च्यासललगायतका तरकारी बजारमा पनि बिक्री ह्वात्तै घटेको छ । बजारमा उपभोक्ता नै नआएपछि व्यापारीले पनि तरकारी ल्याउन छाडेको कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । व्यापारीले जति बिक्री हुन्छ त्यति नै बजारमा ल्याइरहेका छन् ।

किसानको खेतबाट व्यापारीले तरकारी नै उठाइरहेका छैनन् भने किसानले पनि यो कोरोनामा जोखिम लिन नचाहेको उहाँले बताउनुभयो । बल्खु तरकारी तथा फलफूल बजारका सञ्चालक मोहनकुमार बस्नेतले भन्नुभयो, “यहाँ ६० प्रतिशत बिक्री कम भयो । बजारमा तरकारीको अभाव छैन, ग्राहकको अभाव भयो । ”

चितवनका किसान चन्द्र अधिकारीले भन्नुभयो, “पहिलो चरणको कोरोनाको समयमा निकै दुःख पाइयो । थुप्रै घाटा भयो भनेर यसपालि थोरैथोरै तरकारी लगायौँ, त्यो पनि बिक्री हुन गाह्रो भइरहेको छ । ” बिक्री नभएका तरकारी खेतमै छन्, केही तरकारी शीतभण्डारमा पनि राखेको बताउँदै उहाँले एक त उपभोक्ता छैनन् अर्कोतिर बजारसम्म लान ढुवानीको पनि समस्या भइरहेको बताउनुभयो । त्यस्तै समस्या किसानहरू अर्जुन श्रेष्ठ, कृष्ण देवकोटा, मनबहादुर शाही, कृष्ण घिमिरेको पनि रहेको छ ।

आलु, प्याज, लसुन, अदुवालगायतका वस्तुलाई शीतभण्डारमा पनि राख्न सकिन्छ तर हरियो तरकारी बिक्री भएन भने याल्नुबाहेक अरू कुनै उपाय नरहेको उहाँहरू बताउनुहुन्छ । बाँकेका किसान विनोद भुसालले खेतमा फलेको गोलभेँडा बजारसम्म लग्न नसकेपछि खेतीमै कुहेको बताउनुभयो । गोलभेँडा बिक्री नहुँदा १० लाख घाटा भएको उहाँले बताउनुभयो । समितिका अनुसार अहिले कालीमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौँला, लौकालगायत मौसमी तरकारी नेपाली उत्पादनका आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ ।

समितिले स्थानीय तहसँगको समन्वयमा जुनसुकै समयमा कालीमाटीमा तरकारी ल्याउनसक्ने व्यवस्था मिलाएको छ तर खरिद बिक्रीका लागि भने राति १ः०० देखि बिहान ९ः०० बजेसम्मको समय तोकेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter