सम्पदाहरूकाे संरक्षण गर्दै मध्यपुर थिमि नगरपालिका
शिवा तामाङ / काठमाडौँ, साउन २ गते । मध्यपुर थिमि नगरपालिकाले नगरभित्रका सम्पदाहरूलाई संरक्षण गर्नको लागि तदारुकताका साथ निर्धारित कामहरु गरिरहेको छ ।
नगरपालिकाका हरेक वडामा सार्वजनिक पोखरी, मन्दिर, इनार, ढुङ्गेधारा, विहार, चैत्य र पाटी –(फल्चा), लायकु (दरवार) चोक रहेका छन् भने पछिल्लो समय नगरपालिकाले खाली भिरालो सार्वजनिक जग्गा–जमिनको समेत पार्कको रूपमा विकास गरिरहेको छ ।
वि.स. २०७४ सालको स्थानीय तहको निर्वाचनपछि बनेको स्थानीय सरकारले आफ्नो क्षेत्रको विविध विकास निर्माण, निति नियम ल्याउने होडबाजीमा मध्यपुर थिमि नगरपालिकाले सम्पदाको जगेर्नामा विशेष जोड र चासो देखाएको छ ।
सो नगरपालिकाद्वारा प्रकाशित ‘गन्तव्य मध्यपुर थिमि’ पुस्तिकामा एकहजार एकसय ४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकामा नौवटा विहार, ४८ वटा ढुङ्गेधारा, करिब दुईसयवटा सत्तलपाटी, १८ कुवा, एकसय वटा इनार र साना–ठूला गरी करिब तीनसयको सङ्ख्यामा मठ–मन्दिर, चैत्य, तीनवटा लायकु –(दरबार) लगायतका सम्पदा उल्लेख गरेको छ ।
वि.स. २०७२ को भुकम्पले भत्किएका, सहरीकरणसँगै जमिनको महत्व र महङ्गी बढ्नु सम्पदाको महत्व थाहा नपाउनुलगायतका विविध कारणले नष्ट हुँदै गएका, पुरिँदै हराएका सम्पदाको पुनः खोजी गरी पुनःर्निमाण र मर्मत सम्भार गर्न यस नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको छ ।
त्यसमध्ये पुननिर्माण, मर्मतसम्भार गर्नुपर्ने अवस्थाका २३ वटा मठ–मन्दिर, ३७ वटा पाटीलाई परम्परागत विधि ईंट्टा र भिंmगटीको छाना काठका खम्बालगायतका निर्माण सामग्रीको प्रयोग गरी संरक्षण गरिएको छ । पुनःनिर्माण गर्नुपर्ने अवस्थाका १५ वटा पोखरीमध्ये पाँचवटा बनिसकेको र बाँकीमा काम चलिरहेको छ ।
२० वटा इनार बनेको, नयाँ निर्माण थालेको १३ वटा पार्कमध्ये पाँचवटा बनिसेकेका छन् भने बाँकी ८ वटा पार्कको निर्माणको काम अर्को वर्ष सक्ने लक्ष्यसहित चलिरहेको नगरपालिकाले जनाएको छ ।
लामो समयदेखि खण्डहरमा परिणत भएका वडा–४ स्थित निगूपुखू –(दुई पोखरी), विष्णु कुण्ड, (सुङ्गा पुखू) को पुननिर्माणले स्थानियमा खुसीको लहर छाएको युवा अनिश श्रेष्ठको भनाइ छ ।
त्यसैगरी, स्थानियले फोहर फाल्ने ठाउँको रूपमा प्रयोग भइरहेको वडा–४ कै सार्वजनिक जग्गामा शङ्खघर पार्क र वडा–८ स्थित बोडेमा कुमारी द्यो स्क्वायर र बोडेकै स्थानीयको चिहान भएको क्षेत्रलाई समेत भैरव पार्कका रूपमा विकास गर्नुका साथै मलामी जाने तथा पार्क घुम्न आउनेका लागि तीन वटा ढुङ्गेधारा समेत नगरपालिकाका सहयोगबाट बनेको छ ।
मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार यस नगरपालिकामा गौरव गर्न लायक चीज नै सम्पदा हो, जुन परापूर्वकालमा पुर्खाहरूले सृजना गरेर जानुभएको छ । लोप हुँदै गएका यहि सम्पदाको जगेर्नाको माध्यमबाट मध्यपुर थिमिले पर्यटन भित्र्याउन सक्छन् ।
चार वर्षको अवधिमा सम्पदाहरूको पुननिर्माण र खाली जमिनलाई पार्कको रूपमा विकास– विस्तार गर्न करिब ७५ करोड रूपियाँ खर्च गरिएको छ ।
यस वर्षको नयाँ बजेटमा पनि ३५ करोड रूपियाँ पुननिर्माण तथा निर्माणको कामको लागि विनियोजन गरिएको छ । रासस