सांसदहरुको पदावधि मंसिर २१ सम्म : प्रमुख आयुक्त थपलिया

लक्की चौधरी / काठमाडौं, साउन १९ गते । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुको पदावधि आगामी मंसिर २१ गतेसम्म कायम रहनेगरी सरकारलाई लेखी पठाएको जानकारी गराउनुभएको छ ।

मन्त्रिपरिषद बैठकले निर्वाचन मंसिर ४ गते आइतबारका लागि गर्ने निर्णय गरेपछि आयोगमा विहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले सो जानकारी गराउनुभएको हो । उम्मेदवारी दर्ता गरेपछि सो पद स्वतः सकिने भए पनि कानुनमा व्याख्या गरेर त्यसलाई सल्टाउनुपर्ने उहाँको भनाइ छ । आयोगले सरकारलाई २१ गतेसम्मको समयावधि लेखेर पठाएको उहाँले जानकारी गराउनुभयो ।

आयोगको परामर्शमै सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचन तय गरेको उहाँले स्पष्ट पार्नुभयो । निर्वाचन सफल बनाउन आयोगले आन्तरिक तयारी गरिरहेको र थप काम तत्कालै शुरु गर्ने उहाँले बताउनुभयो ।

आयोगलाई निर्वाचन गराउन सामान्यतः १२० दिन समय लाग्ने भए पनि सरकारले घोषणा गरेको मितिले १०७ दिनको समयावधि आयोगलाई उपलब्ध छ । निर्वाचनको आन्तरिक तयारीमा आयोग निरन्तर लागिरहेकाले सो समय आयोगलाई पर्याप्त रहेको उहाँको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “सरकारले तय गरेको अवधिमा निर्वाचन सफल पार्न आयोग अर्जुन दृष्टि लगाएर काम गर्नेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष तरिकाले सम्पन्न गर्ने सबै तयारीमा आयोग लाग्छ ।”

आयोगको तयारीका विषयमा सूचनाहरु पत्रकारसमक्ष सहजरुपले पु¥याउनेगरी आयोगले व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो । आधुनिक प्रविधिको प्रयोग गरी आयोगले सूचना प्रवाह गर्ने उहाँको भनाइ छ ।

सुरक्षाको भरपर्दो व्यवस्था

एक जिज्ञासामा प्रमुख आयुक्त थपलियाले निर्वाचनसम्बन्धी कानुनले कर्मचारीलाई समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरेको भए पनि अन्य अधिकारका विषयमा आयोगले परामर्श गरी टुङ्गो लगाउने बताउनुभयो ।

आउने निर्वाचनमा छुट्टाछुट्टै मतपत्र र छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिने प्रमुख आयुक्त थपलियाले बताउनुभयो । सवारी साधन लगायत आवश्यक निर्वाचन सामग्री सहयोगका लागि सरकारमार्फत अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने पनि उहाँले जनाउ दिनुभयो । आयोगले सिधै सहयोग लिंदैन, परराष्ट्र मन्त्रालय मार्फत विदेशी सहयोग लिन सक्छ उहाँले थप्नुभयो ।

मतदान स्थलहरु छिट्टै पुनरावलोकनको काम पनि शुरु हुनेछ । निर्वाचनमा सुरक्षाको भरपर्दो सुरक्षाको व्यवस्थाका लागि सरकारसँग आग्रह गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । सुरक्षाका विषयमा अझै योजना बनाउन बाँकी रहेकाले भरपर्दो सुरक्षा योजना बनाएर आयोग अघि बढ्ने पष्ट पार्नुभयो ।

सरकारको निर्णयको स्वागत

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारको निर्णयलाई आयोगले स्वागत गरेको बताउनुभयो । आवधिक निर्वाचनका लागि आयोग निरन्तर आन्तरिक तयारी गरिरहेकाले तोकिएको समयावधिमा निर्वाचन सफल पार्न आयोग तयार रहेको उहाँले जानकारी दिनुभयो ।

मतदाता नामावली संकलन कार्य साउन २० गते शुक्रबारदेखि स्थगित हुने उहाँले जानकारी दिनुभयो । मतदान स्थल र मतदान केन्द्रको पुनरावलोकनको व्यवस्था मिलाइने छ । प्रतितिनिधिसभा र प्रदेश सभा निर्वाचन ऐन बमोजिम आवश्यक काम गरिने उहाँले जानकारी दिनुभयो ।

निर्वाचनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थाका लागि आयोगले यथाशक्य सरकारलाई योजना पठाइने तयारी गरेको छ । निर्वाचन प्रयोजनका लागि चाहिने अन्य सामग्री तत्काल बनाई कार्यान्वयनमा लगिने उहाँले बताउनुभयो । निर्वाचनका लागि सबै पक्षबाट आयोगले सहयोगको अपेक्षा राखेको पनि उहाँको भनाइ छ ।

पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त थपलियासहित आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर ज.ब.रा., सचिव गोकर्णमणि दुवाडीको पनि सहभागिता थियो ।

कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई मतदानकाे व्यवस्था गर्ने आयोगको तयारी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रममा रहेको वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने व्यवस्था गरेको छ ।

नेपाल सरकारले निर्वावाचन मिति घोषणा गरेसँगै निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रममा रहेको वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी भएको बताउनुभयो ।

आयुक्त थपलियाले अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने आश्वासन दिनुभएको छ । तर, उनीहरुले समानुपातिक निर्वाचन पद्धतितर्फ मात्र मतदान गर्न पाउनेछन् । यसअघि सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न आदेश दिएको थियो ।

असार ३० गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी आदिको अस्थायी मतदान नामावलीकाे आधारमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश श्रेष्ठले निर्वाचन आयोगलाई मतदान नामावली ऐन २०७३ को दफा ३० को १ र २ को अस्थायी मतदाता नामावलीको व्यवस्था कार्यान्वयन गर्न आदेश दिएकाे हाे । मतदाता नामावली ऐनको दफा ३० को १ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीका लागि आयोगले छुट्टै अस्थायी मतदाता नामावली तयार गराउन सक्ने व्यवस्था छ ।

अस्थायी मतदाता नामावलीमा नेपाल सरकार, प्रदेश सरकार स्थानीय तहमा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र आयोगले तोकेका अन्य व्यक्ति रहने उल्लेख छ ।

यसअघि गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रम र कैदीबन्दीले मतदाना गर्न पाएका थिएनन्। तर, मङ्सिर ४ गते सर्वोच्चको आदेश अनुसार अस्थायी मतदातालाई समानुपातिक पद्धतितर्फ मतदानको व्यवस्था गर्ने तयारी भएको आयुक्त थपालियाले बताउनुभयो ।  

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter