मस्तिष्क मृत्यु भएकाको अङ्गबाट धेरैको ज्यान जाेगाउन सकिन्छ

सिर्जना खत्री, काठमाडौं, चैत ८ गते । नेपालमा ब्रेन डेथ ‘मस्तिष्क मृत्यु’ भएको मानिसको अङ्गबाट पुनर्जीवन पाउने पहिलो व्यक्ति हुन्, १९ वर्षीय मिलन श्रेष्ठ । सवारी दुर्घटनामा परी ब्रेन डेथ भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका दुबै मिर्गौला अन्य व्यक्तिमा प्रत्यारोपण गरिएको थियो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दिएको जानकारी अनुसार मिर्गौला प्रत्यारोपणका लागि पालो कुरिरहेका बिरामी मध्येबाट सुनसरीका ५१ वर्षीय गोविन्द तिमिल्सिना र लाजिम्पाट काठमाडौंका मिलन श्रेष्ठलाई सफल प्रत्यारोपण गरिएको थियो ।

यो नै नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएपछि अङ्गदान गरेको घटना हो । केन्द्रका अनुसार २०७४ वैशाख २८ गते नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गाैला अर्काे व्यक्तिमा प्रत्यारोपण भएको हो ।

मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गाैला अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिने भएपनि पर्याप्त जानकारीको अभावमा अङ्गदान गर्ने प्रचलन नेपालमा न्यून छ ।

काठमाडौंका राजु तुलाधर मिर्गाैलाले काम गर्न छोडेपछि डायलासिस गर्न थालेको २५ वर्ष भयो । उहाँको २०५६ सालमा मिर्गौला बिग्रिएको हो । मिर्गौला प्रत्यारोपणको लागि धेरै कोशिस गर्दा पनि अहिलेसम्म आफूलाई मिल्ने मिर्गौला पाउन नसकेको उहाँको दुखेसो छ ।

तुलाधरजस्तै सयौंको सङ्ख्यामा मिर्गौलाका बिरामीहरु मिर्गौला प्रत्यारोपणको लागि पालो कुरेर बसेका छन्, तर उनीहरुमध्ये धेरैले आफूलाई मिल्ने मिर्गौला नै पाउन सकेका छैनन् । स्वास्थ्य सेवा विभागको तथ्याङ्क अनुसार नेपालमा करिब पाँच हजार मिर्गौला रोगीले निःशुल्क नियमित डायलासिस गराइरहेका छन् ।

नेपालमा हरेक वर्ष तीन हजार हाराहारीमा मिर्गौलाका नयाँ बिरामी थपिने गरेको अनुमान गरिएको छ ।

यकिन तथ्याङ्क नभएपनि करिब ३० हजार मानिसमा मिर्गौलाको जटिल समस्या हुने गरेको विभागको दाबी छ ।

मिर्गौलाले काम गर्न छोडेपछि उपचारको दुईवटा मात्र विकल्प रहन्छन्, डायलासिस वा प्रत्यारोपण । तर प्रत्यारोपणका लागि आफूसँग मिल्ने मिर्गौला आवश्यक पर्छ ।

सरकारी तथ्याङ्क अनुसार बर्सेनि काठमाडौं उपत्यकामा मात्रै एक हजारभन्दा बढीको सडक दुर्घटनामा मृत्यु हुने गर्दछ । मृत्यु भएकामध्ये ८० प्रतिशतको ब्रेन डेथ हुने गरेको चिकित्सक बताउँछन् ।

ब्रेन डेथ भएकामध्ये आधाले मात्रै अङ्गदान गर्ने हो भने धेरै जना डायलासिसमा पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका किड्नी विभागीय प्रमुख डा. विजय मानसिंह कटवाल बताउनुहुन्छ ।

केन्द्रका अनुसार हालसम्म नेपालमा दुर्घटनामा परेर ब्रेन डेथ भएका तीन जनाको मात्रै अङ्गदान भएको छ । अहिलेसम्म छ जनामा मिर्गौला र एक जनामा कलेजो प्रत्यारोपण गरी अङ्गदानबाट सात जनाले पुनर्जीवन पाएका छन् ।

चिकित्सकका अनुसार दुर्घटनामा परेकाहरूको मस्तिष्क मृत्यु भएको समयमै पत्ता लगाउन सहज छैन । यदि पत्ता लागिहाल्यो भने पनि परिवारका सदस्यहरू अङ्गदान गर्न हत्तपत्त मान्दैनन् । नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्ग प्रत्यरोपणबारे जनचेतनाको कमिले सबैलाई सम्झाउन समस्या रहेको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कलपना श्रेष्ठ बताउनुहुन्छ ।

‘यो संवेदनशील र जटिल विषय पनि भएकाले सरकार, गैरसरकारी संस्था, नागरिक समाजले सकारात्मक भूमिका खेल्नुपर्छ,’ श्रेष्ठले भन्नुभयो ।

ब्रेन डेथ भनेको के हो ?

मस्तिष्कको ग्रहण गर्ने र प्रतिक्रिया दिने क्रियाकलापमा पुनः काममा आउन नसक्नेगरी अपरिवर्तनीय क्षति भएको अवस्थानै ब्रेन डेथ हो । चिकित्सकहरूले मस्तिष्क मृत्यु भएको अवस्थालाई चिकित्सा विज्ञानले पूर्ण मृत्यु मान्छ । किनभने मस्तिष्क मृत्यु भएको खण्डमा कुनै पनि उपचारबाट बिरामीलाई सामान्य अवस्थामा फर्काउन नसकिने चिकित्सक बताउछन् । तर, भेन्टिलेटरको सहायतामा शरीरका केही अङ्ग चलायमान राख्न सकिन्छ ।

चिकित्सकहरूका अनुसार टाउकोको गहिरो चोट, मस्तिष्क घात (स्ट्रोक), मस्तिष्क रक्तस्राव (ब्रेन हेमरेज), ब्रेन ट्युमरका कारण मस्तिष्क मृत्यु हुनसक्छ ।

मस्तिष्कको मृत्यु भइसकेपछि अन्य अङ्गले काम गर्न नछाड्दै तिनलाई अरूको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । यसरी जीवन मरणको दोसारमा परेका व्यक्तिले नयाँ जीवन पाउने चिकित्सक बताउनुहुन्छ ।

आठ जनाले नयाँ जीवन पाउछन्

मृत्युपछि मानिसको शरीर खरानी हुने माटोमा मिल्ने मृत्यु लगत्तै शरीरका केही अङ्ग अरुलाई दिइएको खण्डमा एउटा मृतकको शरीरबाट आठ जनाले नयाँ जीवन पाउन सक्ने केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउनुहुन्छ । डा. श्रेष्ठका अनुसार ब्रेन डेथ भएको केही समयसम्म पनि मिर्गौला, फोक्सो, कलेजो, प्यानक्रियाज, सानो तथा ठूलो आन्द्राले काम गरिरहन्छ ।

मस्तिष्कको मृत्यु भइसकेपछि अन्य अङ्गले काम गर्न नछाड्दै तिनलाई अरूको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । ब्रेन डेथपछि मुटु, आँखा, फोक्सो, प्याङक्रियाज, मिर्गौला, सानो आन्द्रा, कलेजो, छालालगायत अन्य अङ्ग दान गर्न सकिन्छ ।

अङ्गदान कसरी गर्न सकिन्छ ?

डा. कटवालका अनुसार अङ्गदान दुई प्रकारले गर्न सकिन्छ जीवित दाताले गर्ने अङ्गदान र मृतकले गर्ने अङ्गदान । उहाँले भन्नुभयो, ‘जीवित अवस्थामै कसैको ज्यान बचाउन एउटा मिर्गौला, कलेजोको केही खण्ड, फोक्सोको केही भागलगायत अन्य दान गर्न सक्छन् ।’

नेपालमा मिर्गौला, आँखाको नानी, कलेजो प्रत्यारोपण हुन्छ । सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपणको समन्वय एकाइ तोकेको छ ।

मानवअङ्ग प्रत्यारोपण नियमावलीको व्यवस्था

नेपालमा पहिलो पटक ८ अगस्ट २००८ मा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण भएको थियो । सुरुका दिनहरूमा साँघुरो नाताको दायरामा मात्रै रहने गरी प्रत्यारोपणका लागि अङ्ग लिन सकिने कानुनी व्यवस्था थियो ।

तर, २०७२ फागुनमा मानव अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ संशोधनसँगै नाता प्रमाणीकरणको दायरा फराकिलो मात्र भएन, दुई परिवारबीच अङ्ग साटासाट गर्ने र ब्रेन डेथ भएकाको अङ्गदान गर्ने बाटो खुल्यो ।

यो नियमावलीले अब मस्तिष्काघात भइ मृत्यु भएकाका आठ अङ्ग लिन र प्रत्यारोपण गर्न मिल्ने बाटो खुला गरेको छ । मस्तिष्क मृत्यु भएकाबाट दुई मिर्गौला, दुई फोक्सो, प्याङ्क्रियाज, सानो आन्द्रा र दुई आँखाका नानी अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ ।

अङ्गदान कसकसले गर्न पाउँछन्

नेपालमा मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५ अनुसार परिवारको सदस्य वा नजिकका नातेदारबाट मिर्गौला दान लिन वा दिन सकिने व्यवस्था छ । ऐनले परिवारको सदस्यको रूपमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासु, ससुरालाई मानिएको छ ।

नजिकका नातेदारले मात्र अङ्ग दिन पाउने प्रावधान अनुसार सौतेनी बाबु, सौतेनी आमा, ठूलोबाबु, ठूलीआमा, काका, काकी, भतिजा, भतिजी, सासु, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, अमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठानलाई नजिकैको नातेदार मानेको छ ।

नजिकका नातेदारले मात्र अङ्ग दान दिन पाउने प्रावधान भएकाले कानुन विपरीत मिर्गौला प्रत्यारोपण गर्नेलाई पाँच वर्ष कैद र पाँच लाख जरिवाना हुने प्रावधान छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter