ओखरिया इन्टेक पर्यटकीय गन्तव्य बन्दै

बाँके, साउन २१ गते । बर्दियाको गेरुवा गाउँपालिका–१ मा रहेको ओखरिया इन्टेक अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । ओखरिया इन्टेक क्षेत्रको सुन्दरता, हरियाली र शान्त वातावरणका बारेमा प्रचारप्रसार भएपछि हिजोआज यस क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या पनि दिनानुदिन बढ्दै गएको छ ।

कोठियाघाटस्थित कर्णाली गेरुवा नदी पार गरेर करिब एक किलोमिटर टाढा पर्ने रामजाने चोकदेखि उत्तर करिब २२ किलोमिटरको दूरीमा ओखरिया इन्टेक क्षेत्र पर्छ । राजापुर बजार क्षेत्रबाट पनि यहाँ पुग्न सकिन्छ । बिदाको समय र चाडपर्वका बेला यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गर्छ । चाडबाडको बेला वनभोज खाने र रमाइलो गर्नेको भीड नै हुने गरेको स्थानीयवासी बताउँछन् । त्यहाँको हरियाली र सुन्दरतालाई आफ्नो क्यामेरामा कैद गर्न पर्यटक तँछाडमछाड नै गर्छन् ।

युवायुवती होस् वा जो कोही फोटो सेल्फी खिच्न व्यस्त हुन्छन् । इन्टेक क्षेत्रमा प्रायः चिसो हावा बहन्छ । हरियाली, शान्त वातावरणमा, चिसो हावा, खुला चौर यस क्षेत्रको मुख्य विशेषता हो । यहाँ राखिएको गैँडाको मूर्ति, रङ्गीन आराम बेञ्च, नहरको मुहान र कर्णाली नदीको दोभानले सबैको मन लोभ्याउने गर्छ । यहाँबाट कर्णाली चिसापानीको एक खम्बाको पुल पनि देखिन्छ ।

यो क्षेत्र कर्णाली नदी र गेरुवा नदीको दोभानमा पर्छ । इन्टेकको दाहिने तर्फबाट गेरुवा नदी बगेको छ भने बाँयातर्फबाट कर्णाली नदी बगेको छ । इन्टेकको दाहिने क्षेत्र निकुञ्ज पर्छ । दुवैतर्फ नदी र जङ्गल भएकाले यो क्षेत्र निकै शान्त र सुन्दर छ । जिल्लाको अन्य क्षेत्रको तुलनामा यहाँ अलि बढी चिसो महसुस हुन्छ । नदी बगेको कलकल आवाज, निकुञ्जका वन्यजन्तु र चराको आवाजले यहाँ घुम्न आउने पर्यटक आकर्षित हुने गर्छन् । ओखरिया इन्टेक बस्तीभन्दा केही टाढा रहेकाले यहाँको वातावरण निकै शान्त, सफा र सुन्दर रहेको छ ।

विगतमा यो क्षेत्रलाई कसैले खासै चासो देखाएका थिएनन् । पछिल्लो समय स्थानीय युवाले यसमा चासो देखाएपछि अहिले ओखरिया इन्टेक क्षेत्र पर्यटकीयस्थलका रूपमा परिचित बन्दै गएको छ । अहिले स्थानीय युवा गेरुवा पर्यापर्यटन विकास मञ्च गठन गरेर यसको प्रवद्र्धनमा जुटेका छन् । सुरुआतमा युवाले व्यक्तिगत लगानीमा पर्यटक बस्ने केही आराम बेञ्च राखेर यो क्षेत्रको प्रवद्र्धनको कामको गरेका थिए । गेरुवा पर्यापर्यटन विकास मञ्चका अध्यक्ष तिलकराम थारु भन्नुहुन्छ, “पहिले यसको प्रचारप्रसार र प्रवद्र्धनका लागि खासै चासो दिइएको थिएन । अहिले युवाले यसलाई पर्यटकीय गन्तव्य बनाउन पहल थालेपछि अहिले सबैको चासो बढेको छ ।” अहिले गेरुवा गाउँपालिकाले पनि यसको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारमा लगानी गरेको छ । गत आवमा गाउँपालिकाले यस क्षेत्रको प्रवद्र्धनका लागि रु चार लाख ५० हजार खर्च गरेको थियो ।

यस क्षेत्रमा घुम्न आउने पर्यटक बस्नका लागि अहिले इन्टेकको डिल र चौरमा ३२ वटा वातावरणमैत्री आरम बेञ्च राखिएको छ । इन्टेकको मुहान नजिकै दुईवटा गोल टेबुलसहितको आराम बेञ्च र एउटा गैँडाको मूर्ति राखिएको छ । पर्यटक आराम बेञ्चमा बसेर यहाँको सुन्दरताको मजा लिने गर्छन् । वनभोज खानका लागि छुट्टै स्थान बनाइएको छ । इन्टेकको नजिकै शहिद पार्क निर्माणाधीन अवस्थामा छ । पार्क नजिकै ‘ट्रि हाउस’ बनाइएको छ । ट्रि हाउसमा बसेर पर्यटकहरु वन तथा वन्यजन्तुको अवलोकन गर्ने गर्छन् । इन्टेक क्षेत्रको मजा लिनका लागि हिउँदको समयमा आन्तरिक पर्यटक बढी आउने गरेको वडा नं १ का वडाध्यक्ष दयाराम वैद्यले बताउनुभयो ।

इन्टेक क्षेत्रभन्दा करिब दुई किलोमिटर नजिकै जनकनगर सामुदायिक होमस्टे (घरबास) छ । यहाँ १० वटा हामेस्टे छन् । इन्टेक क्षेत्र घुम्न आउनेमध्ये अधिकाशं एक रात सामुदायिक होमस्टेमा बास बस्ने गरेको होमस्टे सञ्चालक भोगु थारुले बताउनुभयो । उत्तरतर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जोड्ने कर्णाली चिसापानी पुलभन्दा केही तल गएपछि दुई भागमा छुट्टिन्छ ।

एकातिर कर्णाली गेरुवा भएर बग्छ । अर्कोतिर कर्णाली सत्तीघाट भएर बग्छ । कर्णाली नदीको यही दोभान क्षेत्र अहिले पर्यटकीय गन्तव्य बन्दै गएको हो । कर्णाली नदीको पानी गेरुवा र राजापुर क्षेत्रमा सिँचाइका लागि लैजान बनाइएको नहरको मुहानअर्थात् इन्टेक यही क्षेत्रमा बनाइएको छ । बर्दियाको पर्यटकीय क्षेत्र भनेर चिनिएपछि बर्खामा यहाँ पर्यटक डल्फिन हेर्नसमेत आउने गर्छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter