जनस्वास्थ्य विदकाे सुझाव – मतदान गर्न जाँदा स्वास्थ्य मापदण्ड पालना गरौँ

सिर्जना खत्री / काठमाडौं, वैशाख २८ गते। शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदैछ। भोट हाल्न उपत्यकासहित देशका विभिन्न सहरबाट गाउँघर फर्किनेको संख्या बढ्दै गएको छ।

रोजगारीको लागि विभिन्न देशमा पुगेका र विभिन्न सहरमा बसोबास गर्दै आएका मतदाता घर फर्किदा गाउँघरमा भीडभाड बढ्न थालेको छ। छिमेकी राष्ट्र भारतमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमण बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी विश्वबाट हटेको घोषणा गरिसकेको छैन। चुनावका बेला हुने भीडभाडले फेरि कोरोना संक्रमण बढाउने चिन्ता बढेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा औसत कोरोना भाइरसको संक्रमणदर ०.६ प्रतिशतमा झरेको छ। पछिल्लो केही दिनदेखि दैनिक ३० जनाभन्दा कम कोरोना भाइरसबाट संक्रमित भएको मन्त्रालयको तथ्यांकले देखाएको छ।

कोरोना संक्रमण दर कम भएसँगै आम मानिसले जनस्वास्थ्यका मापदण्ड अपनाउन छाड्नुका साथै भीडभाड पनि बढ्दै गएको छ। नेपालमा संक्रमण कम भए पनि संक्रमण दर नघट्दा जोखिम कम नभएको मन्त्रालयले जनाएको छ। जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड पालन गर्न भुल्न नहुने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको भनाइ छ।

नेपालमा संक्रिय संक्रमितको संख्या दुई सय भन्दा तल झरेको छ। मन्त्रालयका अनुसार २७ जिल्लामा संक्रमितको संख्या शून्य छ। त्यसैगरी, दुई सय भन्दा कम संक्रमित रहेका जिल्लाको संख्या ५० छ। संक्रमितको संख्या घटे पनि जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउन सहप्रवक्ता अधिकारीले आग्रह गर्नुभयो।

भारतमा संक्रमणदर विस्तारै बढ्दै गएको र नेपालमा स्थानीय तहको चुनावको प्रचार प्रसारले भीडभाड बढ्दा संक्रमण बढ्ने भन्दै सहप्रवक्ता अधिकारीले स्वास्थ्य मापदण्डमा जोड दिनुभएको छ। ‘‘नेपालमा संक्रमणदर लामो समयदेखि स्थिर छ। तर, छिमेकी देश भारतमा संक्रमणदर विस्तारै बढ्दै गएको छ। स्थानीय निर्वाचनले भीडभाड बढेकोले संक्रमण फैलनसक्ने जोखिम उच्च छ।”

विश्वका विभिन्न देशमा कोरोनाका नयाँनयाँ भेरियन्ट देखिनेक्रम जारी रहेकाले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको जनस्वास्थ्य विज्ञको भनाइ छ। चुनावमा भोटहाल्न जाँदा भीडभाड नगरी जनस्वास्थ्यका मापदण्ड पालन गरेर मात्र सहभागी हुन जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीको सुझाव छ।

डा. मरासिनीले भन्नुभयो, “नेपालमा संक्रमण फैलिए पनि धेरैले खोप लगाइसकेकोले त्यति जटिल अवस्था नआउन सक्छ। तर, खोप नलगाएका र संक्रमित भएका व्यक्ति चुनावी अभियान र मतदानमा सहभागी भएमा उनीहरुबाट कोरोना संक्रमण फैलने जोखिम हुन्छ।”

कस्तो छ निर्वाचन आयोगको तयारी ?

निर्वाचन आयोगले प्रत्येक निर्वाचन केन्द्रमा मास्क र सेनिटाइजरका साथै साबुनपानीको व्यवस्था गर्न निर्देशन दिएको छ। स्वास्थ्य मादपण्ड अपनाउन आवश्यक साम्रगी केन्द्रबाट पठाउने तयारी गरेको आयोगले जनाएको छ।

मतदातालाई बढी भीडभाड नहोस् भनेर दुई वटा लाइनमा दूरी कायम गराउने र फराकिलो ठाउँमा मतदान केन्द्र बनाउने तयारी गरेको पनि निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो।

अर्यालका अनुसार मतादान केन्द्रको हकमा निश्चित व्यक्तिलाई मात्र पास दिने व्यवस्था गर्न निर्देशन दिएको छ। अयोगले दलले आयोजन गर्ने आमसभा, बैठक, र्याली, कोणसभामा स्वास्थ्य मापदण्ड पालन गर्न गराउन आचारसंहिताकमा स्पष्ट रुपमा उल्लेख छ।

कतिले लगाए खोप ?

सरकारले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म चार करोड २४ लाख १० हजार ८२० मात्रा खोप लगाइसकेको छ। जसमध्ये एक करोड ८९ लाख ७० हजार ९८५ जनाले एक मात्रा र एक करोड ९७ लाख ३५ हजार १५३ जनाले पूर्णमात्रा र ३६ लाख चार हजार ६८२ जनाले अतिरिक्त मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कुल जनसंख्याको ७६.५ प्रतिशतले एकमात्रा र ६७.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्। त्यस्तै, १८ वर्षमाथिका ७९ प्रतिशतले पहिलो मात्रा र ८६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्। त्यसैगरी, मन्त्रालयको तथ्यांक अनुसार १२ वर्षमाथिका ९५.८ प्रतिशतले एक मात्रा र ८४.६ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter