रोजगारीका लागि आउने विदेशी बढे

सीता शर्मा / काठमाडौँ, वैशाख २५ गते । कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । आ.व. २०७७/७८ को सोही अवधिमा ६७६ जनाले श्रम स्वीकृति लिएका थिए । सो विभागका अनुसार यो अवधिमा श्रम स्वीकृति नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ८१५ जनाले श्रम नवीकरण गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९७७ जनाले नवीकरण गरेका थिए ।

अघिल्ला दुुई आर्थिक वर्षमा भने रोजगारीका लागि नेपाल आउने विदेशी बढेका थिए । आ.व. २०७६/७७ मा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या दुुई हजार ५० रहेकोमा आ.व. २०७७/७८ मा दुुई हजार ३९० रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले कोरोना महामारी सामान्य भएसँगै नेपालमा सञ्चालन भइरहेका ठूला परियोजनामा नयाँ श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या थोरैले बढेको जानकारी दिनुुभयो । यो वर्ष श्रम स्वीकृति नवीकरण गराउने विदेशी श्रमिकको सङ्ख्या गत वर्षभन्दा घटेको उहाँले बताउनुभयो ।

महानिर्देशक आचार्यले कोभिड–१९ चीनबाट सुरु भएको र नेपाल सञ्चालनमा रहेका परियोजनामा चिनियाँ नागरिक धेरै कार्यरत रहेका कारण पनि नेपालमा काम गर्न अनुमति लिने विदेशीको सङ्ख्या बढेको बताउनुुभयो । पाँचदेखि सात वर्षसम्म सञ्चालन हुने परियोजनामा काम गर्ने प्राविधिकले श्रम स्वीकृति नवीकरण गराउने गरेको उहाँले जानकारी दिनुभयो । श्रम स्वीकृति लिएर नेपालमा काम गर्नेमध्ये ९० प्रतिशत उच्च सीपयुक्त प्राविधिक रहेको विभागका महानिर्देशक आचार्यले जानकारी दिनुुभयो ।

विश्व स्वास्थ्य सङ्गठन, सेभ द चिल्ड्रेनलगायतका विकास साझेदारले पनि थोरै सङ्ख्यामा विज्ञका लागि श्रम स्वीकृति लिने गरेका छन् । श्रम विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँँ छन् । विभागका अनुसार आ.व. २०६९/७० देखि हालसम्म २० हजार ४५० श्रम स्वीकृति तथा श्रम नवीकरण गरेका छन् । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानमा कार्यरत कुल जनशक्तिको पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ ।

नेपालमा कार्यालय सञ्चालन गरेका विदेशी विमान सेवा कम्पनी, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । रसुवागढी, त्रिशूली, मध्यभोटेकोसी, काबेली, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक श्रमिकविदेशी रहेका छन् । सो विभागका निर्देशक मणिनाथ गोपले कोभिड सङ्कटका बेला नयाँ श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या केही कमी आए पनि नवीकरण गर्नेको सङ्ख्या बढेको बताउनुुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter