उचित मूल्य तय भएमात्रै भारतबाट मल ल्याइने

विष्णु पाण्डेय / काठमाडौं, साउन १७ गते । भारत सरकारसँग सरकारी स्तर (जीटूजी) सम्झौता भए पनि उचित मूल्य तय भएमात्रै नेपालले रासायनिक मल खरिद गर्ने भएको छ । उचित मूल्य तय नहुँदा कहिलेबाट रासायनिक मल ल्याउने भन्ने विषय अन्योलमै रहेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले सो जानकारी दिनुभयो । प्रवक्ता सञ्जेलका अनुसार भारतीय कम्पनीले यसै साता भित्र मलका लागि लागत मूल्य पठाउने र उक्त मूल्यमा यदि नेपालले खरिद गर्न सक्ने भए मल नेपाल आउने छ ।

उहाँले भन्नुभयो, ‘‘यदि भारतीय कम्पनीले तोकेको मूल्यमा नेपालले मल खरिद गर्न सक्ने अवस्था रह्यो भने मात्र नेपालमा मल आयात हुन्छ । नत्र भने यो सम्झौताको यहीँ अन्त्य हुन्छ ।’’

विसं. २०७९ साउन १ गते नेपालको साल्ट ट्रेडिङ कर्पोरेसन र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीबीच रासायनिक मल खरिदका लागि औपचारिक सम्झौतामा हस्ताक्षर भएको थियो । सो सम्झौता पाँच वर्षका लागि भएको उहाँले जानकारी दिनुभयो ।

सम्झौताअनुसार पहिलो पटक एक लाख ६० हजार मेट्रिक टन मल आगामी मङ्सिरसम्म नेपाल आउने छ । त्यस्तै, दोस्रो वर्ष (यो आर्थिक वर्ष) ६० हजार डिएपी , एक लाख १० हजार युरिया, तेस्रो वर्ष एक लाख १५ हजार युरिया र ८० हजार मेट्रिक टन डिएपी मल ल्याइने छ ।

त्यस्तै, चौथो वर्ष एक लाख २० हजार युरिया र ९० हजार मेट्रिक टन डिएपी ल्याइने छ । पाँचौ वर्ष एक लाख २० हजार मेट्रिक टन युरिया, ९० हजार डिएपी मल ल्याइने छ ।

पहिलो वर्षको बाँकी एक लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डिएपी मल ल्याइने छ । तर, मलको मूल्य चित्तबुझ्दो भए मात्र यो परिणाममा मल आउने प्रवक्ता सञ्जेलको तर्क छ ।

प्रवक्ता सञ्जेलका अनुसार अहिले नै कति मात्रामा मल आउँछ र कहिलेसम्म नेपालमा यो प्रक्रियाबाट मल आइपुग्छ भन्ने टुङ्गो लागेको छैन । प्रक्रियामा सहमति भए धान खेतीको समस्या समाधान नभए पनि आलु र गहुँ खेतीको लागि मल ल्याइने छ ।

‘‘भारतसँगको मल खरिदको लागि नेपाल र भारतको दुई कम्पनीबीच सम्झौता भएको छ । अब नेपालमा भारतबाट जीटूजी प्रक्रियाबाट मल ल्याउनको लागि बाटो खुलेको छ,’’ प्रवक्ता सञ्जेलले भन्नुभयो, ‘‘तर, कहिले नेपालमा आइपुग्छ र कति परिमाणको मल आइपुग्छ यकिन छैन ।’’

यसअघि सरकारले फास्ट ट्याकबाट डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याउने भने पनि मूल्य नमिल्दा ल्याउन सिकिएको थिएन् ।

कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा रहेको मूल्य नबढाइकन नेपाललाई सोही मूल्यमा मल दिन भारतीय कम्पनीलाई आग्रह गरिएको उहाँको भनाइ छ ।

‘‘अन्तर्राष्ट्रिय बजारमा रहेको रासायनिक मलको मूल्यका आधारमा नेपाललाई उपलब्ध गराउन आग्रह गरेका छौँ,’’ उहाँले भन्नुभयो ।

पहिले पैसा तिरेपछि मात्र भारतले उक्त परिणाम अनुसारको मल दिने छ ।

यो प्रक्रिया सबै मिलेपछि भारतले नै नेपालका भन्सार सीमानाका वीरगञ्ज, भैरहवा र विराटनगरसम्म मल ल्याइदिने छ । तर, यसको लागत मूल्य भने नेपालले नै तिर्नुपर्ने हुन्छ ।

‘‘भारतसँगको मूल्य निर्धारणपछि नेपालमा मल ल्याउने तय भए भन्सार नाकासम्म ल्याउने जिम्मा भारतीय कम्पनीलाई नै दिने छौँ तर, लागत भने नेपालले नै व्यहोर्ने छ,’’ प्रवक्ता सञ्जेलले भन्नुभयो ।

भारतीय बाटोमा मल ल्याउन नेपाली कम्पनीलाई गाह्रो हुने भएकाले यसो गरिएको उहाँको भनाइ छ । भारतीय कम्पनीले सीमा नाकासम्म मल ल्याउदा मलको बोरा पनि नेपालले तोके बमोजिम नै हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter