• Tuesday, April 22, 2025

निर्धक्क मताधिकारको प्रयोग गर्न राष्ट्रपतिको आह्वान; मतदान कार्यलाई सफल पार्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौं, वैशाख २९ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताउनुभएको छ। साथै उहाँले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान पनि गर्नुभएको छ।

वैशाख ३० गते शुक्रबार सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन सम्बन्धमा राष्ट्रपतिले बिहीबार एक भिडियो सन्देशमार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको बताउनुभयो।

जनताले निर्वाचित गरेका जनप्रतिनिधिबाट शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ। आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्ने भएकाले राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने राष्ट्रपतिले आफ्नो सन्देशमा भन्नुभएको छ।

उहाँले निर्वाचन समाज र राष्ट्रको विकासका मुद्दालाई जनताको घरदैलोमा पुर्‍याउने विशेष अवसरको रुपमा ग्रहण गर्नुपर्ने बताउनुभएको छ।

मतदान कार्यलाई सफल पार्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय निर्वाचनमा मतदान कार्यलाई सफल पार्न सहयोगको लागि अनुरोध गर्नुभएको छ। बिहीबार पत्रकार सम्मेलनमार्फत् उहाँले स्वच्छ, स्वतन्त्र र विश्सनीय र मितव्यायी वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी सहयोगका लागि सम्बद्ध सबैमा आग्रह गर्नुभयो।

“प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो”, उहाँले भन्नुभयो, “कानुन बमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचन आयोगले प्रदान गरेको छ।” उहाँले विचार, निष्ठा र सिद्धान्तबाट निर्देशित भएर मतदान गर्न तर, कुनै पनि पद, पैसा पहुँच, प्रलोभन वा आश्वासनमा नपर्न पनि उल्लेख गर्नुभयो।

“आफ्नो विवेकको सही तरिकाले सही ठाउँमा प्रयोग गर्न सबै मतदातामा आह्वान गर्दछु। सबै तयारी पूरा भइसकेका छन्, शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ”, उहाँले बताउनुभयो।

मतदान कार्य सम्पन्न हुनासाथ सुरक्षित तवरबाट मतपेटिकाको आवश्यक ढुवानीको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो। सबै मतपेटिका संकलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ हुनेछ।

यसैगरी, कुनै पनि मतदाता मतदानको अधिकारबाट बञ्चित नहोस् भनेर मतदाता नामावली रहेकाले परिचय-पत्र, नागरिकताको प्रमाण-पत्र, राष्ट्रिय परिचय-पत्र, राहदानी, जग्गा धनी प्रमाण पूर्जा लगायतका कुनै एक प्रमाणका आधारमा मतदान गर्ने आवश्यक प्रबन्ध मिलाइएको उहाँ बताउनुहुन्छ।

“कुनै प्रश्न उठ्न नसक्ने गरी वातावरण तयार गर्न राजनीतिक दल, उम्मेदवार तथा सम्बद्ध सरोकारवालाको सहयोग हुने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो, “आफूलाई मन परेको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाइ सही तरिकाले निर्धकक मतदान गर्न हुन हार्दिक अनुरोध गर्दछु।”

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter