• Tuesday, April 22, 2025

भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल भ्रमण आउने तय

नारद गौतम / काठमाडौं, वैशाख २९ गते। प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ २ गतेदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार सार्वजनिक गरेको भ्रमण कार्यतालिकामा सो कुरा उल्लेख छ।

प्रधानमन्त्री मोदीे दिल्लीबाट सिधै नेपालको लुम्बिनीमा आउनुहुनेछ। बिहीबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदी औपचारिक भ्रमणका लागि सिधै लुम्बिनी आउनुहुने भ्रमण तालिका तय भएको जानकारी गराएको हो। प्रधानमन्त्री मोदी लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्तीको विशेष समारोहमा सरिक हुने कार्यक्रम छ।

जेठ २ गते प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाआजा गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदाको केन्द्र निर्माणको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी छ। लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने भ्रमण तालिकामा उल्लेख छ।

यसैगरी, प्रधानमन्त्री देउवाले समकक्षी मोदी र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ।

भारतका प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सदियौंदेखिको सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास परराष्ट्र मन्त्रालयले गरेको छ।

प्रधानमन्त्री देउवा २०७९ चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जानुभएको थियो। भ्रमणमा उहाँले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो।

लुम्बिनीमा रहँदा भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री डा. नारायण खड्काले भेट गर्नुहुने छ। प्रधानमन्त्री मोदीको नेपाल भ्रमण तय भएसँगै दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गरिएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter