• Wednesday, April 23, 2025

मिडवाइफको सहायताले प्रसूती गराइएका देशहरुमा मातृ मृत्युदर कम

सिर्जना खत्री / काठमाडौं, वैशाख २३ गते । मिडवाइफ (दक्ष प्रसूतिकर्मी)को सहायताले प्रसूती गराइएका देशहरुमा मातृ मृत्युदर कम भएको तथ्यांकले देखाएको छ । विश्वमा हरेक वर्ष करिब दुई लाख ९० हजार महिला र ३० लाख नवजात शिशुहरुको मृत्यु गर्भवती, प्रसव तथा सुत्केरी अवस्थामा आउने जटिलताका कारणले हुने गर्दछ ।

सन् २०१७ मा विभिन्न देशमा गरिएको अध्ययनमा प्रतिलाखमा जन्मिएकोमा मिडवाइफको सहायताले बच्चा जन्माउने देशहरुमा मातृ मृत्युदर ५ भन्दा कम देखाएको छ । तथ्यांकमा मिडवाइफहरुको सहायतले बच्चा जन्माउने देशहरुमा नर्वेमा २, फिनल्याडमा ३, आइसल्याण्डमा ४, डेनमार्कमा ४, स्वीडेनमा ४, जापान ५, नेदरल्याण्ड्समा ५, स्विट्जरल्याण्ड ५ जनाको मातृ मृत्युभएको पाइएको छ।

त्यस्तैगरी, दुवै चिकित्सक र मिडवाइफहरुको सहायतले गराइएको प्रसूतीमा अस्ट्रेलियामा ६, बेलायतमा ७, जर्मनीमा ७, फ्रान्समा ८ जनाको मातृ मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। त्यस्तै, चिकित्सको सहायताले प्रसूती गराइएका देशहरुमा न्युजिल्याण्डमा ९, क्यानाडामा १०, अमेरिकामा १९ जनाको मातृमृत्यु भएको तथ्यांकले देखाएको छ।

त्यसैगरी, मिडवाइफ लागू हुनुभन्दा पहिले १९१९ देखि २००० सम्मको तथ्यांकमा मिडवाइफको सहायतामा प्रसूती हुँदा मातृमृत्युदर कम भएको तथ्यांकमा उल्लेख छ। सोही समयमा डेनमार्क, नेदरल्याण्ड्स, स्वीडेन र नर्वेमा मिडवाइफहरुको सहायतले प्रसूती गराएकाले मातृत्युदर कम देखिएको छ ।

नेपालको अवस्था

नेपालमा सुरक्षित मातृत्वको आवाज उठेपछि सन् २००२ मा मिडवाइफको चर्चा चल्न थालेको हो । २०७३ सालबाट नेपालमा मिडवाइफ्ररी सम्बन्धी पढाइ सुरु भएको हो । नेपालमा मिडवाइफको सङ्ख्या औँलामा गन्न सकिन्छ । नेपालमा सुरक्षित मातृत्वको लागि सन् २०३० सम्म १० हजार ५९० मिडवाइफ्री व्यवसायीहरु आवश्यक पर्ने आंकलन गरिएको छ।

नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धि राष्ट्रिय रणनीति २०७७/७८ देखि २०८७/८८ अनुसार सुरक्षित मातृत्व सेवाको लागि सन् २०२५ सम्म चार हजार १८० र सन् २०३० भित्र छ हजार ४१० गरी जम्मा १० हजार ५९० मिडवाइफ्री व्यवसायी आवश्यक पर्ने आंकलन गरिएको हो । विगत ६ वर्षमा आकंलन गरिएअनुसार मिडवाइफ्री जनशक्ति उत्पादन गर्ने नेपाल सरकार असक्षम देखिएको छ।

नेपाल सरकारको दक्ष प्रसूतिकर्मी सम्बन्धि राष्ट्रिय नीति २०६३ को दीर्घकालीन रणनीतिअनुसार मिडवाइफ्री सेवा र नेतृत्व प्रदान गर्न सुरक्षित मातृत्वको लागि महत्वपूर्ण मानव संशाधनकाे रुपमा व्यवसायिक मिडवाइफको नयाँ जनशक्ति उत्पादन गर्ने लक्ष्यअनुसार हाल नेपालमा २८ जना मिडवाइफ्री व्यवसायीहरु उत्पादन भएका छन् ।

मिडवाइफ सम्बन्धी दरवन्दी

ती मध्ये २५ जना विभिन्न स्वास्थ्य संस्थाहरमा कार्यरत छन् । सरकारी अस्पतालमा मिडवाइफ सम्बन्धी दरवन्दी नै छैन । त्यसैगरी, हाल विभिन्न चार शिक्षण संस्थाहरुमा १४२ जना स्नातक तह मिडवाइफ्री शैक्षिक कार्यक्रममा अध्ययनरत छन् ।

नेपालमा प्रति एक लाख जीवित शिशुको जन्म हुँदा २३९ जना आमाको मृत्यु भएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणको पछिल्लो तथ्याङ्कले देखाएको छ । सरकारले सन् २०३० सम्म मातृ मृत्युदर ७० मा झार्ने दीगो विकासको लक्ष्य राखेको छ । तर मातृ मृत्युदर घट्नुको साटो झन् बढेको छ ।

विश्व स्वास्थ्य सङ्गठनकाअनुसार मिडवाइफहरुले ८५ प्रतिशत प्राकृतिक रुपमा बच्चा जन्माउन सघाउँछन् ।

मिडवाइफ्री सोसाइटी अफ नेपाल

मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष डा. लक्ष्मी तामाङकाअनुसार मिडवाइफ स्वस्थ प्रसूतिका लागि सक्षम जनशक्ति हुन् ।

मातृ तथा नवजात शिशुको अकाल मृत्युबाट बचाउन मिडवाइफको भूमिका महत्वपूर्ण हुने डा. तामाङ बताउनुहुन्छ । डा. तामाङ विकसित मुलुकहरुमा नवजात शिशुको स्याहारका लागि मिडवाइफ पहिलो रोजाइमा पर्ने भए पनि नेपालमा भने यसको महत्व अझै बुझाउन नसकिएको बताउनुहुन्छ ।

आधारभूत शिक्षा र दक्षता पूरा गरी मिडवाइफ अभ्यास गर्न योग्य स्वास्थ्यकर्मीलाई ‘मिडवाइफ’ भनिन्छ । डा. तामाङ भन्नुहुन्छ, “महिलाको गर्भमा शिशु भएदेखि जन्मिने बेलासम्मको रेखदेख गर्ने काम मिडवाइफको हो । स्वास्थ्य संस्थामा गर्भवतीलाई जाँच गर्ने, औषधि दिने, प्रसूति गराउने र सुत्केरी भइसकेपछि उनीहरुको स्याहार गर्ने मात्र नभई उनीहरुलाई शारीरिक र मानसिकरुपमा तयार बनाउनु पनि उनीहरुको मुख्य कामअन्तर्गत पर्दछन् ।”

उहाँका अनुसार, भौगोलिक विकटता भएको नेपालमा दक्ष प्रसूतिकर्मीेको भूमिका महत्वपूर्ण मानिन्छ तर, नेपालमा यस्तो जनशक्ति अत्यन्तै न्यून छ । नेपालमा मिडवाइफ सम्बन्धि नीतिनियम भए पनि कार्यान्वयनमा फितलो भएको उहाँको दाबी छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter