• Wednesday, April 23, 2025

गोरखापत्र प्रकाशनको १२२ वर्ष प्रवेश; गोरखापत्र अखबार मात्र होइन, गौरवशाली संस्था हो : सञ्चारमन्त्री कार्की

दिनेश लुइटेल / काठमाडौं, वैशाख २४ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र पत्रिका मात्र नभएर गौरवशाली संस्था भएको उल्लेख गर्नुभएको छ। गोरखापत्र प्रकाशन सुरु भएको १२२ र गोरखापत्र संस्थानको ६० औं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो।

मन्त्री कार्कीले भन्नुभयो, ‘‘गोरखापत्र अखबार मात्र नभएर एउटा गौरवशाली संस्था हो। इतिहासका धेरै कालखण्डमा गोरखापत्र हिमालजस्तो अटल भएर उभिएको छ’’, सञ्चारमन्त्री कार्कीले भन्नुभयो। देशमा हुकुमी शासन भएको अवस्थामा सुरु भएको गोरखापत्र नेपालको नियन्त्रित र खुला समाजको साक्षी भएको उल्लेख गर्नुभयो। पत्रिकाले राजनीतिक, सामाजिक र संस्कृतिका विभिन्न पाटालाई बोकेको उहाँको भनाइ छ।

मन्त्री कार्कीले सातौं राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भ औंल्याउँदै भन्नुभयो, ‘‘प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढताका साथ उभिन्छ, अभिव्यक्ति स्वतन्त्रतालाई दक्षिण एसियाकै उदाहरणीय रुपमा अगाडि बढाउँछ।’’

‘‘गोरखापत्र सरकारको मात्र होइन, नेपाली जनताको पत्रिकाको रुपमा कसरी विकास गर्न सकिन्छ भन्नेतर्फ लाग्नुपर्छ’’, उहाँले भन्नुभयो। गोरखापत्रलाई आजको डिजिटल साझा मञ्चलाई प्रभावकारी बनाएर पाठकसम्म पु¥याउन उहाँले आग्रह गर्नुभयो। उहाँले स्मार्ट यात्रा पूरा गर्न लेखिएका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सूचना प्रविधिको युग अनुसार अगाडि बढ्न गोरखापत्रको व्यवस्थापन र पत्रकारको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। उहाँले समय अनुसार कर्मचारीको क्षमता वृद्धि गर्न व्यवस्थापनलाई अनुरोध पनि गर्नुभएको छ।

‘‘यो सूचना र प्रविधिको युग हो। यसप्रति सबैलाई जागरुक बनाउन गोरखापत्र व्यवस्थापन र पत्रकारको भूमिका महत्वपूर्ण छ। समय अनुसार कर्मचारीको क्षमता वृद्धिमा ध्यान दिन व्यवस्थापनलाई अनुरोध गर्दछु’’, सचिव अर्यालले भन्नुभयो।

सामाजिक अभियान्ता एवम् समाजसेवी अनुराधा कोइरालाले गोरखापत्रलाई जनताको आवाज बनाउँदा राम्रो हुने उल्लेख गर्नुभयो। ‘‘गोरखापत्र भन्ने बित्तिकै सरकारी भन्ने बुझिन्छ, सरकारको मात्र नभएर जनताको आवाज आयो भन्ने बनाउन सक्यो भने राम्रो हुन्छ’’, कोइरालाले भन्नुभयो।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले गोरखापत्रलाई प्रभावकारीरुपमा अगाडि बढ्न शुभकामना दिनुभयो। गोरखापत्रलाई नेपाली पत्रकारिताको एउटा नमूना बनाएर प्रभावकारिताको केन्द्र बनाउनुपर्ने उहाँको भनाइ छ। ‘‘संस्था प्रखर र प्रभावकारी ढङ्गले बढोस् भन्ने मेरो शुभकामना छ। नेपाली पत्रकारितामा गोरखापत्र एउटा मापक नमूना बन्नसक्नुपर्छ’’, अध्यक्ष पोखरेलले भन्नुभयो।

उहाँले गोरखापत्रले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेर गोरखापत्रले अरुलाई पाठ सिकाउनुपर्नेमा जोड दिनुभयो। ‘‘सरकारको मुखपत्र मात्र होइन, करदाताको आवाज हो भन्ने पद्धतिलाई गोरखापत्रले स्थापित गर्नुपर्छ’’, पोखरेलले भन्नुभयो।

गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा गोरखापत्र १२२ वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले पठाउनुभएको शुभकामना सन्देश गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य चेतन धमलाले पढेर सुनाउनुभएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter